NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सिन्धुलीमा संस्थापन र शेखरका उम्मेदवारलाई पराजित गर्दै सभापति जित्ने को हुन् पोखरेल ?

काठमाडौं । कांग्रेसमा देशैभर कि संस्थापन कि शेखर कोइराला पक्षका जिल्ला सभापति जित्दै आएकोमा सिन्धुली कांग्रेसमा भने फरक देखिएको छ । संस्थापनबाट सभापतिका उम्मेवदार बनेका नेता पहिलो चरणबाटै बाहिरिए ।

पहिलो चरणमा सभापतिमा पाँच नेता भिडेकोमा संस्थापनका उम्मेदवार प्रेमचन्द दाहालले ३६१ मत मात्रै ल्याए । जबकी डा. शेखर कोइराला पक्षबाट उठेका उज्जवलप्रसाद बरालले ४२७ र स्वतन्त्रबाट उम्मेदवारी दिएक उपेन्द्र पोखरेलले ४८३ मत ल्याए ।

विधान अनुसार पहिलो चरणमा सभापतिमा जित्न ५१ प्रतिशत मत ल्याउनैपर्छ । नभए दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः प्रतिस्पर्धामा हुन्छ । यसै प्रतिस्पर्धामा स्वतन्त्रका पोखरेलले शेखर पक्षका उम्मेदवार बराललाई पराजित गर्दै सभापति जितेका हुन् ।
पहिलो चरणमा भन्दा स्वतन्त्र उम्देवारी दिएका पोखरेल ४०२ थप मत ल्याएर विजयी भए । दोस्रोपटक ८८५ मत ल्याएर पोखरेल जित्दा शेखर पक्षका बरालले ५० मत मात्रै बढी ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिए पनि यसरी दोस्रो चरणमा संस्थापन देउवा पक्षको लगभग सबै भोट पोखरेलले पाएर जितेको देखिन्छ । केन्द्रदेखि जिल्लासम्मै संस्थापनको प्रतिस्पर्धी शेखर कोइराला पक्ष थियो । तर सिन्धुलीमा संस्थापनको उम्मेवदार पहिलो चरणमा तेस्रो भएपछि संस्थापनले दोस्रो चरणमा शेखरका नभई स्वतन्त्रका उम्मेदवारलाई भोट हालेका हुन् ।

कांग्रेसमा लामो समयदेखि सक्रिय रहेका पोखरेल यस पूर्व संस्थापनमा नै थिए । शेखर र सिटौला पक्षकै नेताका रुपमा उनी चिनिन्थे । तर पार्टीमा कुनै जिम्मेवारी र भूमिका नपाएका उनी जिल्ला सदस्य तहमै सीमित थिए ।

उनी जिल्लामा नेविसंघको जिल्ला सभापति, तरुणको दलको जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । कांग्रेसको सिन्धुली जिल्ला सदस्यसम्म भएका थिए । पोखरेल २०५१ सालमै पार्टीको जिल्ला समितिको पहिलो पार्टी प्रवक्ता भएका थिए ।

२८ वर्षदेखि जिल्लाको राजनीतिमा सक्रिय पोखरेलले जितेपछि कार्यकर्ता र नेताबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् । कार्यकर्ताको दुःखमा आफूले काम गरेकोले अहिले ठूलो गुट र उपगुटमा नलागेर पनि आफूले जितेको उनको भनाई छ । आफ्नो जित सबैको जित भएको भन्दै जितेपछि उनले सबैलाई मिलाएर अघि बढ्ने पनि बताए ।