NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रचण्ड–नारायणकाजी लफडा : यी हुन् श्रेष्ठलाई साथ दिन तयार नेता

काठमाडौं । पार्टीभित्र असन्तुष्टिका बीच सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसी बहुमतबाट पारित भएपछि माओवादीमा रडाको सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका सहयोगी र विश्वासपात्र नेता नारायणकाजी श्रेष्ठ नराम्रोसँग भड्किएका छन् ।

यी दुईबीचको झगडाले नयाँ पार्टी गठनको तयारीसम्म पुगेपछि प्रचण्ड दबाबमा आएका छन् । मुख्य गरी एमसिसीमाथि १२ बुँदे व्याख्यात्मक घोषणा गरेर पारित गरेपछि पनि श्रेष्ठले सामाजिक संजालमा लेख्दै असन्तुष्टि व्यक्त गरेका थिए । एमसिसी पास गर्नु महाधिवेशनको नीति नभएको भन्दै श्रेष्ठ पक्षले यो विषयलाई प्राथमिकताकासाथ उठाउने तयारी गरेको छ ।

श्रेष्ठले आक्रोश व्यक्त गर्दै भनेका थिए–अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्ति एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’

एमसिसी पास भएपछि संकटबाट देशलाई माथि उठाएको दाबी गरेका प्रचण्ड पनि के कम एमसिसी पास भएको भोलिपल्ट पत्रकार सम्मेलनमा भनिदिए–पार्टीभित्रै एमसिसी पास भएकै विरोधमा कोही नयाँ बाटो हिंड्न चाहन्छन् भने स्वतन्त्र छन् ।

अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि श्रेष्ठ पक्ष झन् बढी आक्रोशित हुन पुग्यो । पूर्व एकताकेन्द्र पक्ष नेताले त अब प्रचण्डसँग सँगै बस्न हुन्न नयाँ पार्टीको तयारीमा लाग्नुपर्छ भन्नेसम्मको निचोड निकाले ।

श्रेष्ठलाई लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, अञ्जना विशंखेको साथ छँदै थियो । कृष्णबहादुर महरा, राम कार्की र लेखनाथ न्यौपानेसहितले पनि साथ दिएपछि उनी झनै हौसिन पुगे । पार्टी विभाजनसम्म पुगे यी नेताकाेसमेत साथ पाउने विश्वासमा श्रेष्ठ छन् । यस्तोमा नयाँ पार्टी गठनको चेतावनीसमेत श्रेष्ठले प्रचण्डसमक्ष पुर्याए । कुनै समय प्रत्यक्ष सिटमा बहुमत ल्याएर सनसनी मच्चाएको माओवादीले सबैभन्दा बढी टुटफुटको श्रृंखला भोगेको छ ।

मोहन वैद्य, डा. बाबुराम भट्टराई, विप्लव मात्रै होइन बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापासमेतका प्रभावशालीले प्रचण्डको साथ छोडिसकेका छन् । यस्तोमा श्रेष्ठले पनि साथ छोडे प्रचण्ड थप रित्तिने अवस्थामा पुग्ने निश्चित जस्तै छ । यसैले भड्किएका श्रेष्ठलाई मनाउन मंगलबार प्रचण्ड आफैं उनको हात्तीवनस्थित निवासमा पुगे । श्रेष्ठ पनि के कम ‘हामीलाई पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिनुभएको हो ?’ भन्दै प्रचण्डमाथि आक्रोश व्यक्त गरेका थिए ।

‘मैंले अहिले होइन पहिलेदेखि नै एमसिसीका केही प्रावधान हाम्रो राष्ट्रियतालाई आघात पार्ने छन् भन्दै आएको थिएँ । एमसिसी पास गर्नै हुन्न भन्नेमा मेरो अडान थिएन । तर केही विषय संसोधन गर्नुपर्छ भन्ने थियो । हामीले संस्थागत रुपमा विरोध पनि गरेका थियौं । भ्रातृ संस्थालाई सडकमा विरोधमा उतार्यौं’ श्रेष्ठले प्रचण्डसँग भनेका थिए, ‘तर तपाईंले कोही नयाँ बाटोमा हिंड्न चाहे स्वतन्त्र हुने अभिव्यक्ति दिनुभयो । के हो तपाईंको अभिव्यक्तिको सन्देश ? हामीलाई माओवादी छोडेर जा भन्नुभएको हो ?’

जवाफमा प्रचण्डले आफूले एउटा प्रसंगमा भनेको भन्दै श्रेष्ठलाई थामथुम पार्न खोजेका थिए । आफूले आवेशमा आएर बोले पनि आशय पार्टी छोडेर कसैलाई पनि जा नभनेको भन्दै मनाउन खोजेका थिए । प्रचण्डले कुनै घटना सन्दर्भमा पार्टी विभाजन गर्न खोजे वामदेव गौतमले एक सिट पनि नजिते जस्तै हुने चेतावनीसमेत दिएका थिए । यसले पनि श्रेष्ठ पक्षलाई भड्काएको थियो ।

‘मैंले बोल्दाबोल्दै आवेशमा केही बोलें तर मेरो आशय जिम्मेवार नेताहरू पार्टीबाट निस्केर जानुपर्छ भन्ने होइन । मिलेरै पार्टी चलाउने हो । एमसिसीमा फरकमत छन् फरक मतकै रुपमा राखेर अरु विषयमा मिलेर पनि जान सकिन्छ ।’

तर श्रेष्ठ पक्षले यस अघिदेखि नै प्रचण्डमाथि दबाब बढाउँदै आएका थिए । माओवादीमा लागेदेखि नै माओवादी नमानेको बुझाई उनीहरूको रहेको बताइन्छ । यसैले एकपटक प्रचण्डलाई गतिलो गरी चुनौती दिनुपर्ने निचोड पूर्व एकताकेन्द्र पक्षधरले निकालिसकेका छन् । श्रेष्ठ भड्किएपछि बुधबार पनि प्रचण्डसँग उनको संवाद हुने बताइएको छ । श्रेष्ठ पक्षबाटै दबाब महसुर गरेकैले फेरि छलफल गर्ने तयारी भएको बुझिएको छ ।

शुक्रबार केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ । यो बैठकमासमेत श्रेष्ठ पक्षले निर्मम समीक्षा गर्दै नेतृत्को आलोचना गर्ने तयारी गरेको छ । एमसिसी पारित गर्नु पार्टीको नीति विपरीत रहेको भन्दै प्रचण्डले आत्माआलोचना गर्नुपर्नेसम्मको शर्त उनीहरूको छ । नभए अलग पार्टी गठन गरेर जानुपरे पनि तयार हुनुपर्ने गरी श्रेष्ठ पक्षले दबाब बढाउने बुझिएको छ ।

याे पनि पढ्नुस्

प्रचण्ड र नारायणकाजीबीच झगडा, गिरिराजमणिको चेतावनी

प्रचण्डसँग झगडा गरेका नारायणकाजीले भेटमा के भने ?