NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते
माओवादीमा लफडा

प्रचण्डलाई एक्ल्याउन एमसिसी विरोधीहरू नारायणकाजी र झलनाथसँग मिलेर के–के गर्दैछन् विप्लव ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी प्रकरणले माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीचको झगडा सतहमै छताछुल्ल भएको छ । अन्तर्विरोध चर्किएकै समयमा नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले असन्तुष्ट समूहका नेता नारायणकाजी श्रेष्ठसँग बुधबार भेट गरेका छन् ।

एक नेताका अनुसार विप्लवले एमसिसी प्रकरणमा श्रेष्ठले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रियताको विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव राखेका थिए । विप्लवको उक्त प्रस्तावप्रति श्रेष्ठले सकारात्मक प्रतिक्रिया जनाउँदै राष्ट्रियताको विषयमा वामपन्थी र राष्ट्रवादी शक्तिबीच धु्रविकरण आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

एमसिसी विरोधीसँग मोर्चावन्दी गर्ने विप्लवको रणनीति

एमसिसी सम्झौताको विरोध र राष्ट्रियताको विषयमा आगामी दिनमा सहकार्य जारी राख्ने दुई नेताबीच सहमति भएको विप्लव निकट एक नेताले जानकारी दिए । एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेर प्रचण्डले देश र जनतामाथि धोका दिएको दुई नेताको समान बुझाइ रहेको उनले प्रतिक्रिया दिए ।

उनको अनुसार एमसिसीको विपक्षमा उभिने सबै नेताहरूसँग विप्लवको भेटघाट गर्ने तयारी भएको छ । श्रेष्ठपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने तयारी गरेका छन् ।

‘प्रचण्ड–माधवका कारण राष्ट्रघाति एमसिसी संसदबाट पारित भयो । प्रचण्डले चाहेको भए एमसिसी पास हुन सक्ने थिएन । जनतालाई अलमल्याउन सुरू–सुरूमा संशोधनविना एमसिसी पास गर्दैनौं भन्नुभयो’, उनले भने, ‘अन्तिम समयमा आएपछि आफ्नो एकल निर्णय गराएर सम्झौता अनुमोदन गर्न मूख्य भूमिका निर्वाह गर्नुभयो । प्रचण्डले देश र जनताप्रति ठूलो राष्ट्रघात गर्नुभयो । राष्ट्रघाति सम्झौताको विपक्षमा उभिने सबैसँग सहकार्य हुन्छ ।’

श्रेष्ठ निकट एक नेताका अनुसार माओवादी केन्द्रको आगामी केन्द्रीय कमिटी बैठकमा श्रेष्ठ समूहले फरक मत प्रस्ताव गर्ने तयारी भइरहेको छ । ‘आगामी केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुनेबारे सबै साथीहरूसँग सल्लाह भइरहेको छ’, उनले भने, ‘नेतृत्वबाट देश र जनताप्रति ठूलो धोका भएको छ । प्रचण्डको पछिल्लो गतिविधिबाट धेरै असन्तुष्ट छन् । कसरी अगाडि बढ्ने भन्नेमा हामी सल्लाह गर्दै छौं । अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौं ।’

व्याख्यात्मक टिप्पणीसहित आइतबार एमसिसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएको थियो । सम्झौता संसदबाट पारित भएको विरोधमा विप्लवसहित साना छ वामसमूहले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

पार्टी नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै नेता श्रेष्ठले एमसिसीको विपक्षमा रहेका आफ्नो समूहका नेताहरूबाहेक कृष्णबहादुर महरा, जयपुरी घर्ती, रेखा शर्मा , यशोधा सुवेदी, लेखनाथ न्यौपाने लगायत नेताहरूसँग छलफल केन्द्रीय कमिटीमा समान धारणा राख्ने तयारी गरेका छन् । श्रेष्ठसमूहका गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतका नेताहरू सुरूदेखि नै बलियो साथ रहेको छ ।

यस्तो छ प्रचण्डमाथि विप्लवको आरोप

पछिल्लो समय प्रचण्डको सम्झौता परस्त र आत्मसमर्पणवादी चिन्तन प्रवृत्ति देखिएको छ । यसको पछाडि उहाँलाई के लाग्छ भने उहाँलाई आफ्नो रक्षा, सत्तासँग जोडिएको स्वार्थको रक्षा प्रमुख हो । अहिले उहाँभित्र अभिजात वर्गीय र नव धनाढ्य वर्ग बढिराखेको छ । त्यसको घेराबन्दीमा उहाँ पर्नुभएको छ । यसबाट के बुझ्न सकिन्छ भने उहाँले आफ्नो रक्षा जनतासँग देखिएको छैन । सत्तासँग मिलेर आफ्नो रक्षा देखिराख्नुभएको छ । त्यसले उहाँलाई झन् पछि झनै गिराउँदै लगिराखेको छ । प्रचण्ड महापतनको बाटोमा छन् । एमसिसी सम्झौताले सबैभन्दा बढी क्षति प्रचण्डलाई हुन्छ ।

संगठन विभाग प्रमुख नपाउँदा श्रेष्ठले प्रवक्ताबाट राजिनामा दिएका थिए

अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीचको लडाईं पार्टी विभाजसम्म उन्मुख हुने देखिएपछि मंगलबार श्रेष्ठलाई फकाउन उनकै निवास हात्तीवन पुगेका थिए । भेटको क्रममा अध्यक्ष प्रचण्डले एमसिसी विवादमा असहमति कायमै राखि बाँकी विषयमा मिलेर जान प्रस्ताव राखेका थिए । जवाफमा पार्टी विभाजन गर्ने आफ्नो कुनै मनसाय नरहेको प्रतिक्रिया दिएका थिए । नेकपा विभाजनसँगै प्रचण्डसँग असन्तुष्ट रहेका श्रेष्ठलाई पार्टीले संगठन विभागको जिम्मेवारी नदिएपछि उनले प्रवक्ताबाट राजिनामा दिएका थिए ।

भदौको पहिलो साता अध्यक्ष प्रचण्डले जारी गरेको सर्कुलर अनुसार जनार्दन शर्मालाई संगठन विभागको जिम्मेवारी दिएका थिए । पार्टीभित्र प्रचण्डले आफूपक्षलाई महत्वपूर्ण जिम्मेवारी दिएपनि आफुहरूलाई किनारा लगाउन खोजिएको श्रेष्ठ निकट नेताहरूको गुनासो छ । पछिल्लो समय एमसिसीलाई राम्रो हतियारको रूपमा प्रयोग गरेका श्रेष्ठले असन्तुष्ट समूहको नेतृत्व गरी प्रचण्डलाई दबाव बढाउने रणनीतिमा नेता श्रेष्ठ देखिन्छन् । माओवादी केन्द्रभित्र देखिएको अन्तरविरोधको फाइदा उठाउँदै प्रचण्डलाई एक्ल्याउने रणनीतिमा विप्लव लागेका देखिन्छन् ।

किनकी उनका सामू पनि प्रभावशाली राजनीतिक मुद्दा नहुँदा माओवादीभित्रै देखिने असन्तुष्टिका छिद्रमा छिर्ने दाउमा उनी छन् । डर, त्रास र धम्कीको जबर्जस्तीपछि मूलधारमा आउन खोजेका विप्लव कसरी अगाडि बढ्ने भन्नेमा अझै प्रष्ट छैनन् । उनले सबै दलका शीर्ष नेतासँग भेटेर सम्बन्ध सुधार र आफ्नो लागि पनि स्पेस चाहिएको सन्देश दिन खोजेका थिए । निरुपण हुन बाँकी रहेका ठूला राजनीतिम मुद्दा बाँकी नभएको र चुनाव पनि नजिक आएकोले विप्लवसमेत कसरी अघि बढ्ने भन्ने दोधारमा छन् । यसैले माओवादी आन्दोलनकै पक्षसँग मोर्चा बनाएर वा मिलेर जान सकिन्छ भन्नेमा उनले प्रयास थालेका छन् ।