NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेस जिल्ला सभापतिमा संस्थापन र शेखर पक्ष कसले कहाँ जिते ?

काठमाडौं । कांग्रेसका बाँकी १६ जिल्ला कार्यसमितिको निर्वाचन भइरहेको छ । यी जिल्लामध्ये केहीको नतिजा आएको छ ।

सिन्धुलीमा दोस्रो चरणको निर्वाचनबाट उपेन्द्र पोखरेल सभापतिमा निर्वाचित भएका थिए । संस्थापनपक्षीय उम्मेदवार प्रेमचन्द्र दाहाल पहिलो चरणबाटै आउट भएपछि स्वतन्त्र उम्मेदवारी दिएका पोखेलले शेखर कोइराला पक्षका उम्मेदवार उज्जवलप्रसाद बराललाई पराजित गरेका हुन् । दोस्रो चरणमा संस्थापनमा दाहाल पक्षले पोखरेललाई समर्थन गरेको थियो ।

यता मकवानपुरमा भने पहिलो चरणमा भिडेका उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन नगरी सहमतिमा नेतृत्य चयन गरिएको थियो । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याउने बुद्ध लामालाई सहमतिका आधारमा सभापति चयन गरिएको हो ।
सभापतिका लागि पहिलो चरणमा खसेको १ हजार ७ सय ७५ मतमा लामाले ५९२, दोस्रो भएका आनन्दराम पराजुलीले ५४५ र तेस्रो हुने जयराम लामिछानेले ५३१ मत ल्याएका थिए । दोस्रो बढी मत ल्याएका पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको छ ।

नतिजा आएको पर्सामा संस्थापनपक्षीय उम्मेदवार जनार्दन सिंह क्षेत्री भारी मत अन्तरले विजयी भएका छन् । विजयी सिंहले एक हजार एक सय १० मत ल्याउँदा पराजित पटेल ४६५ मतले पछि परे । पटेलले ६४५ मत मात्रै ल्याए ।

कैलाली कांग्रेस सभापतिमा संस्थापनपक्षीय नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन् ।

।कांग्रेसमा बाँकेमा पनि कुनै पनि उम्मेदवारले पहिलो चरणमा बहुमत ल्याउन नसकेपछि फेरि चुनाव हुँदैछन् । पहिलो चरणमा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ ल्याएका थिए । अब गौडेल र कुर्मीबीच प्रतिस्पर्धा हुँदैछ । गौडेल शेखर पक्षका हुन् । कुर्मी र हमाल देउवा पक्षका हुन् । यी २ मिल्दा यहाँ पनि शेखर पक्षका उम्मेदवार पराजित हुने देखिन्छ । मधेस प्रदेशका पर्सा बाहेकका जिल्लामा अधिवेशन हुँदैछ । चितवनको नेतृत्व चयनको लागि पनि आज मतदान भइरहेको छ ।