NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कांग्रेस ८ जिल्लाको नतिजा आउँदा संस्थापन र शेखर पक्षको हिस्सा कति कति ?

काठमाडौं । १४ औं महाधिवेशनकै क्रममा नभएका कांग्रेसका १६ जिल्लाको अधिवेशन अहिले जारी छ । १६ जिल्ला मध्ये ८ जिल्लाको नतिजा पनि आइसकेको छ । ८ जिल्लामध्ये मकवानपुर, पर्सा, कैलाली र महाेत्तरीमा संस्थापन पक्षले जितेकाे छ ।

सिन्धुलीमा संस्थापनकाे सहयाेगमा स्वतन्त्रका उपेन्द्र पाेखरेल विजयी भएका छन् । बाँके, चितवन र नवलपुरमा संस्थापन इतर पक्षले जितेकाे छ ।

मकवानपुर, चितवन र नवलपुरमा भने सहमतिमा नेतृत्व चयन गरिएकाे छ । मकवानपुर र चितवनमा दाेस्राे चरणमा निर्वाचन नगरी सहमति गरियाे, नवलपुरमा भने निर्वाचन नै नगरी सहमतिमा सभापति चयन गरिएकाे छ ।

सिन्धुली

पहिलो चरणबाटै बाहिरिएका संस्थापनपक्षीय उम्मेदवार प्रेमचन्द्र दाहालले समर्थन गरेपछि दोस्रो चरणमा स्वतन्त्रका पोखरेल विजयी भए । दोस्रो चरणमा डा. शेखर कोइराला पक्षका उज्जवलप्रसाद बराल पराजित भएका थिए ।

मकवानवपुर

मकवानपुरको नेतृत्व चयन भने फरक रह्यो । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याउने बुद्ध लामालाई सहमतिमा सभापति चयन गरिएको हो । सभापतिका लागि पहिलो चरणमा खसेको १ हजार ७ सय ७५ मतमा लामाले ५९२, दोस्रो भएका आनन्दराम पराजुलीले ५४५ र तेस्रो हुने जयराम लामिछानेले ५३१ मत ल्याए । तर दोस्रो बढी मत ल्याएका पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमतिपछि लामालाई सभापति चयन गरिएको थियो ।

पर्सा

पर्साको नतिजा पनि फरक नै रह्यो । संस्थापनपक्षीय उम्मेदवार जनार्दन सिंह क्षेत्री ४६५ मतान्तरले विजयी भए । विजयी सिंहले एक हजार एक सय १०  र श्याम पटेलले ६४५ मत मात्रै ल्याए ।

कैलाली
कांग्रेस कैलाली सभापतिमा संस्थापनपक्षीय नारायणदत्त भट्ट विजयी भए । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

बाँके

बाँके कांग्रेसको नतिजा पनि फरक नै रह्यो । पहिलो चरणमा बहुमत ल्याउन नसकेपछि फेरि चुनाव भएको थियो । पहिलो चरणमा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ ल्याए । अब गौडेल र कुर्मीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । दोस्रो चरणमा हमालले संस्थापन पक्षका कुर्मीलाई समर्थन गरे । तर पनि दोस्रो चरणमा डा. शेखर कोइराला पक्षका गौडेल विजयी हुन पुगे ।

चितवन

चितवन कांग्रेस सभापति राजेश्वर खनाल निर्वाचित भए । पहिलो चरणका सभापतिका कुनै पनि पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा प्रवेश गरेको थियो । तर, निकटत प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि सहमतिमा खनाल सभापति चयन भएका हुन् । संस्थापनका श्रेष्ठले खनाललाई समर्थन गरेका हुन् । खनाल संस्थापन इतरका हुन् ।

महोत्तरी

महोत्तरी कांग्रेस सभापतिमा नागेश्वर यादव चयन भएका छन् । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सहमतिमा यादव सभापति चयन भएका हुन् । पहिलो चरणमा दोस्रो मत ल्याउने सुशीलकुमार यादवले समर्थन गरेपछि यादव सहमतिमा सभापति चयन भएका थिए ।

नवलपुर

नवलपुर कांग्रेसको नतिजा पनि फरक नै देखियो । उम्मेदवारी मनोननय गरेपछि सहमतिका आधारमा पुराना नेता महेन्द्रध्वज जिसीलाई सभापति चयन गरिएको छ । नेता रामचन्द्र पौडेलसमेतको प्रयासमा जिसीलाई सभापति चयन गरिएको हो । संस्थापन पक्षका बालकृष्ण घिमिरेले उम्मेवदारी फिर्ता लिएपछि सहमतिमा जिसी सभापति चयन भएका हुन् ।

जिसी पूर्व संस्थापनपक्षीय नेता हुन् ।

अझै अछाम, सर्लाही, बारा, सिरहा, रौतहटसहितका जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ ।