NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अवकाश कर्मचारीले भौतारिनु नपर्ने, अनलाइनबाटै पेन्सन

काठमाडौँ । अहिलेसम्मको प्रक्रियामा कर्मचारीहरुले सरकारी सेवाबाट अवकाश पाएपछि प्राप्त हुने पेन्सन प्रक्रियाका लागि झण्डै एक महिना दौडनु पर्छ ।

निजामती कर्मचारीले सेवाबाट अवकाश पाए लगत्तै आफुले लामो समयदेखि काम गरेको सार्वजनिक सेवाको सेवा प्रवाहको गुणतस्र थाहा पाउने यो पहिलो खुड्कीलो हो । सानो कामका लागि हप्तौँ दौडिएर हैरान हुन्छन् ।
अब भने त्यस्ता अवकाश कर्मचारीले अनलाइनबाट पेन्सन पट्टा बनाउन सक्ने भएका छन् ।

सरकारले अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गर्न लागेको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । यससँगै कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले विज्ञसहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको बताए ।

अनलाइन प्रणालीमा गएपछि कर्मचारी अवकाश हुने छ महिना पूर्व नै सम्बन्धित कर्मचारीलाई अनलाइनबाटै उसलाई अवकाश हुँदै गरेको कुरा जानकारी गराइन्छ । त्यससँगै उसले पेन्सनका लागि बुझाउनु पर्ने विवरणहरु र पेन्सन स्केल पनि अनलाइनबाटै जानकारी गराइन्छ ।

यससँगै कर्मचारीको सम्बन्धित कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, निवृत्तभरण कार्यालय, पेन्सन लिने बैङ्कबारे अनलाइन माध्यमबाट जानकारी दिइन्छ ।

सबै तहका कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायतका दस्तावेजलाई डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली लागू गर्न लागिएको हो ।

सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि विस्तृत विवरण कम्युटरमा निश्चित कोड नम्बर हानेपछि प्राप्त गर्न सकिन्छ ।

अबको एक वर्षमा ई–पेन्सन प्रणाली कार्यान्वयनमा आउने छ ।

ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विज्ञका रूपमा काम गरिरहेका छन् । उनले कर्मचारीका सबै कागजात ई–फाइलिङ गर्न लागिएको भन्दै आगामी दिनमा अवकाश हुने कर्मचारीको ई–फाइलिङ तयार हुँदै जाने बताए ।