NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । पाकिस्तान पिपुल्स पार्टी पिपिपिको नेतृत्वमा खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानी संसदको तल्लो सदन नेसनल एसेम्बलीको सचिवालयमा दर्ता भएको छ । अविश्वासको प्रस्तावमा पाकिस्तान पिपुल्स पार्टी र पाकिस्तान मुस्लिम लिगका १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् ।

सन् २०१८ मा सरकामा आएदेखि पूर्व क्रिकेटर खानले पाकिस्तानी अर्थतन्त्रको व्यवस्थापन बिगारेको र भ्रष्टाचार बढाएको भन्दै अविश्वासको प्रस्ताव पेस गरिएको हो ।

पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को नेतृत्वमा हजारौं विपक्षीहरुले प्रधानमन्त्री खानको विरुद्धमा प्रदर्शन गरेका थिए । यसले थप राजनीतिक उथलपुथलको सम्भावना बढाएपछि अविश्वासको प्रस्ताव अघि बढाइएको हो । प्रधानमन्त्री खानले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

३४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविस्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकता पर्छ । तर, विपक्षीले त्यो भन्दाबढी मत आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।

पाकिस्तानको सत्तारुढ पार्टी पिटिआईका १५५ सदस्य, एमक्यूएमका ७, बिएपीका ५, मुस्लिम लिग क्यूका ५, जिडिएका ३ र अवामी मुस्लिम लिगका १ सदस्य गरी प्रधानमन्त्री खानलाई १७८ सदस्यको समर्थन छ । विपक्षी गठबन्धनमा कुल सदस्य संख्या १६२ रहेको छ । अविश्वासको प्रस्ताव पास गर्न विपक्षीलाई थप १० मतको आवश्यकता पर्छ ।

‘हामीसँग १७२ भन्दा बढी मत हुनेछ,’ पूर्वराष्ट्रपति तथा पिपिपीका नेता असिफ अली जर्दारीले भने । खानलाई २४ घण्टाभित्र राजीनामा दिएर निर्वाचनमा आउन वा अविश्वासको प्रस्ताव पिपिपीका अर्का नेता बिलावल भुट्टो जर्दारीले चेतावनी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष