युक्रेनका वैज्ञानिक भन्छन्– जलवायु परिवर्तनविरुद्ध पनि एक होऔं

किभ । युक्रेनका वैज्ञानिकले युद्धले जलवायु परिवर्तनबाट हुने प्रभाव रोक्नका लागि विश्वको ‘अवसरको ढोका बन्द’ गरेको बताएका छन् ।इन्टरगभर्मेन्टल प्यानेल अन क्लाइमेट चेन्ज (आइपिसिसी) की सदस्य वैज्ञानिक डा स्भित्लाना क्राकोभस्का भनिन् ‘युक्रेनका जनताहरु कसरी आफ्नो शत्रुविरुद्ध एक भएर लडिरहेका छन्, यो अचम्म लाग्दो छ । यदि हामी जलवायु परिवर्तनविरुद्ध पनि यसरी नै लड्यौ भने हामी बाँच्न सक्छौं ।’
स्भित्लानाले जलवायु परिवर्तनका प्रभावहरुमा आइपिपिसीको पछिल्लो प्रमुख मूल्यांकनलाई अनुमोदन गर्ने अन्तिम चरणमा भाग लिइरहेकी थिइन्, त्यही समयमा रुसले युक्रेनमाथि आक्रमण गर्यो । युद्ध सुरु भएसँगै उनको काम पनि रोकियो । ‘सबै रोकियो’ उनले भनिन् ‘म अहिले आफ्नो ज्यान जोगाउनुबाहेक अरु केही सोच्न सक्दिनँ ।’
रुसबाट निर्यात गरिएको तेल र ग्यासमा युरोपको निर्भरताले युद्धलाई आर्थिक सहयोग गरिरहेको कुरामा उनले विशेष जोड दिइन् । ‘युरोपले इन्धनमा लगानी गरेको रकम रुसले हामीविरुद्ध नै प्रयोग गरिरहेको छ, उनले भनिन्, ‘स्वतन्त्रता र मानवीयताविरुद्ध’ प्रयोग भइरहेको छ ।’
उर्जामा रुसमाथि युरोपको पूर्ण निर्भरबारे मंगलबार बोल्दै युरोपेली आयोगका अध्यक्ष उर्सुला भेनडेरले आफूहरुलाई स्पष्ट रुपमा धम्की दिने निर्यातकर्तामाथि लामो समय भर पर्न नसकिने र नवीकरणीय उर्जालाई प्रवद्र्धन गर्नतर्फ लाग्ने बताएकी थिइन् ।
वैज्ञानिकहरुले यसभन्दा अघिदेखि नै नवीकरणीय उर्जाको प्रवद्र्धन आवश्यक रहेको प्रमाण दिएको बताउँदै उनले भनिन्, ‘मेरा लागि यो स्पष्ट छ, यदि हामी बाँच्न चाहन्छौं भने हामीले यो गर्नैपर्छ ।’ तर उनले उत्सर्जन घटाउने अवसर र उर्जाका स्रोतहरु दु्रत गतिमा बन्द हुँदै गइरहेको बताइन् । उनले थपिन्, ‘यो युद्धले कार्बन उत्सर्जन घटाउने अवसरका ढोकाहरु झन् साँघुरो बनाएको छ ।’
प्रतिक्रिया