NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

कालोपत्रे सडकबाटै बस खस्दा संखुवासभामा यसरी गएको थियो १४ जनाको ज्यान

काठमाडौं । संखुवासभामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । बिहान साढे ६ बजे मादी नगरपालिकाबाट दमकको लागि छुटेको बस सवा सात बजे नै मादी-६ को सात घुम्तीमा दुर्घटनामा परेको थियो ।

कालोपत्रे गरिएको बाटोको पहिलो मोडबाटै गाडी तीन सय मिटर तल पुग्दा १४ जनाको ज्यान गएको गएको मादी ६ का वडा अध्यक्ष धननारायण तामाङले जानकारी दिए ।

वडा अध्यक्ष तामाङका अनुसार बा.४ ख ७३५ नम्बरको बस गाडी साहुजीले नै चलाएका थिए । नियमित ड्राइभर बिदामा भएका कारण साहुजीले नै गाडी चलाएको जानकारी उनले दिए । दुर्घटनालगत्तै स्थानीय र प्रहरी उद्दारमा उत्रिएका थिए । मृतकको अहिलेसम्म पहिचान भइसकेको छैन ।

दुर्घटनाबारे वडा अध्यक्ष धननारायण तामाङको भनाई यस्तो छ :
मादीबाट बस साढे ६ बजे दमकका लागि हिंडेको थियो । माथिबाट हिँडेको ४५ मिनेटजतिमै सवा सात बजे यात्रुवाहक बस दुर्घटनामा पर्यो । यो बाटो अप्ठ्यारो छैन । अन्य ठाउँमा ६ मिटरको चौडाइ भएको बाटो कालोपत्रे गरिएको छ । दुर्घटना भएको स्थान सात घुम्ती भन्ने ठाउँ हो । घुम्ती भएरै यो ठाउँलाई सातघुम्ती भनिएको हो । अन्य ठाउँकाे जस्ताे फराकिलाे नभए पनि दुर्घटना भएकाे बाटाे अप्ठ्याराे छैन ।  ओरालो बाटोको पहिलो घुम्तीबाट गाडी झरेको देखिन्छ । घुम्ती भएको ठाउँमा पनि कालोपत्रे सडक नै छ ।

गाडीको ब्रेक लगाउँदा सडकमा घिस्रिएको दाग देखिनुपर्ने हो तर दाग छैन । बस सिधै खसेको देखिन्छ ।  मादीबाट हिडेपछि राममन्दिर ओखबोटेको घुम्ती भएरै १० किमी तल पुगेपछि गाडी खोलामा पुग्नुपर्ने हो । तर सुरुकै घुम्तीबाट गाडी झरेर तीन सय मिटर तल पुगेको देखिन्छ । दुर्घटनालगत्तै स्थानीय र प्रहरी उद्दारमा लागेका थिए ।

पहिलोपटक गाडी बल्ड्याङ खाँदा ८/९ जनाको त्यही मृत्यु भएकोले लास भेटियो । अर्को बल्ड्याङ खाएर तल पुग्दा थप लास भेटियो । ८/१० वर्षको बच्चाको लाश गाडीमा च्यापिएको अवस्थामा फेला परेको छ । यसरी गाडीमा सवार १९ जनामध्ये १४ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । जसमा दुई जना गम्भीर छन् भन्ने आएको छ । घाइतेलाई १० बजेतिर सदरमुकाम पुर्याइएको छ । गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुविधासम्पन्न अस्पताल लाने तयारी भएको छ । मेयरवाव पनि चैनपुर पुगिसक्नुभएको छ ।

सहज बाटोमै यात्रुवाहक बस दुर्घटना भएको देखिन्छ । बसका नियमित ड्राइभर बिदामा भएकोले गाडीका साहुजी आफैंले बस चलाउनु भएको सुनेका छौं । हिजो पनि उहाँले नै दमकबाट गाडी आफैं ल्याउनुभएको भन्ने छ । गाडी चालकको पनि मृत्यु भएको छ । के कारणले दुर्घटना भएकाे हाे खुलिसकेकाे छैन ।

तस्बिर विमल काफ्लेकाे फेसबुकबाट । 

ताजा अपडेट

नेपालवाच विशेष