NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

भारतको विधानसभा चुनावः यस्तो छ ५ राज्यको नतिजा

दिल्ली । भारतमा फेबु्रअरी र मार्च महिनामा ५ वटा राज्यमा भएको विधान सभा निर्वाचनको नतिजा आइसकेको छ । यीमध्ये उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुरमा भारतीय जनता पार्टीले भारी बहुमत हासिल गरेको छ । गोवामा पनि भाजपा नै सबैभन्दा ठूलो पार्टी बनेको छ भने पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ ।

पञ्जाबमा नवजोत सिंह सिद्धू, चरणजीत सिंह चन्नी, सखुवीच बादलजस्ता दिग्गज नेताहरु आम आदमीका उम्मेदवारसँग पराजित भए । आम आद्मी पार्टीले ११७ विधानसभा सिटमध्ये ९२ वटा सिट आफ्नो तर्फ खिचेकाे छ । कांग्रेसले १८, शिरोमणि अकाली दलले ३ र भाजपाले २ सिट मात्रै जितेका छन् ।

लगातार दोस्रो पटकसम्म दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले आम आदमी पार्टी सन् २०१२ मा गठन गरेका थिए ।भ्रष्टाचारविरुद्ध अन्ना हजारेले गरेको आन्दोलनका कार्यकर्ता केजरीवालको पार्टीले पञ्जाबमा भारी समर्थन पाएको पहिलोपटक हो । उनले भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर निर्वाचन लडेका थिए ।

चुनावी अभियानमा केजरीवालले भ्रष्टाचार न्युन गर्ने र भ्रष्टाचार हुने पैसाले पञ्जाबको विकास गर्ने, सर्वसाधारणलाई राहत दिने बताएका थिए । उनले गुणस्तरीय सरकारी विद्यालय, अस्पताल, निशुल्क पानी, बिजुली पञ्जाबका जनतालाई प्रदान गर्ने एजेन्डा अघि सारेका थिए । चुनावमा दिएका नारालाई हदैसम्म पुरा गर्ने केजरीवाललाई दिल्लीका जनताले झैं पञ्जाबी सर्वसाधारणले पनि विश्वास गरेका छन् ।

उत्तर प्रदेशको ४०३ विधानसभा सिटमध्ये २७४ भाजपाको खातामा आएको छ । समाजवादी पार्टीले १२४ सिट जितेको छ । केन्द्र राजनीति दोस्रो ठूलो पार्टी रहेको कांग्रेसले २ र बिएसपीले १ सिट मात्रै जितेका छन् ।

भाजपाको करिब ४१ प्रतिशतभन्दा धेरै मत पाएको छ । समाजवादी पार्टीलाई ३२ प्रतिशत । ३७ वर्षपछि उत्तर प्रदेशमा लगातार दोस्रोपटक भाजपा सत्तामा आएको छ ।

युपीमा मुख्यमन्त्री योगी आदित्यनाथकै अनुहार अगाडि सारेको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रचारप्रसारमा धेरै सहयोग गरे । एकतिर योगी आदित्यनाथले कोरोना महामारीको दोस्रो लहरपछि उत्तर प्रदेशका सबै जिल्लाको भ्रमण गरे र चुनावका क्रममा २०० भन्दा बढी र्याली गरे । प्रधानमन्त्री मोदीले पनि २७ वटा चुनावी र्याली सम्बोधन गरेका थिए ।

भाजपाले आफ्नो शासनकालमा कुनै दंगा नभएको र अपराधमा कमी आएको बताउँदै आएको छ । सरकारी तथ्यांकले यो दाबी गलत भएको पुष्टि गरे पनि भाजपा जनतालाई आफ्नो शासनकालमा कानुनी व्यवस्था सुधारिएको विश्वास दिलाउन सफल भयो ।

भाजपा नेताले पटक पटक ‘राताे टोपीवाला’ सत्तामा आए गुन्डागर्दी पुनः सुरु हुने भन्दै सन् २०१७ मा समाजवादी पार्टीप्रति जनतालाई डर पैदा गरिरहे । यसबाहेक निशुल्क खाद्यान्न र किसान सम्मान जस्ता योजनाले गर्दा सत्ता विरोधी लहर बढ्न नसकेको बताइन्छ । निशुल्क खाद्यान्न कार्यक्रमले कोभिड प्रभावितलाई धेरै सहज पुगेकाले पनि युपीमा भाजपा सरकारमा आउन सफल भएको हो ।

यता, कांग्रेसको कमजोर संगठन र पार्टी महासचिव प्रियंका गान्धीको नेतृत्वमा प्रश्न उठेको छ । उनले निर्वाचनमा महिला सशक्तिकरणको मुद्दालाई जोड दिँदै ४० प्रतिशत सिटमा महिलाको उम्मेदवारीमा जोड दिइन् । पार्टीले ५० जना महिला उम्मेदवारको सूची बनाएको थियो, जसमा कहिले निर्वाचन नलडेका महिला पनि समावेश गरिएको थियो ।

सन् २००७ मा २०६ सिट जितेर सत्तामा आएको बहुजन समाज पार्टी १५ वर्षपछि १ सिटमा सिमित भएको छ । सन् २०१७ मा २२ प्रतिशत मत ल्याएको बहुजन पार्टीले अहिले १२ प्रतिशत मत जितेको छ । उत्तर प्रदेशको विधानसभा निर्वाचनमा बिएसपीबाट जित्ने एक मात्र विधायक उमाशंकर सिंह रहेका छन् ।

यस्तै, उत्तराखण्डको ७० विधानसभा सिटमध्ये ३२ भाजपाले जितेको छ । कांग्रेसले १९ र बिएसपीले २ सिट जितेको छ । भाजपालाई ४४ प्रतिशत र कांग्रेसलाई ३८ प्रतिशत मत प्राप्त भएको छ । यसअघिको चुनावमा कांग्रेसले सबैभन्दा धेरै २८ सिट जितेको थियो ।

मणिपुर पुनः भाजपाले आफ्नो कब्जामा लिएको छ । मणिपुरको ६० सिटमा ३२ सिट भाजपाले, ५ सिट कांग्रेसले, ६ सिट जेडियूले जितेका छन् । जेडियूले मणिपुरमा पहिलोपटक खाता खोलेको हो ।

गोवामा भाजपाले २०, कांग्रेसले ११ आपले २ र स्वतन्त्र ३ सिट जितेका छन् । त्यहाँ ४० सिट छ । भाजपाले गोवामा सरकार बनाउनका लागि स्वतन्त्र ३ सिट र महाराष्ट्रवादी गोमान्तक पार्टीका २ सदस्यको समर्थन पाएको छ । भाजपाले गोवामा लगातार तेस्रोपटक सरकार बनाउँदै छ । चार राज्यकाे सत्ता आफ्नो खातामा आएपछि प्रधानमन्त्री नरेन्द्र माेदीले गृहराज्य गुजरातमा राेड शाे गरेका छन् ।