NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

लद्दाख सीमा विवाद सुल्झाउन १५ औं चरणको वार्ता

काठमाडौं । भारत र चीनबीच पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा जारी रहेको सीमा विवाद सुल्झाउन शुक्रबारदेखि १५ औं चरणको वार्ता हुँदैछ ।

यी दुई देशबीच करिब २२ महिनादेखि पूर्वी लद्दाखमा टकरावको स्थिति बनेको छ । वास्तविक नियन्त्रण रेखाको भारतीय क्षेत्रमा पर्ने चुसुल मोल्दो सीमामा कमाण्डरस्तरीय वार्ताका लागि बिहान १० बजेको समय तोकिएको थियो ।

पेट्रोलिङ प्वाइन्ट–१५ मा भएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यामले जनाएका छन् । यसअघि १२ जनवरी १४ औं वार्ता भएको थियो तर सकारात्मक निष्कर्ष निस्किएन ।

दुवैपक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा सैन्य एवं कुटनीतिक माध्यामबाट छलफल जारी राख्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्ने सहमति जनाएका थिए । प्याङगोङ क्षेत्रमा भारत र चिनियाँ सेना ५ मे २०२० देखि गतिरोध सुरु भएको थियो । विवाद बढेपछि दुवै देशले त्यस इलाकामा सेनाको संख्या बढाएका छन् ।