NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बैँकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ

काठमाडाैं । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-६ का २५ वर्षीय निसम विक, काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौँ रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ की ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेका छन् ।

निसम र मुन्दिपलाई विहीबार र शान्तालाई आज शुक्रबार पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ को फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख जरिवाना तथा गत मंसिर २१ को फैसलाले शान्तालाई ९ लाख ९० हजार जरिवाना हुने ठहर भएको थियो ।

निसमको नाममा भने बैकिंङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महाशाखबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौँको मनमैजुबाट, निसमलाई वनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो ।

दुई जनालाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष