अमेरिकाले रुसविरुद्ध आक्रमण गरे तेस्रो विश्वयुद्ध हुन्छ : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सेनाविरुद्ध अमेरिकाले प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका छन् । अमेरिका रुसविरुद्धको हमलामा उत्रिए तेस्रो विश्वयुद्ध हुने बाइडनको चेतावनी छ ।
‘अमेरिकाले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष सैन्य हस्तक्षेप गर्दैन,’ बाइडनले चेतावनी दिँदै भने, ‘अमेरिकाले युक्रेनमा रुसी सेनासँग लड्नुको अर्थ तेस्रो विश्वयुद्ध हुनेछ ।’
संयुक्त सुरक्षा परिषद् बैठकमा यसअघि रुसले अमेरिकाले युक्रेनमा जैविक हतियार प्रयोग गरेको दाबी गरेको थियो । तथापि, अहिलेसम्म यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
संयुक्त राष्ट्र संघका निःशस्त्रीकरण प्रमुख इजुमी नाकामित्सुले युक्रेनमा जैविक हतियार प्रयोगबारे आफू अनभिज्ञ रहेको बताए ।
यसैबीच, युक्रेनले आउने केही घण्टामा बेलारुस रुसको आक्रमणमा सामेल हुनसक्ने बताएको छ ।
रसियाले पछिल्ला १६ दिनदेखि लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ । बिबिसीका अनुसार, उसले युक्रेनविरुद्धको हमलालाई थप तीव्रता दिएको छ । युक्रेनका लुत्स्क, इभानो–फ्रान्किभस्क र डिनिप्रो क्षेत्रमा रुसले आफ्नो कारबाही विस्तार गरेको छ ।
रुसी हमलामा हालसम्म कैयन् युक्रेनीको मृत्यु भइसकेको छ भने १० लाख बढीले देश छाडेर छिमेकी मुलुकमा शरण लिइरहेका छन् । रुसले युक्रेनलाई आत्मसमर्पण गर्न भने पनि तयार भएको छैन । युक्रेन अमेरिकालगायत पश्चिमा मुलुक युद्धमा सहभागी भइदिऊन् भन्ने पक्षमा छ । तर यी मुलुकले अवस्था थप बिग्रने लखका साथ सेना पठाउन आनाकानी गर्दै आइरहेका छन् ।
प्रतिक्रिया