NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रुसी सेना युक्रेनको राजधानी किएभनजिक पुगे

किएभ । रुसले १७ दिनदेखि युक्रेनमाथि लगातार आक्रमण जारी राखेको छ । किएभबाट मात्रै २५ किलोमिटर टाढा रसियाली सेना पुगेका छन् । उसले किएभ आक्रमणका लागि चारैतर्फ सेना तैनाथ गरेको बिबिसी समाचारमा उल्लेख छ ।

चेर्निहिब, खार्किभ, मरिउपोल र सुमी सहरमा पनि रुसी सेनाले घेराबन्दी गरिएको र व्यापक गोलाबारी गरिएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ ।

युद्ध लम्बिँदै जाँदा युक्रेनभित्र मानवीय संकट चुलिँदै गएका छन् । मरिउपोलका नागरिकले बिना बिजुली चिसो तापक्रममा सीमित खाना र पानीले दैनिक गुजारिरहेको बिबिसीले लेखेको छ ।

युद्धविराम गर्न रुसलाई अन्तराष्ट्रिय समुदायले आग्रह गर्दै आए पनि रुसले युक्रेनले आत्मसमर्पण गर्नुपर्ने सर्त राख्दै आइरहेको छ । युक्रेन भने रुसविरुद्ध झुक्ने पक्षमा छैन ।

जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् ।