NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

अमेरिकी पत्रकार तथा फिल्म निर्माताको युक्रेनमा हत्या

काठमाडौं । युक्रेनमा एक अमेरिकी पत्रकार तथा फिल्म निर्माता मारिएका छन् । अरू दुई पत्रकार घाइते छन् ।

ब्रेन्ट रेनाउड नाम गरेका ५० वर्षीय पत्रकार किभभन्दा बाहिर इरपिन शहरमा मारिएका हुन् । उनी न्युयोर्क टाइम्समा काम गरिसकेका पत्रकार हुन् । ब्रेन्ट अरू दुई साथीहरूसँगै देश छाडेका शरणार्थीतर्फ गइरहेका थिए ।

उनी त्यो क्षेत्रमा केही समयदेखि कार्यरत रहेको बिबिसीले जनाएको छ ।

किभका प्रहरी प्रमुख एन्ड्री नेभिटोभले उनी रसियन सेनाको निशानामा परेको जनाएका छन् ।

घटनामा अरू थप दुई पत्रकार घाइते छन् । उनीहरूलाई अस्पताल लगिएको छ ।

शरणार्थीबारे जानकारी लिन कारमा सवार पत्रकारहरूलाई इरपिनको पुल तर्न कसैले आग्रह गरेको थियो । लगत्तै उनीहरूमाथि आक्रमण भएको घाइतेमध्येका एक पत्रकार जन अरेण्डोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनका अनुसार ब्रेन्ट रेनाउडलाई घाँटीमा गोली लागेको थियो ।

‘कसैले हामीलाई अर्को पुलमा लैजान प्रस्ताव गर्यो र हामीले एउटा चेकपोइन्ट पार गर्यौं,’ घाइते पत्रकार अरेण्डोले भनेका छन्, ‘र तिनीहरूले हामीमाथि गोली हान्न थाले। गोली चलेपछि चालक पछाडि फर्के । यो क्रममा रेनाउडलाई घाँटीमा गोली लागेको देखें।’

रुसले दुई सातादेखि युक्रेनविरुद्ध लगातार हमला गरिरहेको छ । आक्रमणमा विदेशी पत्रकार मारिएको यो पहिलो घटना हो ।

ताजा अपडेट

नेपालवाच विशेष