NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रुस-युक्रेन युद्ध १९ औं दिनमा

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको तीन साता भइसकेको छ । गोलीबारी र बम विस्फोटले विनाश गरेका, घाइतेहरुको रोदन, विस्थापितहरुको दुखका तस्बिरहरु अब सामान्यजस्तै बनिसकेको छ । साइरन र रकेटको डरलाग्दो आवाज, क्षेप्यास्त्रको निशानाले भरिएको आकाशका बीच युक्रेनभरका मानिसहरुको दिन र रात बितिरहेको छ । यस्तो दृश्य राजधानी किएभको पूर्वमा रहेको बेरीसिवकामा पनि देखिन्छ ।

रुस राजधानी किएभतर्फ बढिरहेको छ र त्यहाँ भीषण गोलीबारी जारी छ । रुसले सैन्य शिविरहरुलाई निशाना बनाएको बताउँदै आएको छ । तर रुसले युक्रेनी नागरिकलाई पनि लक्षित गरिरहेको युक्रेनले दाबी गरेको छ ।

युद्धबाट पूर्वी सहर खार्किभमा सबैभन्दा बढी विनाश भएको छ । रुसका रक्षा मन्त्रालयका प्रवक्ता आइगोर कोनासेन्कोभले रसियाली समाचार एजेन्सीसँग बताएअनुसार रुसी सेनाले अहिलेसम्म ३ हजार ६ सय ८७ युक्रेनको सैन्य पूर्वाधार ध्वस्त बनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसका सम्भावित सहयोगी र समर्थकलाई धम्की दिएका छन् र एक भिडियोमा रुसीहरुको प्रस्तावबाट प्रलोभनमा परेकाहरुले आफ्नै निर्णयमा हस्ताक्षर गरिरहेको बताएका छन् ।

रुसको सैन्य बल राजधानी किएभको उत्तर, पश्चिम र उत्तरपूर्वी क्षेत्रनजिक पुगेका छन् । रुसले भेसिल्किभ सहरको विमानस्थल पनि ध्वस्त पारेको छ ।

युक्रेनमा आवश्यक सहयोगलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले २०० मिलियन डलरको थप सैन्य सामाग्री उपलब्ध गराएका छन् । वाशिंटन यसभन्दा अगाडि पनि ३५० मिलियन डलरको सैन्य सहयोग गरेको थियो । रक्षा क्षेत्रमा गरेको यो सहयोग अमेरिकी इतिहासमै धेरै ठूलो मानिएको छ ।

युद्ध सुरु भए यता १ हजार ३ सय युक्रेनी सैनिकहरु मारिएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । युक्रेनले यस युद्धमा सैनिकहरु मारिएको विवरण पहिलोपटक सार्वजनिक गरेको हो । रुसले मार्च २ मा आफ्ना ४ सय ९८ सैनिक मारिएको बताएको थियो भने युक्रेनले १२ हजार रुसी सेना युद्धको शिकार भएको दाबी गरेको छ । आक्रमणबाट ५ सय ९७ युक्रेनी नागरिक मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।युद्धबाट विस्थापितहरुको संख्या २५ लाख नाघिसकेको छ ।

पोल्यान्डको सीमानजिकै युक्रेनको सैन्य तालिम केन्द्रमा रुसले गरेको आक्रमणबाट ३५ जनाको ज्यान गएपछि राष्ट्रपति जेलेन्स्कीले ‘कालो दिन’ भनेका छन् । आइतबार रुसले याभोरिभ सैन्य शिविरमा ३० वटा रकेट प्रहार गरेको थियो । यसबाट ३५ जनाले ज्यान गुमाएका छन् र १ सय ३४ जना घाइते भएका छन् ।

रुसी सेनाहरुले नियन्त्रणमा लिएका स्थानहरुमा आफ्नो उपस्थिति र प्रतिरोधको गति कायम राख्नका साथै नयाँ आक्रमणको तयारी गरिरहेको युक्रेनी सेनाले दाबी गरेका छन् ।

यही बीचमा युद्धविरामका लागि धेरै प्रयासहरु पनि भइरहेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका समकक्षी दिमित्रो कुलेबाले रुसको आक्रमण रोक्न छिमेकी राज्यहरुलाई कुटनीतिक प्रयास जारी राख्न आग्रह गर्ने भन्दै टेलिफोनमा वार्ता गरेका छन् । यसअघि पनि टर्कीमा रुस र युक्रेनका विदेशमन्त्रीबीच वार्ता भएको थियो । तर वार्ता निष्कर्षमा पुग्न सकेन ।

अर्कोतर्फ, रुसी सेनाले कब्जा गरेका सहरहरुमा फसेका नागरिकहरुले उद्धारको लागि गुहार मागिरहेका छन् । ती क्षेत्रमा बमबारीका साथै मानिसहरु खाद्य संकटको सामना पनि गरिरहेका छन् । यसको कारण युक्रेनको मरिउपोल सहर र राजधानी किएभको पश्चिम र उत्तरी क्षेत्रमा भयानक मानवीय संकट देखिएको छ ।

सहरको चारैतिर रुसी सेना तैनाथ छन्, लगातार बम विस्फोट भइरहेको छ । मानिसहरु बाहिर निस्किन सक्ने अवस्था छैन । केही दिन अघि त्यहाँ फसेका मानिसहरुलाई निकाल्ने प्रयास भए पनि मानवीय करिडोरमा आक्रमण भइरहेका कारण सो हुन सकेन ।