NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

भारतको उच्च अदालतले भन्योः इस्लाममा हिजाब अनिवार्य छैन

काठमाडौं । कर्नाटक उच्च अदालतले शैक्षिक संस्थाहरूमा हिजाब लगाउने सम्बन्धी एउटा महत्त्वपूर्ण मुद्दामा आफ्नो फैसला सुनाउँदै छात्राहरूको मुद्दा खारेज गरेको छ । हिजाब लगाउनु इस्लाममा अनिवार्य अभ्यास नभएको पनि अदालतले बताएको छ ।

अदालतले आफ्नो निर्णयमा शैक्षिक संस्थाहरूमा एकसमानको व्यवस्था कानुनी रूपमा मान्य हुने र यसले संविधानमा व्यवस्था भए बमोजिम अभिव्यक्ति स्वतन्त्रता वा गोपनियताको हक हनन नहुने बताएको छ ।

कर्नाटकको उडुपीस्थित एक कलेजमा हिजाब लगाउन रोक लगाएको भन्दै ६ छात्राले उच्च अदालतमा निवेदन दिएका थिए । उनले हिजाब लगाउनु आफ्नो संवैधानिक अधिकार भएको बताएका थिए । कलेज प्रशासन र छात्राहरू बीच मतभेदको यो मामिला कर्नाटक उच्च अदालतमा पुगेको थियो ।

अदालतका तीन न्यायाधीशको इजलासले यस विषयमा दुवै पक्षको तर्क सुनेर फैसला गरेको हो । कर्नाटककाे उच्च अदालतमा लगातार ११ दिनसम्म यसकाे सुनुवाइ भएकाे थियाे ।

संवेदनशील विषय भन्दै अदालतको फैसलाभन्दा अघि प्रहरीलाई सर्तक रहन आदेश दिइएको थियो । बेंगलोर, मसुर र बेलगावीमा एक साताका लागि निषेधाज्ञा लागू गरेको छ । उडुपी, दक्षिण कन्नाडा, शिवमोगा र कलबुर्गीमा विद्यालय बन्द गरिएको छ ।