NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

२०४९, २०५४ र २०७४ को स्थानीय चुनाव : कुन दलले कति जितेका थिए ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन सम्बन्धी रणनीति तय गर्न आगामी साता पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोेलाउने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको एमालेले वैशाख ३० हुने चुनावमा पहिलो शक्ति बन्ने दाबी गरेको छ ।  नेकपा हुँदै एमाले विभाजनबाट पार्टीलाई केही असर नगरेको देखाउन पनि उसले आगामी चुनावलाई प्रतिष्ठाको विषय बनाएको हो ।

संघीय चुनावमा ५० प्रतिशत ल्याउने दावी गरेका अध्यक्ष केपी ओलीले ०७४ को चुनावी परिणामलाई कायमै राखि थप शक्ति आर्जन गर्ने महत्वकांक्षा लिएका छन् ।

यसै साता बस्ने केन्द्रीय कमिटी बैठकले चुनावी तयारी सम्बन्धमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने गरी रणनीति र आगामी कार्यदिशा तय गर्ने दावी गरिएको छ ।

२०४९ सालमा बहुमत संख्यामा कांग्रेसकाे जित

०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि तीन वटा स्थानीय तहको निर्वाचन भएको छ । ०४९ को चुनावमा कांग्रेसको देशभर बलियो स्थिति रहेको थियो । ०५४ र गणतन्त्र स्थापना पछि ०७४ मा भएको स्थानीय चुनावमा एमाले पहिलो र बलियो शक्तिमा उदाएको थियो ।
एमालेले भर्खरै अध्यवाधिक गरेको पार्टीको नयाँ वेबसाइटमा स्थानीय तह चुनाव अन्तर्गत ०४९, ०५४ र ०७४ को चुनावी परिणाम अध्यावधिक गरेको छ । उसले बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएको पहिलो स्थानीय चुनावमा आफूलाई पूर्ण शक्तिसाथ होमिएको उल्लेख गरेको छ ।
२०४९ जेठ १५ र १८ गते गरी दुुईचरणमा सम्पन्न भएको उक्त चुनावमा ३९९५ गाउँ विकास समिति र ३६ नगरपालिका मध्ये १ करोड २० लाख कुल मतदातामा ६० प्रतिशत मतदाताले मतदान गरेको उल्लेख गरेको छ ।

एमालेले राखेको विवरण अनुसार कुल ४४,५३९ पदमध्ये कांग्रेसले २२३०६(५०.४) स्थानमा जित हासिल गरी पहिलो शक्ति बनेको उल्लेख छ । एमालेले ११५६१(२६.१) स्थानमा जित हासिल गरी दोस्रो शक्ति रहेको देखाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३२५(९.७५) स्थानमा जित हासिल गरी तेस्रो र नेकपा माओवादीको खुल्ला मोर्चा संयुक्त जनमोर्चा नेपालले २२५१(५.०८) स्थानमा जित हासिल गरी चौंथो स्थान रहेको देखाएको छ ।

२०५४ सालको स्थानीय तह निर्वाचनमा को बलियो ?

यसैगरी ०५४ मा भएको दोस्रो स्थानीय निकायको निर्वाचनमा आफूले ठूलो सफलता पाएको उल्लेख गरेको छ । २०५४ जेठ ४ र १३ गते गरी दुुई चरणमा सम्पन्न भएको उक्त चुनावमा १ करोड २५ लाख ३८ हजार २ सय ७२ मतदाताले मतदानमा भाग लिएको उल्लेख गरेको छ । जम्मा २,९१२ गाउँ विकास समिति, १ महानगर, ३ उपमहानगरपालिका र ५४ नगरपालिकाका लागि गरिएको निर्वाचनबाट १ लाख ८८ हजार १० जना जनप्रतिनिधिहरू निर्वाचित भएका थिए ।

माओवादी सशस्त्र यु्द्धको समयमा भएको चुनावमा माओवादी प्रभाावित क्षेत्र पश्चिमका ४० गाविसमा पुरै र २० गाविसको केही स्थानमा चुनाव हुन सकेको थिएन । १६० स्थानमा मतदान स्थगित भएको थियो ।

पहिलो चरणको निर्वाचनमा १ महानगर र २३ नगरपालिकाका १८ प्रमुख, १९ उपप्रमुख नेकपा (एमाले) उम्मेदवारले जित्यो भने कांग्रेसले जम्मा ३ प्रमुख र ६ उपप्रमुख जितेको थियो ।

दोस्रो चरणको निर्वाचनमा ३४ मध्ये २२ नगरपालिकामा नेकपा (एमाले) विजयी भयो । सबै गणना गर्दा नेकपा (एमाले)का १ लाख २८ हजार जनप्रतिनिधिहरूले विजयी हासिल गरेको एमालेले उल्लेख गरेको छ । माओवादीले ०५४ को चुनाव बहिस्कार गरेको थियो । यस चुनावमा ९६१६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

२०७४ सालमा पनि एमाले नै बलियाे

त्यस्तै २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण गरी पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियो । ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ वटा नगरपालिका र ४ सय ६० वटा गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय तहमा निर्वाचन भएको थियो ।

२९४ पालिकामा मेयर / अध्यक्ष, ३३१ पालिकामा उपमेयर / उपाध्यक्ष, २,५६० वडा अध्यक्ष र १०,९१२ जना वडा सदस्यहरू निर्वाचित भएर पहिलो शक्तिका रूपमा नेकपा (एमाले) उपस्थित भयो । नेपाली कांग्रेस जम्मा २६६ पालिकामा मेयर / अध्यक्ष, २२३ पालिकामा उपमेयर / उपाध्यक्ष, २,२८६ वडा अध्यक्ष र ८,६७९ जना वडा सदस्यहरू निर्वाचित गरेर दोस्रो दल बनेको थियो भने नेकपा (माओवादी केन्द्र)ले १०६ पालिकामा मेयर /अध्यक्ष, १११ पालिकामा उपप्रमुख / उपमेयर, १,१०२ वडा अध्यक्ष र ४,१२३ जना वडा सदस्यहरू जितेको उल्लेख गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष