NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार

काठमाडौं । मिर्गौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ । नेपालको कानूनमा रहेको आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौला रोगीको उपचार सहज हुने विश्वास गरिएको छ ।

नेपालमा बढ्दो मिर्गौला रोगीको उपचार स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानून संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मिर्गाैला रोगीका लागि बरदान साबित हुने बताइएको छ ।

विश्व मिर्गाैला दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत किष्ट मेडिकल कलेजले गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौला रोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।

मिर्गौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्राडा बालमानसिंह कार्की बताउँछन् ।

मिर्गाैला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा. दिव्या सिंह शाहले बताइन् ।

मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा. रोशन पोखरेलको भनाइ छ ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञानप्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए ।

उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ ।

हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाइलाइसिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष