NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

पुटिनबारे बाइडनले गरेको टिप्पणी अस्वीकार्य र अक्षम्य : रुस

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना समकक्षी भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेर गरेको टिप्पणीप्रति रुसले आपत्ति जनाएको छ । उसले बाइडनको यो अभिव्यक्तिलाई ‘अस्वीकार्य र अक्षम्य’ भनेको छ ।

‘अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्ति अस्वीकार्य तथा अक्षम्य मान्छौं,’ पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भनेका छन् ।

बुधवार एक सञ्चारकर्मीले बाइडनसँग सबै दृष्य देखेपछि तपाईं पुटिनलाई युद्ध अपराधी भन्न तयार हुनुहुन्छ भनेर सोधेका थिए । जवाफमा बाइडनले बिना तयारी उनी युद्ध अपराधी भएको बताएका थिए ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनको हिंसाको बर्बर तस्बिर देखेपछि बाइडनले आफ्नो मनबाट यस्तो बोलेको प्रतिक्रिया दिएकी छन् ।

अमेरिकी राष्ट्रपतिले रुसी समकक्षीमाथि गरेको यस्तो टिप्पणीले दुई देशबीचको कूटनीतिक तनाव थप बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो तीन सातायता रुसले युक्रेनविरुद्ध लगातार आक्रमण गरिरहेको छ । युद्धको दौरानमा जनधनको क्षति भइरहे पनि रुसले आक्रमण रोकेको छैन । युद्धविरामका निम्ति विभिन्न चरणमा वार्ता भए पनि त्यसले आकार लिन सकेको छैन ।