NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

पिरको भिडियोबाट हट्याे यौनकर्मीको दृश्य

काठमाडौं । गायक प्रकाश सपुतले हालै सार्वजनिक गरेको गीत पिरको भिडियोमा रहेको यौनकर्मीको दृश्य हटाएका छन् ।

गत शुक्रबार युट्युबमा सार्वजनिक गरेको पिर गीतमा पूर्व लडाकू महिला यौन व्यवसायमा संलग्न भएको दृश्य राखिएको थियो । उक्त दृश्यलाई लिएर गीत विवादमा आएपछि शनिबार गायक सपुतले रि अपलोडेड भनेर उक्त दृश्य हटाएको भिडियो राखेका छन् ।

माओवादीको सशस्त्र युद्धमा होमिएका युवाहरुको अवस्था चित्रण गरिएको सो गीतका दृश्यमा पूर्व लडाकू महिलाको अपमान गरेको भन्दै धेरै माओवादी नेताले आलोचना गरेका थिए ।

गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताएका छन् ।

‘तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ’, सपुतले भनेका छन् । पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गरेका छन् ।

‘जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने, नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो’, उनले भने, ‘त्यसैले कुनै दबाब/प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।’

पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उनको भनाइ छ । यद्यपि, सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? भन्ने बहस हुन जरुरी रहेको उनको मत छ ।

कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै गायक सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरञ्जित नगर्न अनुरोध गरेका छन् ।

‘जनयुद्धको वास्तविकता प्रतीकात्मक रूपमा प्रस्तुत गरेको हुँ’

माओवादीका भ्रातृ संगठनको आरोप : ‘पिर’ले महिलाको चरित्र हत्या गर्‍यो