NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

को हुन् नेविसंघका नयाँ अध्यक्ष दुजाङ शेर्पा ?

काठमाडौं । अन्ततः नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन् । यस अघिको कार्यसमितिको म्याद सकिएपछि सभापति शेरबहादुर देउवाले अध्यक्षमा काठमाडौंका शेर्पालाई चयन गरेका हुन् ।

शर्माको कार्यसमितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।

नेविसंघ अध्यक्ष बनाइएका शेर्पा अहिलेसम्म नेविसंघको कुनै भूमिकामा बसेका विद्यार्थी नेता होइनन् । उनी शंकरदेव क्याम्पस इकाइ सभापतिको प्रत्यासी भएका थिए । नेविंघमा केन्द्रीय सदस्य पनि नभएका शेर्पा आदिवासी विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भने भइसकेका छन् ।

नैनसिंह महर अध्यक्षमा निर्वाचित हुँदा शेर्पा जनजातितर्फबाट सहमहामन्त्रीमा उम्मेदवार बनेर पराजित भएका थिए । पहिले कृष्णप्रसाद सिटौला निकट रहेका शेर्पा पछिल्लो समय भने संस्थापन पक्षका आरजु र डा. प्रकाशशरण महत निकटका मानिन्छन् । नेविसंघमा रहेर भूमिका नदेखाए पनि शेर्पा सक्रिय विद्यार्थी नेता रहेको नेविसंघकै एक नेता बताउँछन् ।

नेविसंघको अध्यक्षका लागि अन्य धेरै नेताहरू दाबेदार हुँदा अध्यक्ष बनाइएको भनेर सुरुदेखि नै आलोचना खेप्नुपर्ने अवस्थामा भने शेर्पा हुनेछन् । किनकी नेविसंघको केन्द्रीय सदस्यसमेत नभएका उनलाई एकैपटक अध्यक्ष बनाउँदा पार्टीभित्र र नेविसंघभित्र असन्तुष्टि देखिन सक्ने एक नेता बताउँछन् ।

सभापति शेरबहादुर देउवाले आफू निकटका नेतासँग छलफल गरेर उनको नाम अध्यक्षमा टुंग्याएका हुन् । मुख्यगरी जनजाति नेताहरूकाे जाेडबलमा शेर्पालाई अध्यक्ष बनाइएकाे नेविसंघका एक नेता बताउँछन् ।

शेर्पा अध्यक्षको लागि चर्चामै रहेका अनुहार हुन् । तर केन्द्रीय सदस्य पनि नबनेको र कुनै कार्यकारी पदमा बसेर काम नगरेको ‘चार्ज’ उनीमाथि सुरूदेखि नै लाग्ने देखिएकाे छ ।

काठमाडौं बौद्धका उनी कृष्णप्रसाद सिटौला, गगन थापा हुँदै संस्थापन निकट रहेका नेता हुन् ।
उनका बाबु व्यापारी रहेको बताइन्छ ।