NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अध्यात्म र सकारात्मक सोचले मात्र समाज परिवर्तन सम्भव छ : आरजु

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्त्व थाहा हुने अनुभव सुनाएकी छन् ।

बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा देउवाले मानिसको जीवनमा ध्यात्मको महत्त्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएकी हुन् । उनले भनिन्, ‘अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत गर्दछ र हरेकको चिन्तनमा सकारात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।’

समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरूको समाधानसमेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा देउवाले अगाडि थपिन्, ‘आध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई अफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।’

आफू बिरामी भएर करिब सात महिना जापान बसेका समयको अनुभव सुनाउँदै उनले भनिन्, ‘म बिरामी भएर जापानमा सात महिना बसेँ, त्यहाँ सबैसँग अन्तक्र्रिया गर्न मलाई भाषाको समस्या थियो, त्यस समयमा म आध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगेँ, यसले मेरो उपचार प्रक्रियामा पनि म आफैँलाई प्रेरणा प्राप्त भएको अनुभव गरेँ र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेको छ ।’

उनले मानवीय जीवनमा नै डा. मणिभद्र मुनिजी महाराजको सन्देश, उपदेश तथा मन्त्रको ठूलो प्रभाव रहने विचार राखेकी थिइन् । मणिभद्र महाराजको तपस्या प्रेरणादायी रहेको चर्चा गर्दै कांग्रेस नेत्री डा. राणाले भनिन्, ‘उहाँ ४० वर्षदेखि हिँड्दै आउनुभएको छ । ८५ हजार किलोमिटर हिँड्ने उहाँको क्षमता र आत्मशक्ति अतुलनीय छ ।”

सो स्वागत कार्यक्रममा डा मणिभद्र मुनिजी महाराजले साधनाको माध्याबाट मानिसले आफूलाई शान्त बनाउन प्रयास गर्नुपर्ने बताए । उनले अहिलेको वैज्ञानिक युगमा पनि आध्यात्मिक चिन्तन एवं साधनाको सबैभन्दा ठूलो शक्ति रहेको भन्दै मानिसले साधनाबाट नै धेरै प्राप्त गर्नसक्ने बताए ।