NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चुनावी तालमेलबारे देउवा एकातिर, उनकै पक्षका प्रदेश सभापति अर्कैतिर !

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश प्रदेश सभापतिहरूले केन्द्रको घोषित नीतिमा चुनावी तालमेल गर्न नहुने बताएका छन् । संस्थापन शेरबहादुर देउवा निकटका प्रदेश सभापतिले समेत केन्द्रबाटै घोषणा गरेर धेरै ठाउँमा चुनावी तालमेल गर्न नहुने बताएका हुन् ।

मुख्यगरी संस्थापनबाट प्रदेश सभापति जितेका प्रदेश १ का उद्धव थापा, मधेसका कृष्णा यादव, वाग्मतीका इन्द्र बानियाँ घोषित नीतिमा आधारित रहेर चुनावी तालमेल गर्न नहुने बताएका हुन् । यद्यपी उनीहरूले खुलेरै चुनावी तालमेलको भने विरोध गरेनन् । तालमेलको अधिकार प्रदेशलाई दिनुपर्ने आशय उनीहरूको थियो ।

संस्थापन इतरबाट प्रदेश सभापति जितेका गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुनले त चुनावी तालमेल गरे कांग्रेसको हालत खराब हुने चेतावनी नै दिएका छन् । केन्द्रको घोषित नीतिमै चुनावी तालमेल गरिए कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै हुने चेतावनी पुनले दिएका थिए । कर्णालीका ललितजंग शाहीले पनि अन्य दलसँग घोषित रुपमा तालमेल गरिए कांग्रेसलाई नै संकट पर्ने बताएका हुन् ।

स्थानीय तहको चुनावको लागि केन्द्रीय समितिको बैठकमा प्रदेश सभापतिबाट सभापति देउवाले ब्रिफिङ सुनेका थिए । तर आफू निकटका नेताकै तालमेल विरोधी कुरा आएपछि देउवाले बैठकको समापनतिर गठबन्धन नगरिए केही ठाउँमा कांग्रेस पराजित हुने बताएका थिए । आक्रोशपूर्ण अभिव्यक्ति दिंदै देउवाले चितवनको नामै लिएर तालमेल नगरे कांग्रेसलाई जित्न गाह्रो हुने बताएका थिए ।

सबै ठाउँमा केन्द्रको घोषित निर्णयका आधारमा नभई स्थानीय आवश्यकतको आधारमा पनि चुनावी तालमेल हुन सक्ने देउवाको आशय रहेको एक नेताले जानकारी दिए । तर पार्टी कमजोर रहेको र प्रतिस्पर्धामा आएर पनि हार्न सक्ने ठाउँमा चुनावी तालमेल गर्नुपर्ने पक्षमा देउवा छन् ।
केन्द्रीय समितिको बैठक आइतबार फेरि पनि बस्नेछ ।

शुक्रबारको बैठकमा जिल्लाजिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले पनि धारणा राखेका थिए ।

यसैबीच कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सबैतिर चुनावी तालमेल गर्न खोजिएको भन्दै सभापतिलाई गलत देखाउन खोजिएको बताएका छन् । सबैतिर तालमेलको पक्षमा पार्टी नभएको भन्दै तल्लो तहका सुझावका आधारमा कांग्रेस कमजोर रहेको ठाउँमा चुनावी तालमेल गर्ने उनको भनाई छ । बैठकमा धेरै नेताको कुरा सुनेपछि चुनावी तालमेलबारे पार्टीले एउटा ठोस निर्णय लिने जानकारी उनले दिए ।