NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २८ गते
टिप्पणी

कसरी सम्भव भयो हिन्दू अतिवादी भाजपासँग उदारवादी कांग्रेसको सम्बन्ध ?

‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भन्ने नेपाली उखानझैं प्रधानमन्त्री शेरबहादुर देउवाले ‘भारतको यात्रा, भाजपासँग सम्बन्ध’को सिलसिला सुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणको पहिलो दिन भाजपाको कार्यालयमै गएर पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेपछि यसको चर्को आलोचना भइरहेको छ । भारतको राजकीय भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीले कूटनीतिक मर्यादा मिचेर कुनै पार्टीको कार्यालयको भ्रमण गर्नु खेदजनक रहेका धारणा प्रकट भइरहेका छन् ।

देउवा कांग्रेसको सभापतिका रूपमा भारत भ्रमणमा गएका हुन् या नेपालको प्रधानमन्त्रीका रूपमा ? भन्ने प्रश्न उठिरहेको छ । प्रधानमन्त्रीको हैसियतको दुरूपयोग गरेर विदेशी भूमिमा उनले पार्टी सभापतिको भूमिका पनि निर्वाह गर्दा राष्ट्रिय सम्मानको धज्जी उडिरहेको प्रति विभिन्न कोणबाट विरोध भइरहेको छ ।

एमाले नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भाजपाको कार्यालयमा गएर कूटनीतिक मर्यादा नाघेको आरोप लगाएका छन् । शुक्रबार साँझ ट्विटरमार्फत नेता रावलले भनेका छन्, ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतले हो कि, नेपाली कांग्रेसको सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो । भ्रमण पारिवारिक हो र ? यस्ता गतिविधिले नेपाल हेपिने गरेको छ ।’

कतै नेपाली कांग्रेसलाई पनि हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डामा फर्काउन भाजपाकै पहलमा यसखालको भेटघाट र सम्बन्धको सुरुवात गरिएको त होइन ?

अहिले नेपालमा तीन तहको निर्वाचनको सरगर्मी छ । उता भारतमा पनि दुई वर्षपछि सन् २०२४ मा लोकसभा निर्वाचन हुँदैछ । दुवै मुलुकमा चुनावको माहोल चलिरहेको बेला कांग्रेसका सभापतिले भारतको सत्तारुढ दलसँग प्रोटोकल मिचेर पार्टीगत सम्बन्ध राख्नुका अनेक प्रयोजन हुनसक्छ ।

एउटा त, नेपालको आन्तरिक राजनीतिमा माथि उठ्न नेपाली कांग्रेसले भाजपाको साथ र सहयोग खोजेको हुनसक्छ । अर्कोचाहिँ गम्भीर आशंका उब्जिएको छ, हिन्दूवादी राजनीतिको । नेपालमा एकथरी मानिसहरू हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै सडकमा कोकोहोलो मच्चाइरहेका छन् । नेपाली कांग्रेसभित्र पनि हिन्दूराष्ट्रका पक्षधरको ठूलो पंक्ति छ । कतै नेपाली कांग्रेसलाई पनि हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डामा फर्काउन भाजपाकै पहलमा यसखालको भेटघाट र सम्बन्धको सुरुवात गरिएको त हैन ?

हुन पनि, भारतमा हिन्दू अतिवादले राजनीतिलाई चुर्लुम्मै गाँजेको छ । नेपालको सीमावर्ती भारतीय प्रान्त उत्तर प्रदेशमा गोरखपुर मठका महन्थ योगी आदित्यनाथ यही आवेगका भरमा पुनः मुख्यमन्त्री भएका छन् । योगी आदित्यनाथलाई भारतकै सातौं शक्तिशाली व्यक्ति भएको सर्वेक्षण हालै सार्वजनिक भएको छ । उनलाई मोदीपछि भारतको प्रधानमन्त्री हुने व्यक्तिका रूपमा हेर्न थालिएको छ । योगी आदित्यनाथ उग्र चीनविरोधी मात्र होइनन्, ‘नेपाल हिन्दूराष्ट्र हुनपर्छ’ भनेर सार्वजनिक रूपमै बोल्ने नेता हुन् ।

एमसिसी पारितपछि आम हेराइमा पूर्ण रूपमा अमेरिकापरस्त देखिएका देउवालाई ‘चिनविरोधी कित्ता’कै नेताका रूपमा भाजपाले रातो कार्पेट ओछ्याएको हुनसक्छ

एमसिसी पारितपछि आम हेराइमा पूर्ण रूपमा अमेरिकापरस्त देखिएका देउवालाई ‘चिनविरोधी कित्ता’कै नेताका रूपमा भाजपाले रातो कार्पेट ओछ्याएको हुनसक्छ । देउवालाई हिन्दूराष्ट्रको एजेन्डामा अग्रसर गराउने र आगामी चुनावपछि धर्म निरपेक्षता’को ठाउँमा ‘धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र’सहित संविधान संशोधन गराउने चलखेल भाजपाले गरेको हुनसक्छ ।

भारतमा ‘कांग्रेसमुक्त भारत’सँगै धर्म निरपेक्षताविरोधी आवाज उठ्न थालेको छ । हिन्दू अतिवादीहरूले भारतलाई पनि हिन्दूराष्ट्र बनाउने नारा लगाउँदै आएका छन् र यो मिसनमा सफल भएमा भाजपाले ‘हिन्दूराष्ट्र भारत’का आडमा दशकौंसम्म शासनसत्तामा रजाइँ गर्न सकिने आकलन गरेको हुनसक्छ ।

यद्यपि, नेपाली कांग्रेस एक उदारवादी लोकतान्त्रिक दल हो, जसलाई धार्मिक अतिवादी राजनीति स्वीकार्य नभएको उसको इतिहासले स्पष्ट गर्छ । नेपालका हिन्दूहरू खासै अतिवादी छैनन् । नेपालमा हिन्दू र मुस्लिमबीच सहिष्णुता र सहकार्य देखिन्छ । इराकमा १२ जना नेपालीलाई आतंकवादीले मारेको निहुँमा रत्नपार्कको जामे मस्जिदबाट कुरहान झिकेर जलाइदासमेत नेपालका मुस्लिम समुदायले धैर्य धारण गरेर एकता र मेलमिलापमै जोड दिएका थिए । अतः नेपालमा स्थापित भइसकेको धर्मनिरपेक्षतालाई खलबल्याएर अर्को अस्थिरता र मुठभेड निम्त्याउने एजेण्डातर्फ कांग्रेसजस्तो उदारवादी लोकतान्त्रिक दल पक्कै नजाला ।

यस हिसाबले पनि नेपाली कांग्रेस र भाजपाबीच पार्टीगत सम्बन्धको कुनै वैचारिक र दार्शनिक आधार देखिँदैन । भारतमा करिब ८० प्रतिशत जनसंख्या हिन्दू, करिब १५ प्रतिशत मुसलमान र बाँकी अन्य धर्मका मानिस बसोबास गर्ने अनुमान छ । हिन्दू बहुल भए पनि भारतमा करिब १८ करोड मुसलमान बसोबास गर्ने आकडा छ । बहुसंख्यक हिन्दूहरूको मत आकर्षित गर्न भारतीय जनता पार्टीले ‘मुसलमानविरोधी आवेग’मा आधारित राजनीति गर्र्दै आएको कसैबाट छिपेको छैन ।

नेपालमा हिन्दू र मुस्लिमबीच सहिष्णुता र सहकार्य देखिन्छ । इराकमा १२ जना नेपालीलाई आतंकवादीले मारेको निहुँमा रत्नपार्कको जामे मस्जिदबाट कुरहान झिकेर जलाइदासमेत नेपालका मुस्लिम समुदायले धैर्य धारण गरेर एकता र मेलमिलापमै जोड दिएका थिए

हिन्दू अतिवादी संगठन राष्ट्रिय स्वयं सेवक संघको जगमा निर्मित भाजपाको राजनीतिक वर्चस्वको आधार नै हिन्दू अतिवाद हो । हिन्दू–मुस्लिम दंगा जति भड्कियो, उति भाजपालाई फाइदा पुगेको इतिहास छ । सन् १९५० देखि १९९० को दशकसम्म करिब १० हजार मानिस हिन्दू अतिवादको शिकार भएर मारिनुपरेको रेकर्ड छ ।

हालका प्रधानमन्त्री मोदी बारम्बार मुख्यमन्त्री रहेको गुजरातमा सन् २००२ मा सयौंको ज्यान जाने गरी भएको हिन्दू मुस्लिम दंगालाई भड्काएको आरोप मोदीमाथि लाग्दै आएको छ । भारतमा मुसलमानलाई जबरजस्ती हिन्दू बनाउने, गाईको मासु खाएको आरोपमा उनीहरूको हत्या गर्ने क्रम जारी छ । सन् २०१५ सेप्टेम्बरमा मोहम्मद अखलक र उनका छोरालाई घरमा गाईको मासु राखेको आरोपमा हिन्दू अतिवादीहरूले कुटीकुटी मारेका थिए । गुजरात, मुम्बई, हैदरावादजस्ता दक्षिणी शहर र उत्तरका प्रायः सबै राज्यमा मुसलमानमाथिको दमन जारी छ ।

परिशुद्ध लोकतन्त्रको अभ्यासका लागि धार्मिक अतिवादी दलहरू घातक हुने गर्छन् । नेपाली कांग्रेस एक उदारवादी दल हो, जसले कुनै पनि खालको अतिवादको विरोध गर्दै आएको छ । धर्मलाई महत्त्व नदिने कम्युनिस्टहरूलाई समेत अतिवादी भनेर आलोचना गर्ने कांग्रेसले कुन दार्शनिक र वैचारिक आधारमा भाजापसँग पार्टीगत सम्बन्ध राखेको हो ? अस्पष्ट छ ।

कुनै दल या चलचित्र निर्माताले समाजका विभिन्न धर्म र जातिहरूबीच मिलाप, एकता र सद्भावको वातावरण बनाउने सिर्जना गर्नुपर्नेमा इतिहासको घाउ कोट्याएर समाजलाई जातीय र धार्मिक रूपमा विभाजित गर्ने काम भइरहेको छ

राज्य र सरकारको सम्बन्ध हुनुपर्छ, यो बेग्लै कुरा हो । नेपालमा राजा ज्ञानेन्द्रको शाही शासन हुँदा पनि नेपाल र भारतका सरकारबीच सम्बन्ध कायम थियो । राज्य र सरकारको सम्बन्धमा कुनै वैचारिक दर्शन र विचारले अर्थ राख्दैन । तर पार्टीगत सम्बन्धको आधार भनेको चाहिँ विचार र दर्शन नै हो ।

चिनियाँ या उत्तर कोरियाली कम्युनिस्ट पार्टीसँग नेपालका कम्युनिस्टहरूको पनि भाइचारा साम्बन्ध छ । नेपालका कम्युनिस्ट पार्टीको महाधिवेशनमा भारतीय र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई बोलाउने गरिएको छ । यसैगरी नेपाली कांग्रेसले पनि विगतमा आफ्नो पार्टीको महाधिवेशनमा भारतीय कांग्रेस र समाजवादी पार्टीहरूलाई बोलाउने गथ्र्यो ।

इतिहास केलाउने हो भने नेपाली कांग्रेसको भाइचारा सम्बन्ध भारतको समाजवादी पार्टीसँग थियो । भारतको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसका
नेता बीपी कोइराला पनि तरुणकालमै लागेका थिए । उनी त्यहाँ पढ्न बस्दा पक्राउ परे र भारतका समाजवादी नेताहरू जय प्रकाश नारायण र डा. राममनोहर लोहियासँगै पटनाको हजारी बाग जेलमा बसेका थिए ।

करिब डेढ अर्ब भारतीयलाई चर्को तनावमा धकेलेर मोदीले एक साँझ भनिदिए, ‘अहिले तपाईंको गोजीमा भएको हजारको नोट भोलिदेखि चल्नेछैन

लोहिया र जय प्रकाश नारायणसँगको संगतका कारण बीपी कोइरालामा समाजवादको चस्का पसेको थियो । बीपी अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका पनि हिस्सा बनेका थिए र भारतका समाजवादी मात्र होइन, जर्मनका समाजवादी नेता बिली ब्रान्टुसँगसमेत उनको घनिष्ठता थियो ।

लोहिया र जयप्रकाश नारायणसँग बीपीको निकटता भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले रुचाएका थिएनन् । समाजवादी नेताहरूले नेहरू र पछि इन्दिरा गान्धीकै विरुद्ध आन्दोलन चलाएका थिए । यसैकारण बीपीलाई नेहरूले नेपालको राजनीतिमा पनि अघि बढन नदिएको इतिहास छ । बीपीको साटो मातृका कोइरालालाई प्रधानमन्त्री बनाउनेदेखि ०१७ सालको काण्ड रुचाउनसमेत नेहरूको भूमिका थियो ।

भारतका राजनीतिक पार्टीहरूमा कालान्तरमा भारतको जनता दलसँग नेपाली कांग्रेसको निकटता बढेको हो । सो पार्टीका नेता चन्द्रशखेर ०४६ सालको जनआन्दोलनअघि कांग्रेसका सर्वोच्च नेता गणेशमानको काठमाडौं, चाक्सीबारीस्थित निवासमै आएर भाषण गरेका थिए । भारतको जनता दल र समाजवादी दलहरूसँग बाहेक नेपाली कांग्रेसको खासै सम्बन्ध अन्य दलहरूसँग इतिहासदेखि थिएन ।

जब इन्दिरा गान्धीले रुससँग रणनीतिक साझेदारी गरिन् र भारतको संविधानमै ‘समाजवाद’ लेखाइन्, त्यसपछि भने भारतीय कांग्रेस पनि समाजवादी भएका आधारमा नेपाली कांग्रेसको निकटता बढेको हो । तर इन्दिराको ‘समाजवाद’को फण्डा भनेको रुससँग मिलेर बंगलादेश टुक्र्याउने र सिक्किम भारतमा गाभ्ने रणनीतिक चालबाहेक अरू केही थिएन ।

भारतीय कांग्रेस दार्शनिक रूपमा भाजपाभन्दा धेरै हदसम्म ‘लिवरल’ पार्टी हो । बहुसंख्यक हिन्दू भए पनि भारतमा धर्मनिरपेक्षताको वकालत गरेर उभिएको कांग्रेसले त्यहाँका अन्य धर्म र जातिको अस्तित्त्व रक्षा गर्दै आएको छ । तर भाजपाचाहिँ धार्मिक अतिवादी र अनुदार दार्शनिक आधारमा उभिएको पार्टी हो ।

भाजपाको अनुदार र एक हिसाबको ‘डिक्टेटर’ पारा त नरेन्द्र मोदीको शासनमा देखिएकै हो । करिब डेढ अर्ब भारतीयलाई चर्को तनावमा धकेलेर मोदीले एक साँझ भनिदिए, ‘अहिले तपाईंको गोजीमा भएको हजारको नोट भोलिदेखि चल्नेछैन ।’

हिन्दू अतिवादी संवेदना जगाउने, हिन्दू र मुस्लिमबीच दरार खडा गर्ने र सोही आवेगमा हिन्दूहरूको मत हासिल गर्ने । भाजपाको राजनीतिक शैली कुनै लोकतान्त्रिक चिन्तनको जगमा छैन । हालै प्रदर्शित विवेक अग्निहोत्रीको चलचित्र ‘कस्मिर फाइल्स’लाई प्रधानमन्त्री मोदीदेखि भाजपाका अनेक नेताले प्रमोट गर्नुको कारण के हो भने यो चलचित्रले मुसलमानहरूलाई क्रूर, आतंकवादी र हिन्दूहरूप्रति असहिष्णु चित्रण गर्छ । यसले मुसलमानहरूप्रति हिन्दूहरूमा आक्रोश भड्काउँछ ।

कुनै दल या चलचित्र निर्माताले समाजका विभिन्न धर्म र जातिहरूबीच मिलाप, एकता र सद्भावको वातावरण बनाउने सिर्जना गर्नुपर्नेमा इतिहासको घाउ कोट्याएर समाजलाई जातीय र धार्मिक रूपमा विभाजित गर्ने काम भइरहेको छ । र, यसलाई भाजपाले उक्साइरहेको छ । यसबाट स्पष्ट छ, सन् २०२४ को निर्वाचनमा पनि भाजपाले हिन्दू अतिवादी संवेदना भजाएरै पुनः सत्तारोहणको सपना देखिरहेको छ ।

यस्तो अतिवादी दलसँग नेपाली कांग्रेसजस्तो आफूलाई समाजवादी र उदारवादी बताउने दलको पार्टीगत सम्बन्ध कसरी हुन्छ ?