ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत
नयाँदिल्ली । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच यहाँस्थित हैदरावाद हाउसमा भएको वार्तापछि अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग, पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
आजै दुवै देशका प्रधानमन्त्रीले कुर्था–जयनगर यात्रुवाहक रेल सेवालाई झन्डा देखाएर शुभारम्भ गर्नुभयो भने नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रुपमा सार्वजनिक गरे । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गरे । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा र भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएको हो ।
समझदारीपत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका विविध पक्षमा फलदायी छलफल भएको बताए । उनले भारतसँग नेपालको सम्बन्ध अति महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको प्रगतिको प्रशंसा गरे ।
कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले गरेको प्रभावकारी व्यवस्थापनको सराहना गर्दै प्रधानमन्त्री देउवाले महामारीविरुद्धको नेपालको लडाइँमा भारतबाट पहिलो खोप सहायताका साथै औषधि, चिकित्सा उपकरण उपलब्ध गराएकामा भारतप्रति हार्दिक आभार व्यक्त गरे । साथै उनले आजदेखि प्रचलनमा आएको रुपेबाट नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्याय थपिएको बताए । -रासस
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया