NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एमालेले ह्याट्रिक गरेको हेटौंडामा ५ वर्षमा के भयो ? के भएन ?

काठमाडाैं । हेटौँडा उपमहानगरपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका हरिबोल भनिने हरिबहादुर महत मेयरमा विजयी भएका थिए । उपमेयरमा पनि एमालेकै मीना लामा विजयी भइन् । हेटौँडा एमालेको गढ मानिन्छ ।

यहाँ ०४९, ०५४ र ०७४ मा लगातार चुनाव जितेर एमालेले ह्याट्रिक गरेको थियो । ०४९ र ०५४ मा डोरमणि पौडेल मेयर बन्दा हरिबोल महत दुवैपटक उपमेयर बनेका थिए । ०७४ मा उनी नै मेयर बने । पञ्चायत कालको नगर पञ्चायत चुनावमा वडाध्यक्षसमेत जितेका उनी आफूलाई राजनीतिकर्मीभन्दा पनि समाजसेवी भन्न रुचाउँछन् । तर, लगातार चुनाव जितेर एमालेको किल्ला जोगाउन सफल भएका मेयर महतको पछिल्लो पाँचवर्षे कार्यकाल भने सोचेजस्तो सफल हुन सकेन । उनले चुनावका बेला गरेका धेरै प्रतिबद्धता पूरा गर्न सकेनन् ।

प्रतिबद्धता कागजमै सीमित

०७४ को स्थानीय तह निर्वाचनका लागि एमालेले हेटौँडाका विभिन्न क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र तयार पारेको थियो । त्यसैका आधारमा हेटौँडा उपमहानगरपालिकामा मतदाताले उसलाई भोट दिए । मेयर महतको घोषणापत्रअनुसार काम भएको भए हेटौँडामा कायापलट हुने थियो । तर, पाँचवर्षे कार्यकालको अन्त्यसम्म आइपुग्दा पनि घोषणापत्रअनुसारका काम हुन सकेनन् । हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिँदा महतले बजार क्षेत्रमा सीसीटीभी जडान गर्ने, नगरमा चक्रपथ निर्माण गर्ने, सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने प्रतिबद्धता गरेका थिए ।

यति मात्रै होइन, प्रतिबद्धताको चाङ नै थियो । सभागृह निर्माण, कृषि प्रयोगशाला स्थापना, सिँचाइ प्रणालीमा सुधार गर्दै डिप बोरिङ, लिफ्ट प्रणालीको विकास, नियमित पशु स्वास्थ्य शिविर, कृषि प्रदर्शनी, कृषि बजारीकरण तथा भण्डारणको व्यवस्था, पशु तथा बाली बिमा, रासायनिक मलको उचित व्यवस्थापन, कृषिउपज थोक बजार निर्माण पनि चुनावी नारा थिए । रोजगारीको अवसर सिर्जना गर्ने, आर्थिक समृद्धि, बृहत् योजना कार्यान्वयनजस्ता चुनावी नारा अधिकांश कागजमै सीमित बनेका छन् । रोजगारीको अवसर निर्माणतर्फ पनि मेयर महतको प्राथमिकता देखिएन । सम्मान र श्रमिकमैत्री नगर स्थापना, श्रमजीवी वर्गको प्रतिनिधित्व र पहुँचमा विस्तारजस्ता योजना घोषणापत्रमा मात्र अटाए । हरियालीसहितको फराकिलो सडक बनाउने प्रतिबद्धता पनि पूरा भएन ।

हेटौँडालाई डिजिटल बनाउँदै स्मार्ट सिटीका रूपमा विकास गर्ने, विश्वको इ–गभर्नेन्स, इ–कमर्स, इ–मेडिसिन, इ–टुरिजम, इ–एग्रिकल्चर कार्यक्रम पनि अलपत्र परे । एकीकृत अटो भिलेज स्थापना, बजार क्षेत्रको पार्किङ व्यवस्थापनका लागि ट्राफिक लाइटको प्रयोगसहित अन्य काम गर्ने प्रतिबद्धता पनि व्यवहारमा आउन सकेन ।

विकासका नाममा केही भित्री सडकमा स्ल्याब ढलान भएका छन्, तर सेवा प्रवाह, ठूला योजना, रोजगारीको अवस्था र जनताले स्वास्थ्य सुरक्षाको अनुभूति हुने गरी काम हुन सकेन ।

सुरु भएर पूरा नभएका काम

हेटौँडा उपमहानगरमा लामो समयदेखि २५ मिटर सडक विस्तारको विषय पेचिलो बन्दै गएको छ । मुआब्जा नदिई घर भत्काउन नदिने घरधनीहरूको अडान र सडक विस्तार गरेर फराकिलो बनाउनुपर्ने मागका बीच चर्को विवाद हुँदै आएको छ । यसै विषयलाई समेत घोषणापत्रमा उल्लेख गरेर चुनाव जितेका उपमहानगरका मेयर, उपमेयरले पाँच वर्षसम्म पनि यसलाई पूरा गर्न सकेनन् । आफ्नै पार्टीको संघ र प्रदेशमा सरकार हुँदा पनि हेटौँडा बजार क्षेत्रको सडक विस्तार गरेर आठ लेन बनाउन ध्यान नदिएको महतको गुनासो छ । चुनाव जितेदेखि नै साँघुरो भएको हेटौँडालाई पैदल यात्रु मज्जाले हिँड्न पाउने गरी व्यवस्थापन गर्ने उनको प्रतिबद्धता थियो । प्रदेश राजधानी भएपछि झन् भीडभाड र कोलाहल बढेको भन्दै अब सडक चौडा नपारे बस्नै नसकिने अवस्था आउने र दुर्घटना बढ्ने महतले बताउने गरेका थिए । तर, उनले काम गर्न भने सकेनन् ।

बागमती प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल तथा हेटौँडाका ठूला उद्योगी व्यवसायीको घरसमेत सडकको २५ मिटर क्षेत्रमा पर्ने भएकाले सडक विस्तार अभियानमा सरकार नै अनिच्छुक भएको आरोप लाग्ने गरेको छ ।

कर्रा करिडोर, चक्रपथ, सभाहल, पार्किङ तथा ट्राफिक व्यवस्थापन, बहुउद्देश्यीय व्यापारिक भवन, बसपार्कको टर्मिनल भवन निर्माणलगायत योजना हालै सुरु भएका छन् । उनको कार्यकालमा ती योजना सम्पन्न हुनै पर्ने थियो । तर, समयमै काम सुरु नगरी ती योजना मेयर महतको कार्यकालको अन्तिम समयमा शिलान्यास गरिएको छ ।

सडक स्तरोन्नतिमा सन्तोषजनक काम

पाँच वर्षमा हेटौँडालाई हरित सहरका रूपमा विकास गरिएको छ । हेटौँडा बजारका विभिन्न स्थानमा वृक्षरोपणलाई प्राथमिकता दिइएको छ । उपमहानगरमा सरसफाइ पनि राम्रो छ । त्यस्तैगरी, सडक पूर्वाधार निर्माणको क्षेत्रमा उपमहानगरले केही सन्तोष मान्न सकिने काम गरेको छ । उपमहानगर क्षेत्रमा एक सय २८ किलोमिटर कच्ची सडक स्तरोन्नति तथा स्ल्याब ढलान गरिएको छ । एक हजार ४८ स्थानका सडक स्तरोन्नति गर्दै स्ल्याब ढलान गरिएको हो । उक्त कामका लागि उपमहानगरपालिकाले एक अर्ब २२ करोड ५७ लाख खर्च गरेको छ ।
यसैगरी, उपमहानगरका १९ वटै वडाका सडकमा कालोपत्रे गरिएको छ । त्यसका लागि तीन करोड १६ लाख ३६ हजार रुपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ । त्यस्तै, योजना महाशाखाका अनुसार नगर क्षेत्रका ९९ स्थानका झन्डै ८५ किलोमिटर सडक मर्मत भएका छन् ।

नगरका बासिन्दाको नजरमा जनप्रतिनिधि

हेटौँडा उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि ठूला परिवर्तन नभए पनि काममा केही सहज भएको नागरिकको बुझाइ छ । तर, चुनावी प्रतिबद्धताअनुसार काम नभएकोमा भने हेटौँडाका बसिन्दा असन्तुष्ट छन् ।

वडा नम्बर ७ का सुमन लामाले दलहरूको घोषणापत्र भनेको केवल चुनाव जित्नका लागि मात्र भएको टिप्पणी गरे । उनले भने, ‘चुनावी घोषणापत्र सबै पार्टीका राम्रा हुने रहेछन्, तर चुनाव जितेपछि प्रतिबद्धता बिर्सने रहेछन् ।’

स्थानीय रविन पोख्रेलले भने नगरका जनप्रतिनिधिले चुनावी घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरू पूरा नगरे पनि गाउँघरबाटै सामान्य नागरिकले पाउनुपर्ने सुविधामा भने ध्यान दिएको बताए ।

मेयर–उपमेयर सम्बन्ध

हेटौँडा उपमहानगरपालिकामा मेयर–उपमेयर दुवै एमालेबाट विजयी भएका थिए । तर, पछि पार्टी विभाजनमा उपमेयर मीना लामाले एकीकृत समाजवादी रोजेपछि दुईजना फरक–फरक पार्टीका भएका छन् । फरक पार्टीको भए पनि दुईजनाबीचको सम्बन्ध सामान्य नै छ । हालसम्म दुईजनाबीचको विवादका कारण काम प्रभावित भएको खबर बाहिर आएको छैन ।

पूर्वाधार प्राथमिकतामा

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडाको वार्षिक बजेट करिब दुई अर्ब हाराहारीमा छ । बजेट प्राथमिकतामा भौतिक पूर्वाधारलाई राखिएको थियो । चालू आर्थिक वर्षमा पूर्वाधार विकासतर्फ ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । त्यसमा पनि सडकलाई विशेष प्राथमिकता दिइएको छ । उपमहानगरले कच्ची सडक मुक्त नगर बनाउने लक्ष्य लिएको थियो ।
शिक्षा र स्वास्थ्यमा समेत कमजोर रहेको उपमहानगरको बजेट सडककेन्द्रित बन्ने गरेको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सडक मर्मत कार्यले तीव्रता पाएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब पाँच–पाँच प्रतिशत मात्रै विनियोजन गर्ने गरिएको छ ।

सोचेअनुसार काम नभए पनि सन्तुष्ट छु : महत

हेटौँडा उपमहानगरका मेयर–उपमेयरले पाँचवर्षे कार्यकाल पूरा हुनै लाग्दा आफ्नो कामप्रति सन्तुष्ट रहेको बताएका छन् । मेयर हरिबहादुर महतले विभिन्न प्रक्रियाले गर्दा आफ्नो स्पिरिटमा काम गर्न नपाएको दाबी गरे । अन्य स्थानीय तहको तुलनामा आफूले काम गर्न सकेकोमा सन्तुष्ट रहेको उनको भनाइ छ ।

आफ्नो नेतृत्वमा उपमहानगरमा पूर्वाधार, खेल क्षेत्र तथा अस्पतालमा डायलाइसिस सेवालगायत विभिन्न कार्यको सुरुवात गर्न सकेकोमा सन्तुष्टि मिलेको उनले बताए ।

उपमेयर मीना लामा पनि पाँच वर्ष सिकाइका रूपमा रहेको भन्दै आफ्नो कामबाट सन्तुष्ट रहेको बताउँछिन् । ‘सोचेका केही काम पूरा गर्न सकिएन, तैपनि सन्तुष्ट नै छौँ ।’

विपक्षीको प्रतिक्रिया

विपक्षी दलका नेताले उपमहानगरले पाँच वर्षको उपलब्धि खेर फालेको टिप्पणी गरेका छन् । ०७४ सालको निर्वाचनमा हेटौँडा उपमहानगरको मेयरका उम्मेदवार रहेका कांग्रेसका नेता आनन्दराम पराजुलीले पाँच वर्षमा उपमहानगरमा ठोस विकास हुन नसकेको बताए ।

‘केही ठाउँमा सडक निर्माण गरेर मात्रै विकास हुन्न,’ पराजुलीले भने, ‘उपमहानगरले सामान्य काम देखाएर पूरै काम गरेजसरी जस लिन खोजेको छ, मुख्य समस्या समाधानमा वर्तमान नेतृत्व चुकेको छ ।’ पराजुलीले उपमहानगरको शिक्षा, स्वास्थ्य र रोजगारीजस्तो क्षेत्रमा काम नभएको टिप्पणी गरे ।

भूगोलमा उपमहानगर

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो । यो नगर भौगोलिक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने) को पूर्वी छेउ चुरे पहाडी शृंखलासँग जोडएको छ । मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायातको केन्द्र रहेको यो नगर पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथको मिलन बिन्दुका रूपमा पनि अवस्थित छ ।