NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कर्णालीमा मिनीबस खस्यो, सहचालक बेपत्ता

मान्म । कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो ।

नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

आज दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।

“हाम्रोमा भएको इन्ट्रीअनुसार बसमा तीन जना मात्र देखिएको छ, त्यसमध्ये एक जना बेपत्ता हुनुहुन्छ ।’’ उनले भने, “चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ ।’’

उनका अनुसार चालक कृष्णबहादुर शाही छन् । यात्रु महिला कालीकोटको पचाल झरना गाउँपालिका–८ की सलानी कार्की हुन् । बेपत्ता सहचालकको पहिचान खुलेको छैन ।