NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पश्चिमी मुलुकले हाइपरसोनिक मिसाइल विकास गर्ने

वाशिंटन । अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग सुरु गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सेप्टेम्बर २०२१ मा अयुकुस भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले सहयोगका नयाँ घोषणा गरिएका क्षेत्रहरूले ‘साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजीहरू, र अतिरिक्त समुद्रमुनि क्षमताहरूमा सहयोगलाई अझ गहिरो बनाउनका लागि हाम्रा विद्यमान प्रयासहरूलाई थप्नेछ’ विज्ञप्तिमा भनिएको छ ।

अयुकुस अन्तर्गत अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्ने वाचा गरेका छन् । फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने टिप्पणी गरेको छ ।

गठबन्धन स्थापना भएको केही समयपछि इन्डोनेसियाली विदेश मन्त्रालयले ‘यसक्षेत्रमा जारी हतियार दौड र शक्ति प्रक्षेपणको बारेमा गहिरो चिन्ता रहेको’ बताएको छ ।

यसैबीच मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबले आणविक शक्तिबाट चल्ने पनडुब्बी परियोजनाले ‘यसक्षेत्रमा थप आक्रामक कारबाही गर्न अन्य शक्तिहरूलाई उक्साउन सक्ने टिप्पणी गरेका छन् ।