NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

राजदूतमा शर्मिला पराजुली : दूधको साक्षी बिरालो

लगातार आलोचित तर सधैं पुरस्कृत

काठमाडौं । म्यानपावर व्यवसायीका रूपमा अनेक ठगीमा मुछिएकी शर्मिला पराजुली ढकाललाई सरकारले स्पेनका लागि राजदूत सिफारिस गरेपछि कूटनीतिक क्षेत्र पुनः आश्चर्यचकित भएको छ ।

यसअघि विवादकै बीच ओमानमा राजदूत नियुक्त पराजुलीलाई शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि फिर्ता बोलाइएको थियो ।

०७४ वैशाखमा पराजुलीलाई ओमानका लागि राजदूत नियुक्त गरिएको थियो । ओमानमा नेपाली दूतावास खोल्ने निर्णय भएपछि पराजुली पहिलो राजदूत बनेकी थिइन् । पहिलोपटक खुलेको राजदूतावासमा मेनपावर व्यवसायीलाई राजदूत बनाइएपछि कूटनीतिक सेवाकै उपहास भएको थियो ।
म्यानपावर व्यवसायी पराजुलीलाई ओमानमा राजदूत बनाउन सिफारिस हुँदा नै व्यापक आलोचना भएको थियो र परराष्ट्रमन्त्रीले उनको नाम राजदूतहरुको सूचीबाट काटेका थिए । तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको तीव्र दबाबपछि उनको नाम थपेर राजदूत सिफारिस गरिएको थियो ।

पराजुली एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापा चन्द्रगढीकी हुन् । ओली प्रधानमन्त्री हुँदा गच्छदारको कोटाबाट ओमानको राजदूत सिफारिस भए पनि ओली सरकार ढलेपछि उनको सिफारिस बदर भएको थियो । तर विभिन्न चलखेलमार्फत गच्छदारको पार्टी सरकारमा नहुँदा पनि राजदूतमा सिफारिस भएर उनले म्यानपावर व्यवसायीको शक्ति देखाएकी थिइन् ।

अघिल्लो सरकारका पालामा पराजुलीको नाम राजदूतका रुपमा सिफारिश हुँदा नै सांसद पदमा झैं राजदूतमा पनि आर्थिक चलखेलको आशंका गरिएको थियो । उतिबेलै विभिन्न मिडियामा ‘पैसा खाएर म्यानपावर व्यवसायीलाई भर्ना गर्न थालिएको’ भन्दै सामग्री प्रकाशित भएका थिए ।

खाडी मुलुक र ओमानमा म्यानपावर व्यवसायको डिल गर्दै आएकी पराजुलीलाई राजदूत सिफारिस गर्दा वैदेशिक रोजगार व्यवसायीसमेत छक्क परेका थिए । आफूले कामदार पठाउने देशमै उनलाई राजदूत बनाउनुका पछाडि म्यानपावर माफियाकै भूमिका रहेको स्पष्टै थियो ।

‘म्यानपावरवाली’का रूपमा परिचित पराजुली र उनका केही ढकाल बन्धु आफन्तहरूको राजनीतिक पहुँच देखिन्छ । कुनै न कुनै दलको नेतालाई विभिन्न तवरले रिझाउन माहिर पराजुलीले यसपालि स्पेनको राजदूतमा आफ्नो नाम सिफारिस गराउन सफलता पाएकी छन् ।

मलेसिया र पछि दुबईमा बसेर वैदेशिक रोजगारीको धन्दा चलाएकी पराजुली केही समययता ओमानमा धन्दा चलाइरहेकी थिइन् । यसैकारण विजय गच्छदारमार्फत उनले त्योबेला ओमानकै राजदूत बन्न साम, दाम, दण्ड, भेदको प्रयोग गरेकी थिइन् । आफ्ना केही आफन्तको एमालेसँगको सम्बन्धलाई पनि प्रयोग गरेको पाइन्छ ।

‘विवादास्पद’ पृष्ठभूमि

स्पेनका लागि अहिले सिफारिस गरिएकी पराजुली सरकारले राजदूत नियुक्तिका लागि तय गरेको मापदण्डमा समेत नपर्ने बुझिएको छ । ०७५ असारमा मन्त्री परिषदले पारीत गरेको राजदूत हुन योग्य मापदण्डमा ‘उच्च नैतिक चरित्र भएको र कालोसूचीमा नपरेको’ हुनुपर्ने उल्लेख छ । हाल सिफारिसमा परेकी पराजुलीमाथि वैदेशिक रोजगारीमा जानेहरूलाई ठगेको उजुरी परिसकेको छ ।

अघिल्लो पटक ओमानका लागि राजदूत सिफारिस प्रक्रिया सुरु हुनुअघिसम्म उनी फ्लोरिड ह्युमन रिसोर्सकी सञ्चालक थिइन् । फ्लोरिड म्यानपावरले आफूलाई ठगेको भन्दै यूएइबाट फर्किएका जनार्दन पौडेलले ०७१ वैशाख १२ मा विभागमा उजुरी दिएका थिए । छानबिनका क्रममा पराजुलीको म्यानपावरको कैफियत पुष्टि भएको थियो र ३ लाख ५० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति दिलाइएको थियो ।

पराजुली सञ्चालक रहेको फ्लोरिड म्यानपावरविरुद्ध उतिबेला विभागमा तीन दर्जनबढी उजुरी दर्ता भएका थिए । फ्लोरिडले वैदेशिक रोजगारीमा जाने युवासँग ७५ हजारदेखि ३ लाख ५० हजारससम्म ठगेको रेकर्डमा छ । फ्लोरिडले मलेसिया पठाउने बाहानामा सबैभन्दा धेरै युवालाई ठगेको पाइएको थियो । मलेसियाबाट फर्किएकाहरुले फ्लोरिडविरुद्ध एक दर्जन उजुरी दायर गरेका थिए ।

फ्लोरिडविरुद्ध विभागमा दिनेश कुमार नेपालीले १ लाख १२ हजार, यज्ञ केसीले ७६ हजार, लालु परियारले २ लाख ५० हजार, तुलसी कार्कीले ७५ हजार, हरिशरण चुवानले २ लाख ७० हजार, तिलबहादुर आलेले ३ लाख, रामकुमार महतोले १ लाख ५० हजार, देउली सुनार र कमला सम्बाहाम्फेले १ लाख ४ हजार, हेमकुमार लिम्बुले १ लाख ६५ हजार, बिमल रेग्मीले १ लाख ३० हजार, भुपाल राजले ३५ हजार, जमुना कँडेलले १ लाख २७ हजार र साइँला दनुवारले १ लाख ५० हजार ठगी गरेको दाबी गरेका थिए ।