NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आजदेखि निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि चैत ३ मा प्रकाशित गरेको निर्वाचनसम्बन्धी आचारसंहिता आयोगले शुक्रबार अपरान्ह ५ बजे औपचारिक कार्यक्रम गरेर लागू गर्दैछ ।

आचारसंहिता आजदेखि लागू हुने आयोगले जनाएको छ । ७९ राजनीतिक दलहरूले भाग लिएको स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको कामसमेत सकिएको छ ।

आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आयोगमै पुगेर आपत्ति जनाएको छ । एमालेले निर्वाचनमा भाग लिने स्थानीय पालिकाका पदाधिकारीले राजीनामा दिनुपर्नेलगायत ६ बुँदे असहमति राखेको छ ।

राजनीतिक दलहरूले आफ्ना उम्मेदवार छनोट गर्ने, जनताको घरदैलो अभियान गर्ने, आमसभा तथा कोणसभा कार्यक्रमहरू तीव्ररूपमा बढाएका छन् । साना राजनीतिक दलहरूले पावर र पहुँचका आधारमा ठूला दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्गन गरेको भन्दै आयोगका पदाधिकारीसँग गुनासो पोखेका छन् ।

आचारसंहिता लागू भएपछि उम्मेदवारको मानोनयन दर्तादेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म के–के गर्न पाइन्छ, के–के गर्न पाइदैन भन्नेबारे आयोगले स्पष्ट पारेको छ ।

के–के गर्न पाइने ?

–उम्मेदवारको कार्यलयमा ३×३ फिटको दलको झण्डा र त्यति नै आकारको चुनाव चिन्ह अंकित तुल राख्न पाइने ।
–निर्वाचन अधिकृतको स्वीकृति लिइ चारपाङ्ग्रो, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन नपुग्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाउने ।
–कुनै पदको निर्वाचन प्रचारप्रसार गर्न विद्यामान कानुन बामोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको संख्या र प्रकारका सवारी साधन प्रयोग गर्न पाउने ।
–राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाइ उसले मात्र हेलिकोप्टर प्रयोग गर्नसक्ने ।
–राजनीतिक दलले निजी क्षेत्रबाट सञ्चालन भएको टिभी, रेडियो वा एफएमबाट बढीमा एक घण्टाको अन्तरालमा एक मिनेट गर्न पाउने । त्यो पनि २४ घण्टामा बढीमा चारपटक प्रसारण गर्न सकिने छ ।
–राजनीतिक दलले निजी क्षेत्रबाट प्रकाशित भएको पत्रपत्रिकाबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन ७×७ इन्चसम्मको प्रचार सामग्री छपाउन सक्ने ।
–उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट जिम्मेवार पदाधिकारी तोकी बैंक तथा वित्तीय संस्थामार्फत गर्न पाउने,
–२५ हजारभन्दा कम रकम खर्च गर्नु परेमा त्यो वित्तीय तथा बैंकिङ संस्थामार्फत गर्नु नपर्ने ।

के–के गर्न नपाइने ?

–सार्वजनिक निकाय वा परियोजनाको स्रोत–साधन, सम्पत्ति कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष÷विपक्षमा प्रयोग गर्न नपाइने,
–कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयमा निर्वाचनसम्बन्धी भेला, प्रचारप्रसार गर्न वा गराउन नहुने,
–राजनीतिक दल वा उम्मेदवारको चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, गम्छा, स्टिगर, पेन, झोला, लोगोलगायत समाग्री प्रचारप्रसार गर्न पाइने छैन ।
–घरजग्गा धनीको स्वीकृत नलिइ पम्प्लेट, ब्यानर, तुल वा पार्टी र चुनाव चिन्हको झण्डा राख्न पाइँने छैन ।
–१८ वर्ष पूरा नभएका नागरिकलाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न पाइने छैन ।
–सार्वजनिक आगमनमा अवरोध हुनेगरी जुलुस, आमसभा, कोणसभा, भेला बैठक गर्न पाइने छैन ।
–सामाजिक सञ्जालमा अरुको चरित्र हत्या गर्ने, गालिगलौज, भ्रामक समाचार, सामाजिक सञ्जालमा स्टाटस लेख्न, लिंक शेयर गर्न पाइने छैन ।
–उम्मेदवारको मनोनयन दर्ता भएदेखि अन्तिम निर्वाचन परिणाम घोषणा नभएसम्म मतपरिणामको सम्बन्धमा कुनै किसिमको सर्वेक्षण घोषणा वा प्रकाशन गर्न पाइने छैन ।
–सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबाहेक अन्यले हातहतियार बोक्न पाइने छैन ।
–नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय पालिका र पदाधिकारीले राजनीतिक दल तथा उम्मेदवारको पक्ष÷विपक्षमा भाग लिन पाउने छैनन् ।
–वार्षिक बजेट, नीति तथा कार्यक्रम स्वीकृत गर्न, घोषणा गर्न पाइने छैन ।
–कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण तथा अध्ययन र त्यसका लागि अनुदान दिन पाइने छैन ।
–नयाँ पद सिर्जना गर्न, भत्ता बृद्धि गर्न, रिक्त पदपूर्ति गर्न पाइने छैन ।
–निर्वाचन आयोगको काममा बाहेक अन्य काममा सरुवा–बढुवा गर्न पाइने छैन ।
–मौन अवधिभर कुनै किसिमको कार्यशाला, अन्र्तक्रिया, गोष्ठी गर्न पाइने छैन ।
–आयोगको अनुमतिविना मन्त्री वा स्थानीय तहको पदाधिकारी विदेश भ्रमण गर्न नपाइने ।
–कुनै राजनीतिक दल, भ्रातृसंगठन लगायतले गरेको आमसभा, कोणसभा, भेला, बैठक विथोल्न नपाइने ।
–डिजिटल बोर्ड, ग्लुसाइन बोर्ड, फ्लेक्स बोर्ड, श्रव्य–दृष्य सामग्री प्रकाशन गर्न नपाइने ।
–अनलाइन वेब पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिसप्ले, मोबाइल वा एटिएमबाट सन्देश पठाउन नपाइने ।
–मोटरसाइकल, बयलगाडा, चार पाङ्ग्रे गाडीमार्फत प्रचारप्रसार, भित्तेलेखन गर्न नपाइने ।

आचारसंहिताबारे स्पष्ट पार्न पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग