NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बेपत्ता छोरो भएको दाबी गरेर ४० वर्ष बसे, बिहे गरे, करोडौंको जमिन बेचे

काठमाडौं । मेट्रिक परीक्षा दिन घरबाट हिँडेको छोरो बेपत्ता हुन्छ । जमिनदार बाबुले आफ्नो बर्कतले भ्याएसम्म खोजी गर्छन् । तर कतै फेला पर्दैनन् ।

एक युवकले यो घटनालाई निकै नजिकबाट नियालिरहेको हुन्छ । पाँच वर्षपछि ऊ साधुको भेष धारण गरेर छिमेकी गाउँमा आइपुग्छ र जमिनदारको छोरा भएको भ्रम छर्न सफल हुन्छ । विक्षिप्त बाबुले ती युवकलाई पुत्र स्वीकार गर्छन् तर आमा तयार हुँदिनन् ।

सबै कुरा मानिसले चाहेजस्तो हुँदैन । कतिपय कुरामा समाजका लागि सम्झौता गरिदिनुपर्छ । कन्हैयाको आमा पनि यस्तै धर्मसंकटमा पर्छिन् र मौन बस्छिन् ।

जमिनदारको पुत्र दाबी गर्ने युवक एक, दुई वर्ष होइन, लगातार ४० वर्षसम्म त्यो घरमा छोरो बनेर बस्छ । बिहे गर्छ । जग्गाको मुआब्जा मात्र होइन, ६ बिघा जग्गा बिक्री गरेर करोडौं रूपैयाँ हत्याउनसमेत सफल हुन्छ ।

झट्ट सुन्दा जो कोहीलाई लाग्न सक्छ, यो कुनै चलचित्रको पटकथा हो । तर होइन । यो त नेपालको छिमेकी देश भारतको बिहारमा घटित यथार्थ घटना हो । वर्षौंपछि सार्वजनिक यो घटनाले मानिसहरूलाई हैरान पारेको छ ।

चतुर दयानन्दले यहीबीचमा घरजम गरे । पाइपलाइनमा बिछ्याएबापतको मुआब्जा हत्याए । यतिले पनि नपुगेर ६ बिघा जमिन बिक्री गरे र करोडौं रूपैयाँ कुम्ल्याए ।


घटना के हो ?

कथा सन् १९७७ मा नालंदा जिल्लाको सिलाव थाना क्षेत्रको मोर गाउँबाट सुरु हुन्छ । यो गाउँमा कुनैबेला कामेश्वर सिंह गिनेचुनेका जमिनदार थिए । अहिले उनी यो संसारमा छैनन् । उनको स्वामित्वमा १५० बिघा त जमिन नै थियो ।

उल्लासपूर्वक अघि बढेको उनको जीवनमा त्यतिबेला दुःखको मोड आइपुग्यो, जब एक्ला छोरा कन्हैया सिंह सन् १९७७ मा मैट्रिक परीक्षा दिन घरबाट निस्किएकोमा फर्किएर आएनन् । बेपत्तापुत्रको खोजीका लागि उनले के गरेनन् ? प्रहरी गुहारे । आफैं सक्रिय भएर सम्भावित सबैजसो ठाउँ पुगे । तर कतै पनि कन्हैयाको सुराक भेटिएन ।

यततत्र सर्वत्र खोजी गर्दा पनि पुत्रको अत्तोपत्तो नलागेपछि कामेश्वर थाकिसकेका थिए । सन् १९८१ को कुरा हो, साधुको भेषमा कन्हैया छिमेकी केशोपुरमा भेटिएको खबर चैतमासको डढेलोजसरी गाउँभर फैलियो । बेपत्ता पुत्रको खोजीमा भौतारिएर थाकिसकेका कामेश्वर उत्साहित नहुने कुरै थिएन ।

साधु भेषधारी युवकलाई उनले छोरा ठानेर घरमा ल्याए । तर उनकी श्रीमती छोरा स्वीकार गर्न तयार भइनन् । पुत्र स्वीकार गर्न नचाहनुका उनका केही तर्क थिए । जसमा ती युवकको टाउकोमा निशानी नरहेकोलगायत थिए । तर उनीमाथि ती युवकलाई छोरो स्वीकार गर्न गाउँलेको चर्को दबाब रहिरह्यो । अस्वीकार गर्नुको जायज तर्क पेश गरे पनि कसैले सुनेनन् । एकोहोरो दबाब मात्र दिइरहे ।

ती युवक वास्तवमा कन्हैया नभएर दयानन्द गोसाईं थिए । तर चतुर उनी आफू्लाई जमिनदारको एक्लो पुत्र कन्हैया दाबी गरेर घरमा बस्न थाले । तर आमा रामसखी देवीले कहिल्यै ऊ कन्हैया हो भनेर स्वीकार गरिनन् । सधैं अविश्वास गरिरहिन् ।

चतुर दयानन्दले यहीबीचमा घरजम गरे । पाइपलाइन बिछ्याएबापतको मुआब्जा हत्याए । यतिले पनि नपुगेर ६ बिघा जमिन बिक्री गरे र करोडौं रूपैयाँ कुम्ल्याए ।

अन्ततः नोभेम्बर १९८१ मा कन्हैयाकी आमाको धैर्यताको बाँध फुट्यो र उनले दयानन्दविरुद्ध सिलाव थानामा मुद्दा दर्ता गरिन् । नोभेम्बर १९९१ मा पट्ना जिल्ला न्यायालयमा टाइटल मुद्दा चलेको थियो । विडम्वना, मुद्दाको अन्तिम किनारा नलाग्दै यी जोडी संसारबाट अस्ताए ।

उनीहरूका एक छोरी पनि थिइन् । नाम विद्या । बाबु आमा दुवैको मृत्युपछि कन्हैयाकी बहिनी विद्याको काँधमा कानूनी लडाइँ लड्नुपर्ने अभिभारा आइपुग्यो ।

सञ्चारमाध्यमले यो अनौठो घटनाबारे जानकारी लिन विद्यासँग भेटको प्रयास गरेका थिए । तर उनी सम्पर्कमा आउन चाहेकी छैनन् ।

यद्यपि, उनका वकिल राजेश कुमारले भने यी सबै हत्कण्डा श्री सम्पत्ति हडप्नका लागि भएको बताएका छन् ।

राजेश कुमारले बिबिसी हिन्दीलाई भनेका छन्, ‘कामेश्वर सिंहको घरमा करिब चार दशक बस्ने क्रममा दयानन्दले करिब ६ बिगा जमिन बेचे । पाइपलाइनमा बिछ्याएका मुआब्जा हत्याए । घरजम गरे ।’

कन्हैयाकी आमाले बयानका क्रममा अदालतमा भनेकी थिइन्, ‘ कन्हैयाको टाउकोमा चोटको निशाानी थियो, जुन दयानन्दको टाउकोमा छैन । साथै उनी डीएनए टेस्टको लागि पनि तयार भएनन् ।’

नक्कली निस्कियो प्रमाणपत्र

जमुई जिल्लाको सोही गाउँका एक व्यक्तिले अदालतमा आफू प्रभु गोसाईंको तेस्रो छोरा भएको अदालतमा बताए । यस घटनामा सबैभन्दा चकित पार्ने तथ्य दयानन्द गोसाईंले अदालतमा पेश गरेको मृत्युको प्रमाणपत्र थियो ।

प्रमाणपत्रमा दयानन्द गोसाईंको मृत्यु सन् १९८१ मै भइसकेको उल्लेख थियो । तर त्यो प्रमाणपत्रचाहिँ सन् २०१४ मा जारी गरिएको थियो । अदालतले त्यसको वैधानिकता जाँच गर्न निर्देशन दियो । छानबिनका क्रममा त्यो नक्कली प्रमाणित भयो ।

जिल्ला अदालतबाट सुरु यो मुद्दा पटना उच्च न्यायालय हुँदै सर्वोच्चमा आएर सुनुवाइ भयो ।

बहस सुनेपछि नालन्दा जिल्ला अदालतले दयानन्द गोसाईंलाई झुटो ठहर गर्दै तीन वर्षको जेल सजाय र जरिवान सुनाएको थियो । नालन्दा जिल्लाका पदाधिकारी राजेश कुमार पाठक भन्छन्, ‘सन् २०१४ देखि पीडित पक्षबाट डिएनए परीक्षणको माग आएको थियो, जसमा २०२२ मा अदालतले लिखित निवेदन दिइए पनि परीक्षण गराउन अस्वीकार गरिएको थियो ।’

कामेश्वरकी छोरी विद्यादेवीले अदालतको फैसाला आएपछि भनिन्, ‘फैसलामा जो खुसी हुने थिए, उनीहरु यस संसारमा छैनन् । आमाले यो घटनाको पर्दाफास होस् भन्ने कामना गर्नुभएको थियो । हामीले सत्यतथ्य बाहिर ल्याउने प्रयास ग¥यौं र नतिजा सबैका अगाडि छ । हामीलाई बाबुआमाको सम्पत्तिमा कुनै प्रकारको लोभ छैन ।’

अदालतको फैसालापछि दयानन्द गोसाईंले स्थानीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै ‘यी सबै काम बहिनीले सम्पत्तिका लागि गरेकी हो ।’ (बिबिसी हिन्दीबाट अनुदित)