NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आफ्नै वडामा हारेका लिङ्देनको गाउँपालिकामा के छ राप्रपाको अवस्था ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ०७४ मा भएको संघीय संसदको चुनावमा झापा क्षेत्र नम्बर–३ बाट पूर्वगृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतले पराजित गरेर चर्चामा आएका थिए ।

लिङ्देनले ४४ हजार ६१४ मत ल्याइ संघीय सांसदमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । यी दुई उम्मेदवारबीचको मतान्तरण १३ हजार ४४३ रहेको छ । राप्रपाले पाएको मतपरिणाम एक्लैको होइन ।

संघीय चुनावमा देशभर एमाले–माओवादी केन्द्रबीच वामपन्थी मोर्चा बनेको थियो । तर झापामा भने एमाले अध्यक्ष केपी ओलीले राप्रपासँग समेत तालमेल गरेका थिए । कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका थिए । राप्रपाका दुई पटक केन्द्रीय महामन्त्री भएका थिए । गत मंसिरमा भएको महाधिवेशबाट कमल थापालाई पराजित गरेपछि उनको राजनीतिक उचाइ ह्वात्तै बढेको छ ।

आफूलाई मनमा लागेको कुरा जनतामाझ स्पष्ट बोल्ने र विरोधीमाथि ठट्यौली पाराले तीखो प्रहार गर्ने स्वभावका लिङ्देनको छविका कारण यसपटक राप्रपाको देशभर समानुपातिक मत बढ्ने अनुमान गरिएको छ ।

०७४ मा प्रमुख/उप्रमुखमा उम्मेदवारले पाएको मतपरिणाम

उनकै गृहनगर हल्दीबारी नगरपालिका प्रमुखमा राप्रपाका उम्मेदवार रवीन्द्रप्रसाद लिङ्देन निर्वाचत भएका थिए । लिङ्देनले ३ हजार ९४३ पाएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका मञ्जुदेवी सिटौलाले ३ हजार ५४३ मत ल्याएका थिए । दुई उम्मेदवारको मतान्तर जम्मा ४०० रहेको छ ।

त्यस्तै कांग्रेसका दिलीपकुमार लिम्बुले २ हजार ९१५ र माओवादीका तुलसीप्रसाद ओलीले २ हजार ११७ मत पाएका छन् ।
यसैगरी उपमेयरमा एमालेका डम्बरबहादुर गिरीले ४ हजार ३८६ मत ल्याइ विजयी भएका थिए । कांग्रेसका चन्द्रकला चाम्लिङले २ हजार ७४७ मत पाएका छन् । राप्रपाका भारती दाहालले २ हजार ७०८ र माओवादी केन्द्रका शान्तिमाया संलिङ्ग लिम्बुले जम्मा २ हजार ३९९ मत पाएका थिए ।

लिङ्देनको आफ्नै वडा १ मा राप्रपा एमालेका उम्मेदवारसँग पराजित भएका छन् । एमालेका त्रिलोचन सापकोटा १ हजार ६४३ ले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्धी राप्रपाका दिलकेशर थापाले जम्मा ७१३ मत ल्याएका छन् । यी दुईको मतान्तर ९३० रहेको छ । त्यस्तै कांग्रेसका मदन थपलियाले ६८३, माओवादी केन्द्रका त्रिलोचन मैनालीले ३११ र जसपाका धु्रवकुमार श्रेष्ठले जम्मा २१४ मत पाएका थिए ।

वडातर्फ दलहरूले पाएको मतपरिणाम

पाँच वटा वडा रहेको यस गाउँपालिकमा २ मा माओवादीले १ हजार २६३ मत ल्याइ विजयी भएका थिए । एमाले ९६०, कांग्रेस ७०६ र राप्रपा १६९ मत पाएका छन् ।

त्यस्तै ३ वडामा एमालेले ६०४ मत ल्याइ विजयी भएका थिए । कांग्रेस ४६०, राप्रपा ४१४, जसपा ३०५, माओवादी १६६ ले मत पाएका थिए ।
वडा ४ मा कांग्रेसले ७६८ मत ल्याइ विजयी भए । राप्रपा ६५३, एमाले ५८०, माओवादी २०४ मत ल्याएका थिए ।

५ नम्बर वडामा राप्रपाले ४०६ मत ल्याएर विजयी भएको थियो । कांग्रेस ३८५, एमाले ३५९, माओवादीले २२७ मत पाएका थिए ।

सम्भावित चुनावी परिणाम

वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लिएर लिङ्देनको गृहनगरमा चुनावी सरगर्मी बढेको छ । प्रमुख प्रतिपक्ष दल एमाले विभाजन भएको छ भने राप्रपा चोइटिएको छ । गठबन्धन दलले स्थानीय तहसम्म गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति भएकाले एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सम्भावना रहेको छ । यसपटक एमाले र राप्रपाको मत प्रभावित हुने देखिन्छ । गठबन्धनमा माओवादी केन्द्र र नेकपा एसभित्र दल अदलबदल क्रम नरोकिएकाले मत बाँडिएको देखिन्छ । अहिलेसम्म कांग्रेसको मत भने प्रभावित भएको छैन ।

आगामी चुनावमा एक्लाएक्लै भाग लिए यस नगरपालिकामा एमालेले झिनो मतले जित्ने सम्भावना देखिन्छ । गत चुनावमा सबै वडामा एमालेले पाएको जम्मा मत ४ हजार १४६ रहेको छ । दोस्रोमा राप्रपाले २ हजार ३५५ मत पाएको छ । तेस्रोमा कांग्रेसले २ हजार ३०२, चौंथोमा माओवादी केन्द्रले २ हजार १७१ र जसपाले जम्मा ५१९ मत ल्याएको छ । यो खसेको मत मध्ये कुल सदर मतको आकडा हो ।

गठबन्धन कायम भएमा गठबन्धन दलले पाएको मत जम्मा ४ हजार ९९२ रहेको छ । एमाले–राप्रपाले जम्मा ६ हजार ५०१ मत पाएको छ । यसमा एमाले र राप्रपाको मत तलमाथि हुन सक्ने देखिन्छ । नयाँ मतदाताको मत कतातिर बाडिन्छ भन्नेले ठूलो अर्थ राख्नेछ । माथिको तथ्यको आधारमा मत प्रभावित नभए र दुवै पक्षले गठबन्धन बनाएको खण्डमा गठबन्धनलाई जित्न मुश्किल देखिन्छ ।

के राप्रपाको पक्षमा साँच्चै जनमत बढेको हो ?