टाउको दुख्ने समस्या हटाउन गीत गाउन थालेकी थिइन् रिहानाले

काठमाडौं । अमेरिकी पपस्टार रिहानाको नाम फेरि एकपटक विश्वकै धनी गायिकाको सूचीमा परेको छ । रिहानालाई फोर्ब्सले आफ्नो सूचीमा १७२९ नम्बरमा राखेको छ । रिहानाकाे सम्पत्ति १.७ बिलियन अमेरिकी डलर छ ।
तर रिहाना सामान्य परिवारमा जन्मिएर हुर्किएकी थिइन् । उनले पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी महिला बन्ने आफ्नो यात्रामा धेरै उतारचढावको सामना गरेकी छिन् ।
सन् १९८८ को फेब्रुअरी २० मा जन्मिएकी रिहानाका बाबुआमा उनी सानै छँदा छुट्टिएका थिए । साधारण परिवार र आमाबाबुको सम्बन्धविच्छेदले उनकाे जीवनमा ठूलो प्रभाव पारेका थियो । आमाबाबुको सम्बन्धविच्छेदपछि रिहाना बुबासँग बस्न थालेकी थिइन् ।
उनका बुबा धेरै मदिरा पिएर रिहानालाई धेरै सताउँथे । अश्वेत वर्णका कारण रिहानालाई विद्यालमा पनि दुर्व्यवहार गरिन्थ्यो । यीनै तनावका कारण रिहानामा टाउको दुख्ने समस्या देखियो । यही पीडाबाट मुक्त हुन उनले गीत गाउन थालिन् । उनी १५ वर्षकी हुँदा निर्माता इभान रोजर्सले लिएको अडिसनमा पुगेकी थिइन्।
यो उनको जीवनको टर्निङ प्वाइन्ट थियो र पछि उनी पपस्टार भइन् ।
रिहानाले बार्बाडोस छोडेर कनेक्टिकटमा रोजर्स र उनकी श्रीमतीसँग बस्न थालिन् । त्यहाँ उनले ४ वटा गीत छायांकन गरिन् । ती गीतहरु सफल भएपछि रिहानाको करिअर अगाडि बढ्यो ।
रिहाना विश्वभर लोकप्रिय छन् । उनको ट्वीटरमा मात्रै १० करोड ५० लाख फलोअर्स छन् । यसैबाट पनि उनी कति लोकप्रिय छिन् भनेर अनुमान लगाउन सकिन्छ । रिहाना ट्वीटरमा विश्वभर सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा चौथो नम्बरमा छिन् ।
रिहानालाई इन्स्टाग्राममा १२ करोड ६० लाख मानिसले फलो गरेका छन् । रिहानाले ‘डन्ट स्टप द म्युजिक, लभ द वे यू लेट, अम्ब्रेला’ जस्ता उत्कृष्ट गीतहरूमा गाएकी छिन् । यतिमात्र होइन रिहाना हलिउड फिल्म ‘ब्याटलशिप र ओसन्स ८’ जस्ता फिल्ममा पनि देखिएकी छिन् । ३४ वर्षीया रिहानाको फेन्टी नामक आफ्नै फेसन ब्राण्ड पनि छ ।
रिहानाकाे परिवारमा दुई जना भाइ र ३ जना सौतेनी भाइबहिनी छन् । उनी अहिले आमा बन्ने तयारीमा छिन् । यो उनका प्रेमी एसेप रकीसँगको पहिलो बच्चा हो । रिहानाको यसभन्दा अगाडि क्रिस ब्राउन र हसन जमीलसँग पनि सम्बन्ध थियो ।
हलिउडमा आफ्नो १९ वर्षको करिअरमा रिहानाले अहिलेसम्म १३ अमेरिकन म्युजिक अवार्ड, १२ बिलबोर्ड म्युजिक अवार्ड, ९ ग्रामी अवार्ड र ६ गिनिज वल्र्ड रेकर्ड प्राप्त गरेकी छन् । उनको एल्बम अम्ब्रेलाका लागि पहिलोपटक ग्रामी अवार्ड पाएकी थिइन् ।
सामाजिक सञ्जालमा आफ्ना ट्वीट र तस्वीरका कारण बारम्बार हेडलाइनमा रहने रिहाना सामाजिक काममा पनि सक्रिय छिन् । गत वर्ष मार्च महिनामा रिहानाले आफ्नो एनजिओ क्लारा लियोनेल फाउन्डेसनमार्फत कोरोना भाइरस राहत कोषमा ३६ करोड रुपैयाँ जम्मा गरेकी थिइन्। यसबाहेक रिहाना आफैंले राहत कोषमा २० लाख डलर पनि दान गरेकी छिन् ।
रिहानाको फेसन ब्रान्ड फेन्टी ब्यूटीमा ५० प्रतिशत सेयर छ । यसबाहेक उनकाे सम्पत्तिमा सेभेज एक्स फेन्टी लिन्गरी कम्पनी र अभिनेत्री–गायिकाकाे आय समावेश छ। फोर्ब्सको रिहानाको नाम सन् २०१९ मा पनि सबैभन्दा धनी संगीतकारको सूचीमा राखेको थियो ।
फोर्ब्सका अनुसार त्यतिबेला रिहानाको कुल सम्पत्ति ६० करोड डलर थियो । त्यसपछि रिहानाको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ ।
प्रतिक्रिया