हामी श्रीलंकाको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल

काठमाडाैं । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलंकाको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले अवस्था त्यस्तो नरहेको टिप्पणी गरेका छन् । समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै पूर्वगभर्नरले हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा राष्ट्र बैंकका पूर्वगभर्नर नेपालले हाल देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘अहिले जुनरुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।’ उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे ।
पूर्वगभर्नर डा. नेपालले भने, ‘श्रीलंकाको बाटोमा त हामी छँदै छैनौँ । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आत्तिनुपर्ने अवस्था छैन । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो तहबाट गुज्रिएका छैनौँ तर, सतर्कता भने हुनुपर्छ ।’ नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने भएको तथ्य पेश गर्दै उहाँले सरकारको सल्लाहकारको रुपमा काम गर्नुपर्ने बताए ।
उनले कोभिडपछिको अवस्थामा बजेटले केही विषयमा सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गरे । नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको उल्लेख गर्दै हाल विदेशी सञ्चिति कम हुनुको पछाडि पर्यटन क्षेत्र ठप्प हुँदाको असर देखिएको उल्लेख गरे । विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उनले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताए ।
प्रतिक्रिया