NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एक दरबन्दीमा सात उपसचिव, चार दरबन्दीमा १४ शाखा अधिकृत

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृहका उपसचिव र शाखा अधिकृत ‘डम्पिङ’ गर्ने थलो बनेको छ । प्रशासनतर्फ उपसचिवको एक दरबन्दी रहेकामा सातजना कार्यरत छन् भने चार दरबन्दीमा १४ शाखा अधिकृत छन् ।

प्राधिकरणले विपत्बारे अध्ययन, अनुसन्धान गर्नुपर्ने भए पनि प्रशासनका कर्मचारीले भरिँदा नतिजा पनि आउन सकेको छैन । बरु दरबन्दीविनाका उपसचिव र शाखा अधिकृत बिहान १० बजे हाजिर लगाएर दिनभर गफ चुटेर बस्छन् ।

उपसचिवको एक मात्र दरबन्दी रहेको प्रशासन, योजना तथा अनुगमन शाखामा कृष्णप्रसाद शर्मा, डा. डिजन भट्टराई, हिरादेवी पौडेल, माधवप्रसाद ढकाल, रुद्रबहादुर मल्ल, देवी पाण्डे खत्री र प्रदर्शनी कुमारी उपसचिव छन् । यसमध्ये शर्मालाई प्रशासन, भट्टराईलाई सूचना तथा सञ्चार, पौडेललाई नीति तथा योजना र ढकाललाई पुनर्निर्माणतर्फको जिम्मा दिएर राखिएको छ । मल्ल, खत्री र कुमारी भने पूर्ण रूपमा जिम्मेवारविहीन छन् । यी सबै उपसचिव प्रमुख जिल्ला अधिकारी भइसकेका कर्मचारी हुन् ।

प्रशासनतर्फका उपसचिव अनावश्यक रूपमा थुपारिएको प्राधिकरणमा प्राविधिकतर्फका उपसचिवको भने अभाव छ । विपत् अनुसन्धान, मापदण्ड निर्धारण, क्षमता विकास शाखामा उपसचिव ९हाइड्रोलोजी० राजेन्द्र शर्मा कार्यरत रहे पनि जोखिम न्यूनीकरण, पूर्वतयारी तथा पुनर्लाभ शाखामा उपसचिव छैनन् । जब कि यो शाखामा इन्जिनियरिङतर्फबाट उपसचिवको दरबन्दी छ । डढेलोविज्ञ रहेका प्राविधिक उपसचिव सुन्दरप्रसाद शर्मालाई गत वर्ष चैतमा काजमा प्राधिकरणमा ल्याइएको थियो । मुलुक डढलोले आक्रान्त बनेपछि उनलाई वन तथा भूसंरक्षण विभागबाट काजमा ल्याइए पनि अझै दरबन्दी सिर्जना गरिएको छैन । सिडिओ भइसकेका उपसचिव सहायक सिडिओमा जान चाहँदैनन्, बरु कामविहीन अवस्थामा काठमाडौंमै प्राधिकरणमा बस्न चाहन्छन् ।

शाखा अधिकृतहरू पनि काठमाडौंबाहिर जान चाहँदैनन्, कामको चाप नभएको प्राधिकरणमै बसेर लोकसेवा तयारी गर्छन् । प्राधिकरणमा शाखा अधिकृतको चार दरबन्दी मात्र छ, तर १४ जना कार्यरत छन् । शाखा अधिकृतहरू भीमराज बस्नेत, गणेशदत्त ओझा, ममताकुमारी ओझा, गोमा पौडेल, जितेन्द्र अधिकारी, दीपेश बिडारी, गंगा सुवेदी भट्टराई, सुष्मा पोखरेल ढुंगेल, अम्बिका खत्री, ऋषिकेश खतिवडा, प्रमेश शिवा, सुजन शुभ भ्लोन, वैकुण्ठ पौडेल र सावित्रा बस्नेत कार्की कार्यरत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।