NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

किम जङ उनले पत्रकारलाई दिए घर उपहार

प्योङयाङ । कम्युनिष्ट नेता तथा उत्तर कोरियाली तानाशाह किम जङ उनले वरिष्ठ महिला पत्रकारलाई एउटा विलासी फ्ल्याट उपहार दिएका छन् ।

री चुन ही ५० वर्षको करिअरमा उत्तर कोरियाली टेलिभिजनको प्रमुख अनुहार बनेकी छिन् । उनी उत्तर कोरियाली प्रसारक कोरियन सेन्ट्रल टेलिभिजनकी समाचार प्रस्तुतकर्ता हुन् ।

प्रायः मिसाइल प्रक्षेपण गर्ने वा गम्भीर मुडमा देखिने किमको अहिले हँसिलो अनुहारमा देखिएको भिडियो सार्वजनिक भएको हाे । भिडियोमा उनी निकै खुशी देखिन्छन् । उनले राजधानी प्योङयाङको रिभरसाइड अपार्टमेन्ट कम्प्लेक्समा रहेको एउटा फ्ल्याट चुन हिलाई उपहार दिने क्रममा खिचिएको भिडियो सार्वजनिक भएको हो ।

 

यति मात्र होइन, किम आफैं फ्ल्याट देखाउन चुनसँग त्यहाँ पुगेका थिए । उपहार पाएकी चुन खुशी हुँदै बारम्बार किमको हात समातेर कृतज्ञता व्यक्त गरिरहेको देखिन्छ । यसको पूरा भिडियो समाचार एजेन्सी एएफपीले सार्वजनिक गरेको छ ।

शुक्रबार किमका हजुरबुबा एवं देशका पूर्व शासक किम इल सुङको ११० औं जन्मजयन्तीका अवसरमा किमले देशको शान्ति र सार्वभौमसत्ता कायम गर्न योगदान पुर्‍याउने सबैलाई फ्ल्याट उपहार दिइरहेका छन् ।

किमले ‘देशको समृद्धि र विकासमा योगदान पुर्‍याउनेहरूलाई घर उपहार दिने परियोजना’ सुरु गरेको उत्तर कोरियाली मिडिया केसिएनएले रिपोर्टमा उल्लेख छ ।