NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेसमा बने विभिन्न उप-समिति

काठमाडौं । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले विभिन्न समिति गठन गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले भ्रातृ संस्था, शुभेच्छुक संस्था समन्वय परिचालन, सुरक्षा, जिल्ला सम्पर्कसहितका समिति गठन गरेको हो ।

उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनको चुनावी सभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन “चुनावी सभा व्यवस्थापन मापदण्ड” लाई अनुमोदन गरेको छ । यस्तो मापदण्डमा चुनावी सभालाई छरितो बनाउने र एउटा सभामा बढीमा दुई जना वक्ता राख्न प्रस्ताव गरिएको छ ।

यस्ता छन् बैठकका निर्णय ?

निर्णय
१. स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने ।
२. स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत काम, कर्तव्य र अधिकार समेत तोकी देहाय बमोजिमका उपसमितिहरु गठन गर्ने ।
१. भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति
२. शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति
३. जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
४. विदेश स्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
५. अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति
६. निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति
७. आचार संहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितका संयोजकले उपसमिति गठन गर्ने ।

३. स्थानीय तह निर्वाचनका लागि ७ वटा प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकार समेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने ।
४. प्रदेश कार्यसमितिलाई मातहतका जिल्ला अन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्ने ।
५. स्थानीय तह निर्वाचनको चुनावी सभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन “चुनावी सभा व्यवस्थापन मापदण्ड” लाई अनुमोदन गर्ने ।
६. पार्टी आवद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका अन्य दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने ।

बैठकमा समितिका सदस्यहरु श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी राना तथा आमन्त्रित सदस्यहरु –नेपाल विद्यार्थी संघ, नेपाल डेमोक्रेटिक लयर्श एशोसिएसन (डिएलए), नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं प्रतिनिधिले धारणा राखेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष