NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उत्तर कोरियामा किमले आफ्नो नीति परिवर्तन गरेका हुन् ?

प्योङयाङ । उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ अनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेको राज्य सञ्चालित सञ्चारमाध्यममा सम्प्रेषित तस्बिरहरूले शनिबार देखाएका थिए ।

अमेरिका, यूरोप र अन्य कतिपय मुलुकले सैनिक शक्तिको प्रतीक्षित प्रदर्शन बिना जन्मजयन्ती मनाउँदा आश्चर्य मानेका छन् । यो वार्षिकोत्सव अनुमान गरेभन्दा शान्तिपूर्ण तर भव्य भएको उनीहरूको भनाइ रहेको छ ।

आणविक हतियार सम्पन्न यस देशमा ‘सूर्य दिवस’ भनेर चिनिने, वर्तमान नेता किम जङ उनका हजुरबुबा स्वर्गीय किम इल सुङको अप्रिल १५ को जन्मोत्सव प्योङयाङको राजनैतिक पात्रोमा सबैभन्दा महत्वपूर्ण मितिहरूमध्ये एक हो ।

विश्लेषक, दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरूले यस अवसरमा उत्तर कोरियाले सैनिक परेड तथा आणविक परीक्षणसमेत गर्ने व्यापक अनुमान गरेका थिए । तर शुक्रबार भएको उक्त उत्सवमा नागरिक परेड, सामुहिक नृत्य र आतिशबाजीबाहेक सैन्य गतिविधि नगरिँदा उनीहरूको अनुमान तथा प्रक्षेपण गलत भयो ।

राज्य संचालित कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी गरिएको फोटोमा किम जङ अनले एउटा बाल्कनीबाट हेरेको र राजधानीको किम इल सुङ स्क्वायरलगायतका क्षेत्रमा हजारौं रंगीबिरंगी पहिरन लगाएका मानिसहरू देखाइएको छ ।

केसीएनएले भनेको छ, ‘उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिवसमा नागरिकहरूले समाजवादी नाराहरू लेखिएका ब्यानर र भण्डा तथा देशको विशाल राष्ट्रिय झन्डा बोकेर मजदूर, किसान र नर्तकीहरू तथा अन्य व्यक्तिहरूको लश्कर किम इल सुङ स्क्वायरबाट अघि बढेको थिया ।’

किम परिवारका तीन पुस्ताले सन् १९४८ देखि उत्तर कोरियाको नेतृत्व गरेका छन् ।

नेता किमले उक्त दिन किम इल सुङ र उनका छोरा तथा उत्तराधिकारी किम जङ इलको मृत शरीर राखिएको स्थान ‘कुमसुसान प्यालेस अफ द सन’को भ्रमण गरी उनीहरूप्रति श्रद्धा प्रकट गरेका पनि केसीएनएले जनाएको छ ।

सुधार र विकास देखाउने किमको नीति

त्यसअघि नयाँ अपार्टमेन्ट परिसरहरू खोल्ने, हल्का समारोहहरू र पुष्प श्रद्धासहित राज्य सञ्चारमाध्यममा उत्सवको निरन्तर प्रसारण भइरहेको सियोलको ‘इवा वुमन्स युनिभर्सिटी’का अन्तरराष्ट्रिय अध्ययनका सहयोगी प्राध्यापक लिफ–एरिक इस्लीले बताए ।

उनले भने, ‘किम शासनलाई सैन्य परेडभन्दा राष्ट्रिय गौरव र वैधताका स्रोतहरूको आवश्यकता पर्दछ । त्यसकारण, संस्थापकको जन्मदिनको अवसरमा मनाइने जनउत्सवले एउटा यस्तो अर्थतन्त्रलाई चित्रण गर्ने कोसिस गरियो जसले एकदमै कमजोर अर्थतन्त्र र सैनिक शासन नभै उत्तर कोरियामा शान्ति र आर्थिक सुधारले गति पाएको झलक दियो ।’

यो वार्षिकोत्सव उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको तीन हप्तापछि भएको हो । यो सन् २०१७ देखि किमको सबैभन्दा शक्तिशाली हतियारलाई पूर्ण क्षमतामा पहिलो पटक प्रहार गरिएको थियो ।

उक्त परीक्षण यस वर्ष प्रतिबन्ध तोड्ने प्रक्षेपणहरूको रेकर्ड तोड्ने कदम थियो । यसले लामो समयसम्म र आणविक परीक्षणहरूमा स्वघोषित प्रतिबन्धको अन्त्य गरेको संकेत दिएको थियो ।

समारोहमा सैन्य गतिविधिको अभ्यास नहुँदैमा ‘उत्तर कोरिया सैन्य हतियार निर्माणबाट पछि हटेको प्रतिनिधित्व नगर्ने इस्लीले बताए ।

भूउपग्रहको तस्बिरले पुङगी–री आणविक परीक्षण स्थलको सुरुङमा नयाँ गतिविधि हुने संकेतत देखाएको छ । किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१८ मा शिखर वार्ता अघि नै उक्त स्थल ध्वस्त भएको उत्तर कोरियाले जनाएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरूले प्योङयाङले अझै पनि सैन्य परेड गर्न वा अप्रिल २५ तारिख वा त्यसको आसपासमा हतियार परीक्षण गर्न सक्ने बताएका छन् । उत्तर कोरियाले अप्रिल २५ लाई कोरियाली जनसेनाको स्थापनाको वार्षिकोत्सवका रूपमा मनाउने गर्छ ।