NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

भारतसँग सीमा जोडिएको पाँचथरको याङवरकमा यस्तो छ चुनावी माहोल

उपाध्यक्ष समाजवादीमा लागेपछि एमाले समस्यामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गाउँ–गाउँमा पनि दलहरूलाई चुनाव लागेको छ । उम्मेदवार तय हुन बाँकी छ, तर आकांक्षी र नेता–कार्यकर्ता भोट माग्दै गाउँ छिरिसकेका छन् । पाँचथरको याङवरक गाउँपालिकामा पनि दलहरू चुनावी तयारीमा लागेका छन् । गत चुनावमा यो गाउँपालिकामा एमालेले जितेको थियो । कार्यसम्पादनमा उत्कृष्ट १० भित्र परेको याङवरकमा आगामी चुनावमा कसले बाजी मार्ला भन्ने चासो देखिन्छ ।

अघिल्लो चुनावलाई फर्केर हेर्दा

०७४ सालमा भएको चुनावमा याङवरक गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भए । अध्यक्षमा लेखनाथ घिमिरेले तीन हजार सात सय ४८ मत ल्याएर जिते । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर नुगोले तीन हजार चार सय ४९ मत पाए । माओवादीका भीमकुमार मावोले तीन सय ३२ मत पाए । उपाध्यक्षमा कमलकुमारी योङहाङले कांग्रेसकै कल्पना कोइरालालाई हराइन् । योङहाङको तीन हजार पाँच सय ७६ मत आयो भने कोइरालाले दुई हजार आठ सय ७२ मत पाइन् । माओवादीका इन्दिरा बरालले तीन सय ९० मात्रै भोट पाइन् । ६ वडा रहेको याङवरकमा चारवटामा एमालेले र दुईवटा वडामा कांग्रेसले अध्यक्ष जितेका थिए ।

पाँचथरको याङवरक गाउँपालिकामा पनि दलहरू चुनावी तयारीमा लागेका छन् । कार्यसम्पादनमा उत्कृष्ट १० भित्र परेको याङवरकमा आगामी चुनावमा कसले बाजी मार्ला भन्ने चासो देखिन्छ

गठबन्धनको सम्भावना

०४९ सालदेखि अहिलेसम्म भएका चुनावमा यो क्षेत्रमा एमालेले जित्दै आएको छ । यसपटक भने सत्तासाझेदार दलबीच चुनावी तालमेलको छलफल चलिरहेको छ । माओवादी र एकीकृत समाजवादी केही कमजोर भए पनि उनीहरूकै मत निर्णायक हुन सक्ने भएकाले कांग्रेसले तालमेलका लागि प्रयास गरिरहेको छ । यता सत्तासाझेदार दलबीच तालमेल हुने संकेत पाएपछि एमालेले पनि राप्रपासँग गठबन्धनको प्रयास गरिरहेको छ ।

सम्भावित परिणाम

याङवरकमा ०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार नुगो एमालेका उम्मेदवार घिमिरेसँग दुई सय ९९ मतले मात्र पराजित भएका थिए । अहिले सत्तारूढ दलबीच गठबन्धन भए एमालेलाई समस्या हुने देखिन्छ । किनकि एमाले अहिले पहिलेको अवस्थामा छैन । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको पनि यो गाउँपालिकामा प्रभाव छ । गाउँपालिकाकी उपाध्यक्ष नै एकीकृत समाजवादीमा लागेकी छिन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत जोड्दा गठबन्धनका उम्मेदवार अगाडि हुन्छन् । त्यसमा पनि एमालेको केही मत एकीकृत समाजवादीले काट्ने भएकाले पहिलेको अवस्था रहँदैन । यो गाउँपालिकामा राप्रपाको खासै प्रभाव छैन । त्यसैले एमालेले ऊसँग तालमेल गरे पनि ठूलो उपलब्धि हुने छैन । यता, सत्तारुढ दलबीच तालमेल हुँदा कांग्रेसले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने सम्भावना छ । माओवादीले केही वडाध्यक्ष मात्रै पाउन सक्नेछ ।

नागरिकको अपेक्षा

दल विभाजन र नेताको स्वार्थी व्यवहार हेरेर यहाँका नागरिक पनि आजित नै छन् । दलका कार्यकर्ताकै रूपमा रहेकाको तर्क फरक भए पनि आम नागरिक भने अझै पनि भौतिक संरचनाको विकास र शिक्षा, स्वास्थ्य अनि सञ्चारमा ध्यान दिन सक्ने र काम गर्न सक्ने नेतृत्वको अपेक्षामा छन् ।

कति मतदाता थपिए

निर्वाचन कार्यालय पाँचथरको प्रारम्भिक विवरणअनुसार जिल्लामा १६ हजार एक सय ४१ जना नयाँ मतदाता थपिएका छन् । याङवरक गाउँपालिकामा भने १६ सय ८० जना मतदाता थपिएको आयोगले जनाएको छ । तीव्र प्रतिस्पर्धा भएको गाउँपालिका भएकाले थपिएका मतदाता आगामी चुनावमा निर्णायक बन्न सक्छन् ।

हारजितको कारक के होला ?

स्थानीय बुद्धिजीवी सञ्चपाल लिम्बूका अनुसार यो क्षेत्रमा नागरिकको मन जित्न सक्नु नै ठूलो कुरा हो । शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा पहिलेदेखि योजना बनाउने, योजना ल्याउन प्रयास गर्ने र गाउँमा घरदैलो अभियानमा धेरै सक्रिय हुनेले चुनाव जित्न सक्छ । विकासका भोका नागरिकलाई उनीहरूले बुझ्न सके बढी मत पाउने लिम्बूको बुझाइ छ ।

सम्भावित उम्मेदवार

निर्वाचनको मिति नजिकिएसँग दलहरू चुनावी अभियानमा केन्द्रित छन् । दलहरूले उम्मेदवार तय गरिन सकेको भए पनि आकांक्षीले घरदैलो र भोट माग्ने अभियान थालिसकेका छन् । तीन दलबाट सम्भावित उम्मेदवार को–को छन् त ?

लेखनाथ घिमिरे

घिमिरे स्थानीय रूपमा चिनिएका एमालेका नेता हुन् । उनी अहिलेका गाउँपालिकाका अध्यक्ष हुन् । पछिल्लो समय उनले यो स्थानमा राम्रो पकड बनाएको एमाले कार्यकर्ताको बुझाइ छ । आगामी निर्वाचनमा पनि एमालेले उनलाई नै अघि सार्ने सम्भावना बलियो छ ।

शेरबहादुर लिम्बू

यो गाउँपालिकामा कांग्रेसबाट शेरबहादुर लिम्बू सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । यसअघि पनि उनी अध्यक्षमा उठेर झिनो मतान्तरले पराजित भएका थिए । कांग्रेसले फेरि पनि उनलाई नै अघि सार्ने सम्भावना छ ।

होम जबेगू

जबेगू यस क्षेत्रका माओवादी नेताका रूपमा परिचित छन् । चुनावी गठबन्धन भयो र माओवादीले अध्यक्ष पाए होम जबेगू नै उम्मेदवार हुनेछन् । यद्यपि, गाउँपालिकामा कांग्रेस धेरै बलियो रहेकाले अध्यक्ष छाड्ने सम्भावना भने कम छ ।

जनसंख्या र भौगोलिक अवस्था

याङवरक गाउँपालिका पाँचथर जिल्लाको सुदूर पूर्वी–उत्तर गाउँपालिका हो । साबिक पाँचवटा गाविस मिलाएर यो गाउँपालिका निर्माण भएको हो । जसको सिमाना पूर्वतर्फ छिमेकी मुलुक भारतसमेत जोडिएको छ । यस गाउँपालिकाको भौगोलिक अवस्थिति समुद्र सतहबाट ६ सय नौ मिटर उचाइ याङवरक– ४ खाल्डे नागीदेखि चार हजार पाँच सय ७५ मिटर उचाइ याङवरक– २ फलैचाको चुचुरोसम्म फैलिएको छ । चीन–तिब्बतबाट आसाम हुँदै इसापूर्व १५०० तिर नेपाल छिरेका किरातले महिषपाललाई विस्थापित गरी लामो समयसम्म उपत्यकामा शासन गरेका थिए । १६२ सालमा लिच्छविले राज्यसत्ता लिएपछि उनीहरू उपत्यकाबाट पूर्वतिर लागेको प्राचीन इतिहासमा उल्लेख छ । याङवरक गाउँपालिकाको जनसंख्या १६ हजार आठ सय २८ छ ।

ताजा अपडेट

नेपालवाच विशेष