NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जनकपुर उपमहानगर : कांग्रेस र मधेसकेन्द्रित दल बलिया, २ गठबन्धनबीच प्रतिस्पर्धाको सम्भावना

काठमाडौं। मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा आसन्न स्थानीय तह चुनावको माहोल तातिन थालेको छ । दलहरू अंकगणितको जोडघटाउमा लागेका छन् । विभिन्न राजनीतिक दलबाट उम्मेदवारका आकांक्षीले प्रचारप्रसार नै सुरु गरिसकेका छन् ।

अघिल्लो चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीले जितेको यो उपमहानगरमा मुख्यतः कांग्रेस र मधेसकेन्द्रित दलबीच नै प्रतिस्पर्धा देखिन्छ । यहाँ एमाले र माओवादी तुलनात्मक रूपमा कमजोर छन् । मधेस प्रदेशको राजधानी रहेकाले पनि जनकपुरधाम उपमहानगरलाई दलहरूले प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

०७४ को चुनावको परिणाम

गत स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरमा महन्थ ठाकुर नेतृत्वको राजपाले वर्चस्व कायम गरेको थियो । उक्त पार्टीका लालकिशोर साह मेयरमा निर्वाचित भए । साहले २१ हजार नौ सय तीन मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार साह सुडीले जम्मा ११ हजार एक सय ६४ मत मात्र ल्याए । एमाले तेस्रो, तत्कालीन संघीय समाजवादी फोरम चौथो र माओवादी केन्द्र पाँचौँ स्थानमा रहे ।

एमालेका लक्ष्मीनारायण भगतले चार हजार आठ सय ६५, फोरमका विष्णुदेव साहले तीन हजार ६ सय १२ र माओवादीका चन्द्रशेखर साहले दुई हजार एक सय २८ मत मात्रै पाए । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका हंशराज साह नुनियारको ६ सय ५४ र तत्कालीन नयाँ शक्ति पार्टीका उमेश साहले पाँच सय ८८ मत पाए । उपमेयरमा पनि राजपाकै रिताकुमारी मिश्र निर्वाचित भइन् । मिश्रले १७ हजार एक सय ४७ मत ल्याउँदा कांग्रेसकी नीलमदेवी कर्णले १० हजार ६ सय ५ मत मात्रै पाइन् ।

एमालेकी पुनमकुमारी मिश्राले चार हजार नौ सय ७२, संघीय समाजवादी फोरमकी रिताकुमारी यादवले चार हजार दुई ८९, स्वतन्त्र उम्मेदवार राकेशविक्रम साहले दुई हजार चार सय ६८ मत ल्याए । २५ वडा रहेको उपमहानगरमा राजपाले नै धेरै वडाध्यक्ष पनि जित्यो । उसले १२ वटा वडामा अध्यक्ष जित्दा कांग्रेसले सात, तीनवटामा संघीय समाजवादी फोरम, दुईवटामा एमाले र एकमा स्वतन्त्रले अध्यक्ष जिते ।

विभाजनको असर, सम्भावित गठबन्धन र परिणाम

जनकपुरधाममा चुनाव जितेको राजपा अहिले त्यही स्वरूपमा छैन । महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । बीचमा फोरमसँग एकता र विभाजनपछि अहिले नयाँ दल अस्तित्वमा आएका हुन् । तर, त्यतिबेला राजपाबाट जितेका मेयर साह अहिले ठाकुरको पक्षमा नलागी जनता समाजवादी पार्टीतिर लागेका छन् । कामको सवालमा मेयर साहको आलोचना भइरहेकाले उनी जसपामा बस्दा लोसपालाई कति क्षति हुन्छ भन्ने यकिन गर्न गाह्रो छ । उनीसँगै लोसपाका केही अन्य प्रभावशाली स्थानीय नेता–कार्यकर्ता पनि जसपामै बसेका छन् । सत्तासाझेदार पाँच दलबीच गठबन्धन बन्यो भने जनकपुरधाममा एमाले र लोसपाबीच पनि तालमेलको सम्भावना छ । त्यस्तो अवस्थामा एमालेले उपमेयर पाउन सक्छ ।

गठबन्धन बन्दा जसपा र कांग्रेस दुवैले मेयरमा दाबी गरिरहेका छन् । तर, कांग्रेसले मेयर र जसपाले उपमेयर पाउने सम्भावना छ । दुईवटा गठबन्धन बनेमा निकै प्रतिस्पर्धा हुनेछ र कसले बाजी मार्छ भनेर अहिले नै आकलन गर्न अप्ठेरो छ । जसपाले मेयर पाएमा या एक्लै लडेमा अहिलेकै मेयरलाई अघि सार्न सक्ने सम्भावना छ । किनकि उनलाई मेयर दिने सर्तमै जसपामा राखिएको चर्चा छ । मेयर साहको कार्यकाल विवादित रहेकाले अन्य दललाई त्यसको फाइदा हुन सक्छ । उपमेयर रिता मिश्रसहित १२ जना वडाध्यक्ष अहिले पनि लोसपामा लागेका छन् । तर, लोसपाका चर्चित अनुहार राष्ट्रिय सभाका पूर्वसांसद वृषेशचन्द्र लाल र संविधानसभा सदस्य डा. विजय सिंहले पार्टी छाडेका छन् । यसले उसलाई केही झट्का लागेको छ ।

सम्भावित परिणाम

विगतको चुनावकै परिणामलाई आधार मानेर हेर्ने हो भने पाँच दलबीच गठबन्धन बन्यो भने उनीहरूले पाउने मत पहिले राजपाले पाएको मतभन्दा बढी हुन्छ । तर, यदि लोसपाले एमालेसँग तालमेल गर्यो भने सत्तागठबन्धनको भन्दा बढी मत हुन जान्छ । त्यसैले जनकपुरधामको सम्भावित परिणाम पनि दलीय समीकरणमा निर्भर देखिन्छ । त्यसबाहेक कुन दलले कस्ता उम्मेदवार अघि सार्छन् भन्नेले पनि ठूलो अर्थ राख्छ । किनकि जनकपुरधाममा स्वतन्त्र रूपमै उठेर थुप्रैले मेयर जितिसकेका छन् । अर्कातिर अघिल्लो चुनावमा मधेस आन्दोलनको रापताप बाँकी थियो, जुन यतिबेला सेलाइसकेको छ । आन्दोलनअघि यो क्षेत्रमा कांग्रेसको पकड थियो । त्यसैले आगामी चुनावमा उसले पुनरागमन गर्न सक्ने सम्भावना पनि छ । मधेसकेन्द्रित दलमा पटक–पटक भइरहेको विभाजनले यो क्षेत्रका नागरिक पनि दिक्क भइसकेका छन् । लोसपाले त्यसको मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

कांग्रेसका आधिकारिकभन्दा बागी बलिया

अहिलेको जनकपुर उपमहानगरपालिका र विगतको जनकपुर नगरपालिकामा मधेस आन्दोलन र ०६२\६३ को राजनीतिक परिवर्तनअघिसम्म कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार निर्वाचित हुने गरेको पाइन्छ । कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि प्रमुख पदमा भने उसका बागी उम्मेदवारले जित्ने गरेका थिए । ०४९ सालको स्थानीय निर्वाचनमा जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल मेयर पदमा निर्वाचित भए । लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा पनि कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह निर्वाचित भएका थिए । दुवैले पछि कांग्रेस छाडे ।

०५४ सालको निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार बजरंगप्रसाद साह स्वतन्त्र उठेर मेयरमा निर्वाचित भए । साहले कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर उपाध्यायलाई पराजित गरेका थिए । उपमेयरमा भने कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह निर्वाचित भएकी थिइन् । मधेस आन्दोलनपछि कांग्रेसका धेरै नेता अन्य दलमा लागे । आन्तरिक कलहका कारण पनि कांग्रेस समस्यामा पर्दै गयो ।

जनसंख्या र मतदाता

०७४ सालको निर्वाचनमा ७५ हजार सात सय ६५ मतदाता रहेकोमा चुनावमा खसेको मतको ४५ हजार सात सय ९६ मत सदर भएको थियो । अहिले ११ हजार एक सय ७५ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । योसहित अब यहाँको मतदाता संख्या ८६ हजार नौ सय ४० पुगेको छ । तथ्यांक विभागका अनुसार जनकपुर उपमहानगरको जनसंख्या एक लाख ९५ हजार चार सय ३८ छ ।

ताजा अपडेट

नेपालवाच विशेष