NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्वीडेनमा कुरान जलाएको घटनामा इरानको कडा प्रतिक्रिया

काठमाडौं । स्वीडेनमा कुरान जलाएको घटनाप्रति इरानले कडा प्रतिक्रिया दिएको छ ।

इरानको विदेश मन्त्रालयले रमजानको पवित्र महिनामा कुरानको अनादरलाई ईश्वरनिन्दा भएको भन्दै आलोचना गरेको छ । परराष्ट्र मन्त्रालयले यो घटना घृणा फैलाउने र वाक स्वतन्त्रताको हननको उदाहरण भएको बताएको छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले भने, ‘एक चरमपन्थी जातीय तत्वले पवित्र कुरान जलाउने घटना प्रहरीकै अगाडि भएको हो ।’

उनले रमजानमा जानाजानी यस्ता अपमानजनक घटना बारम्बार दोहोरिँदा स्विडेनलगायत विश्वका अन्य भागमा रहेका मुस्लिम समुदायको भावनामा चोट पुगेको बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले सँगै बस्न र धर्मबीचको संवादमा विश्वास गर्ने विश्वभरका मानिसले यसको आलोचना गर्नुपर्ने बताए ।

यसका लागि स्विडेनी सरकारलाई जिम्मेवार ठहर गर्दै तत्काल कारबाही गर्न माग सइदले गरेका छन् । उनले यस्ता घटना दोहोरिन नदिन दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने पनि बताएका छन् ।

स्वीडेनमा एक चरम दक्षिणपन्थी पार्टीले मुस्लिम बाहुल्य क्षेत्रमा कुरान जलाएको थियो । प्रहरीको उपस्थितिमा दक्षिणी सहर लिंकोपिङमा दक्षिणपन्थी नेता रासमुस पालुदानले कुरान जलाएपछि त्यस पार्टीका कार्यकर्ता र स्थानीयबीच झडपसमेत भएको थियो ।