NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

दैनिक ४ घण्टा सुत्ने ओलीको एक महिने सक्रियता : १८ दिनमा २७ बढी कार्यक्रम

दिनकै तीन जिल्लासम्म भ्याउँछन्, कार्यक्रमा घण्टौं भाषण दिन्छन्

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब २४ दिन मात्रै बाँकी छ । तर निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न नेताहरूको म्याराथन दौड सुरु भइसकेको छ । यस्तो दौडाहामा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा अगाडि छन् ।

एमालेले निर्वाचनलाई लक्षित गरी फागुन १ देखि १७ सम्म ७ प्रदेश र दुर्ई गैर प्रदेशमा कार्यकर्ता प्रशिक्षण तथ अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । त्यसयता ओली चुनावी सभा र पार्टी प्रवेश कार्यक्रममा आफैं उपस्थित भएका छन् ।

पार्टी विभाजनको पीडा भोगेको एमालेविरुद्ध सत्तारुढ पाँच दलले देशव्यापी गठबन्धन गर्ने निर्णय गरेका छन् । प्रमुख दल नै आफ्नोविरुद्ध मोर्चाबन्दीमा उत्रिएपछि ओलीले एमालेलाई खरो रुपमा उतार्ने संकल्प लिएका छन् । गठबन्धनविरुद्ध एमाले एक्लैले जित्ने अभियान लिएर देशभर कार्यक्रमको व्यस्तता बढाएका छन् । निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर जित्ने एमालेको दाउ छ । यद्यपि राप्रपा कमल थापा समूह, कांग्रेसका गोविन्दराज जोशी समूहसँग आवश्यकता अनुसार चुनावी तालमेल गर्ने सहमति भएको छ ।

चुनाव नजिकिंदै जाँदा दुईपटक मिर्गौला फेरेका ओलीको व्यस्तता अस्वाभाविक बढेको छ । आगामी निर्वाचनमा ६० प्रतिशत हिस्सा आफूले जित्ने दाबी गरेका ओली अहिले देशव्यापी दौडाहामा छन् । गत फागुनबाट ७० वर्ष पूरा गरी ७१ वर्षमा लागेका ओलीको अभूतपूर्व सक्रियताप्रति विपक्षी दलहरू आश्चर्य व्यक्त गर्ने गर्छन् ।

उनका अधिकांश कार्यक्रम स्थानीय निर्वाचन केन्द्रित रहेका छन् । बाँकी कार्यक्रम कार्यकर्ता भेला, प्रशिक्षण, बैठक र भातृसंगठनका छन् । ओली दैनिक रातको चार घण्टामात्र सुत्ने गरेको पारिवारिक सदस्यले जनाएका छन् ।

चैत ५ देखि एक महिनाको अवधिमा पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसमका दुई दर्जन बढी जिल्लामा ओली पुगिसकेका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार वैशाख ११ सम्म ओलीको पूर्वनिर्धारित कार्यतालिका तयार भइसकेको छ । सोमबार आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुगे ।

उनी हेलिकोप्टरमार्फत् एकै दिन दुई वा दुईभन्दा बढी जिल्लाको विभिन्न कार्यक्रममा पुगेका छन् । जहाँ उनी घण्टौं भाषण दिने गर्छन् । उनको दौडधुप अहिले निकै बढेको छ । वैशाख ११ सम्म पार्टी प्रवेश अभियान सञ्चालन भएपनि त्यसपछि चुनावी रणनीतिसम्बन्धी छुट्टै कार्यक्रम तय हुने बजगाईंले बताए ।

पार्टी विभाजनपश्चात् मंसिर १०–१३ चितावनको सौराहमा १० औं महाधिवेशन भएको थियो । मंसिर २५ र २६ मा भक्तपुरमा बसेको केन्द्रीय कमिटीको प्रथम विस्तारित वैैठकबाट ओलीले केन्द्रीय समितिलाई पूर्णता दिएका थिए । नेताहरूको कार्यविभाजनसहित सबै केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रमा खटाएका थिए ।

वडा, पालिका, जिल्ला र अधिकांश भातृ संगठनहरूको अघिवेशनसमेत सम्पन्न भइसकेको छ । माघदेखि चैतसम्मलाई पार्टी प्रवेश अभियन सञ्चालन गर्दै यसबीचमा विभिन्न दल परित्याग गरी आएकालाई ओलीले एमालेमा प्रवेश गराएका छन् । यस्तै कार्यक्रमा उनको धेरै समय बितिरहेको छ । एमालेको पक्षमा देशभर जनलहर देखाउन पनि ओली आफैं खटेर पालिकास्तरीय कार्यक्रममा पुग्ने गर्छन् ।

शारीरिक रूपमा निकै जीर्ण र पटक–पटक मृत्युको मुखबाट बाँचेर आएका व्यक्ति हुन् ओली । ओलीको ०६४ तिर पहिलोपटक दुवै मिर्गौला फेल भएको थियो । त्यसपछि उनको मिर्गौला फेरिएको थियो ।

०७१ मा भएको पार्टीको नवौं महाधिवेशनवौट उनी एमाले अध्यक्षमा निर्वाचित भए । पार्टी नेतृत्वमा आएपछि ओली झनै शक्तिशाली बन्न पुगे । ०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्री भए । ०७४ को निर्वाचनमा वामपन्थी गठबन्धन बनाएर चुनाव जितेका ओली झण्डै दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री भए । ओली ४० महिना प्रधानमन्त्री बने । जुन कम्युनिष्ट नेता लामो समय प्रधानमन्त्री बनेको रेकर्ड हो ।

२०७६ सालमा त्रिवि शिक्षण अस्पतालमा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराए । त्यसअघि छालासम्बन्धी विभिन्न संक्रमणका कारण उनी दिल्ली– थाइल्याण्ड र सिंगापुरका विभिन्न अस्पतालमा महिनौ उपचार गराए । चिकित्सकले आराम गर्न सल्लाह दिंदा पनि ओली त्यसलाई बेवास्ता गर्दै विभिन्न कार्यक्रममा व्यस्त बन्दै आएका छन् ।

तत्कालीन सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि ०७७ पुस ५ मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । उनको निर्णयविरुद्ध पार्टीभित्र प्रचण्ड–माधव समूहले देशव्यापी आन्दोलन घोषणा गर्यो । तर आन्दोलन घोषणा गरेका प्रचण्ड र नेपालभन्दा अगाडि ओली कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्किए ।

२०७७ फागुन ११ मा सर्वोच्च अदालतले ओलीको कदम बदर गरी संसद् पुनस्र्थापना गर्यो । त्यसपछि केही समय ओली अप्ठ्यारोमा परे । एमालेमा अल्पमतमा परेका ओलीलाई २३ फागुनमा अदालतले आदेशले उद्दार गरिदियो । नेकपा खारेज गरेर अदालतले एमाले र माओवादीलाई ब्युँत्याइदिएपछि ओली एकाएक शक्तिशालीमा दरिए । प्रचण्ड र नेपाल मिलेर साधारण सदस्यसमेतबाटैै निष्कासित ओली एमाले पुनस्र्थापनासँगै निकै शक्तिशाली भएका थिए ।

०७८ जेठ ७ को मध्यराति ओलीले दोस्रोपटक संसद् विघटन गरे । ओलीको कदमबाट रुष्ट बनेका माधव समूहले एमाले नै विभाजन गरेपछि त्यसको क्षतिपूर्ति असुल गर्न अहिले देशव्यापी दौडाहामा लागेका छन् । उनको सक्रिय दैनिकी, भाषणमा उखान टुक्का, ठट्यौली, विपक्षीप्रति व्यंग्य, धर्म, संस्कृति र इतिहासका विषयमा रोचकघोचक प्रस्तुतिले उनी चर्चामा आइरहन्छन् । उनको यस्तै शैली हेर्न र भाषण सुन्न कार्यकर्ताहरू झुम्मिने गरेका छन् । रोगले थिलथिलो शरिर भएका ओलीको सक्रिय दैनिकी र कार्यक्रमपिच्छेका कटाक्षले विपक्षी दलहरू हैरान हुने गरेका छन् ।

यस्तो छ एक महिनामा ओलीको सक्रियता

वैशाख ५– सोलुखुम्बुको सल्लेरीमा आयोजित आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन । साँझ बालकोटस्थित निवासमा सचिवालय बैठक ।

वैशाख ४– हुम्लाको श्रीनगर र सिमकोटमा सभालाई सम्बोधन
वैशाख ३– सर्लाहीको सदरमुकाम मलंगवामा सभालाई सम्बोधन
वैशाख २– नुवाकोटको बट्टारमा सभालाई सम्बोधन । यसैदिन लमजुङ घलेगाउँमा आयोजित कार्यक्रममा सहभागी ।
वैशाख १– काठमाडौंमा स्काउटले गरेको कर्यक्रममा सहभागी ।
चैत ३०– सुनसरीको इटहरी नगरपालिका कार्यक्रममा सहभागी ।
चैत २८– बझाङमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन ।
चैत २६– पर्वत–बाग्लुङ र कास्की कार्यक्रममा सहभागी ।
चैत २४– बाँके र बर्दियाको कार्यक्रममा सहभागी ।
चैत २१– ललितपुरमा पार्टीनिकट इन्जिनियरको कार्यक्रममा सहभागी ।
चैत १९– खोटाङ जनसभालाई सम्बोधन
चैत १७– कालिकोट– जुम्ला र दैलेखमा पार्टी प्रवेश कार्यक्रममा सहभागी ।
चैत १४– कपिलवस्तु सभालाई सम्बोधन ।
चैत १३– स्थायी कमिटी बैैठकमा सहभागी ।
चैत १२– काठमाडौंमा आयोजित कार्यक्रममा ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकर्पण कार्यक्रमा सहभागी
चैत ११– उदयपुरमा सभालाई सम्बोधन ।
चैत ९ र १०– पार्टी केन्द्रीय कमिटी बैैठकमा सहभागी ।
चैत ७ – पोलिटब्यूरो बैठक
चैत ६– इलाममा सभालाई सम्बोधन ।