NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

वातावरणविद्हरूको माग : एक पालिका एक वातावरणविद्

काठमाडौं । वातावरणविद्हरूले नेपालको वातावरणीय समस्याहरू मूलधारमा आउन नसकेकाले वातावरणीय शिक्षा अझ विशिष्टीकृत गर्नुपर्ने बताउँदै विश्वविद्यालयको माग गरेका हुन् । बुधबार काठमाडौंको स्कुल अफ इन्भारोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट (स्किम्स)मा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

स्किम्स आल्मुनी एसोसिसएसनका अध्यक्षसमेत रहेका वातावरणविद् पुरुषोत्तम महतले कृषि र वन विश्वविद्यालयजस्तै वातावरण विश्वविद्यालय खोल्न सकिने बताए ।

‘हाम्रोमा वातावरणीय समस्या र मुद्दाहरूलाई हल्का रूपमा लिइयो । विकास र वातावरणलाई सँगै लान अबिलम्ब एक पालिका एक वातावरणविद्को अवधारनामा जानु पर्दछ’, उनले भने, ‘वातावरणीय शिक्षालाई पनि त्यति महत्व दिइएको छैन । अब वातावरण विश्वविद्यालय जरुरी भइसक्यो ।’

यस्तै, वातावरण क्षेत्रमा विकृति बढेको भन्दै ’वातावरण काउन्सिल’को आवश्यकता रहेको उनले औंल्याएका छन् ।

कार्यक्रममा वाग्मती प्रदेशका सांसद राजेन्द्र गुरुङले संवेदनशील क्षेत्र भए पनि वातावरणलाई बेवास्ता गरिएको बताए ।

No description available.

’वातावरणलाई राज्यले पनि पर्याप्त ध्यान दिएको छैन,’ प्रदेशको उद्योग, वन तथा वातावरण समितिको सदस्यसमेत रहेका सांसद गुरुङले भने, ’वातावरणका लागि भनेर पनि सरकारले बजेट सीमित गरेको छ । वातावरण समितिलाई पनि त्यति महत्व दिइएको छैन ।’

उनले पनि वातावरणीय समस्या र मुद्दाहरुलाई सम्बोधन गर्न सरकारले कदम चाल्नुपर्ने बताए ।

त्यस्तै कलेजका प्राचार्य अजयभक्त माथेमाले हाल देखापरेका वातावरणीय मुद्दाहरूप्रति समयमै सजक गराउन वातावरणविद्हरूले संगठित भई काम गर्नु पर्ने बताए ।

कार्यक्रममा स्किम्स आल्मुनीले अग्रज वातावरणविद् तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।