NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
स्थानीय तह निर्वाचन विशेष

घोराही उपमहानगर : अधिकांश प्रतिबद्धता अधुरै, खुद्रे काममा अल्झिए जनप्रतिनिधि

काठमाडौं । देशकै ठूलो उपमहानगरपालिका हो दाङको घोराही । यो उपमहानगरमा ०७४ सालको स्थानीय चुनावमा एमाले विजयी भएको थियो । थारू समुदायको बाक्लो बसोवास रहेको यो उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता सिग्देल (न्यौपाने) विजयी भएका थिए । दुवैले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । एमालेबाट मेयरका लागि अहिले फेरि दुवैजना सिफारिस भएका छन् । यसबीचमा उनीहरूले के–के काम गरे त ? अहिले समीक्षा भइरहेको छ । मेयर चौधरीको पाँचवर्षे कार्यकाल औसत देखिन्छ । उनले धेरै प्रतिबद्धता पूरा गर्न सकेनन् ।

पूरा हुन नसकेका प्रतिबद्धता

चौधरीले चुनावका बेला ‘एक घर, एक रोजगारी’को नीतिजस्ता आकर्षक नारासहितको घोषणापत्र सार्वजनिक गरेका थिए । नगरपालिकामा रहेका १९ वटै वडामा एक–एकवटा नमुना विकास गाउँ बनाउने, घोराही उपमहानगरपालिकालाई छुवाछुतमुक्त क्षेत्र घोषणा गर्ने पनि उनका प्रतिबद्धता थिए । पाँचवर्षे कार्यकाल सकिनै लाग्दा उनका यी प्रतिबद्धता कागजमै सीमित बनेका छन् ।

मेयर चौधरीको पाँचवर्षे कार्यकाल औसत देखिन्छ । उनले धेरै प्रतिबद्धता पूरा गर्न सकेनन्

हरेक वडामा बाल उद्यान बनाउने, वडा नं. १९ मा हावाबाट विद्युत् निकाल्ने सम्भाव्यता अध्ययन गरी कार्ययोजना अघि बढाउने, पूर्ण भोल्टेजयुक्त बिजुली बत्तीको व्यवस्था गर्ने, पद्मोदय माविलाई प्राविधिक विश्वविद्यालयका रूपमा अघि बढाउने, घोराहीमा कृषि क्याम्पस स्थापना गर्नेजस्ता बाचा पनि हराए । पाँच वर्षको अवधिमा यी काम सुरुसमेत हुन सकेनन् ।

उपमहानगरका १९ वटै वडालाई समेट्ने गरी भित्री र बाहिरी दुईवटा चक्रपथ निर्माण गर्ने, हरेक विद्यालयमा इन्टरनेट सेवा पु¥याउने, माउन्टेनियरिङ, प्याराग्लाइडिङ, बन्जीजम्प, रक क्लाइम्बिङजस्ता साहसिक खेललाई पर्यटनको विकाससँग जोड्ने बाचा पनि चुनावी नारामै सीमित भएका छन् ।

वर्षाको पानी सञ्चय गर्न तत्कालका लागि हापुर, सेवार, कटुवा र सिस्ने खोलामा भकारी बनाउने, त्यसलाई हिउँदमा उपयोग गर्ने पनि घोषणापत्रमा उल्लेख थियो, तर यसको कार्यान्वयन भएन ।

पाँच वर्षमा भएका काम

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि नागरिकले अनुभूति गर्ने गरी विकासका केही काम भएका छन् । घोराही उपमहानगरले फोहोरबाट ग्यास उत्पादनको काम सुरु गरेको छ । देशकै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । नगरभित्र एक सय ३९ किलोमिटर कालोपत्रे र एक सय ५० किलोमिटर सडकको नयाँ ट्र्याक निर्माणलगायत काम भएको उपमहानगरको तथ्यांक छ ।

विभिन्न वडामा २६ वटा कृत्रिम जलाशय निर्माण, १९ वटै स्वास्थ्य संस्था सञ्चालन, मोतियाबिन्दुको निःशुल्क अप्रेसन, सिकलसेल, एनिमिया र सुत्केरीलाई निःशुल्क रगत, सुरक्षित मातृत्वका लागि खुत्रुके बचत कार्यक्रम, ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच तथा उपचार, ज्येष्ठ नागरिकलाई दिवा सेवा केन्द्र स्थापना र कृषि प्रवद्र्धनका लागि विभिन्न काम गरेको मेयर चौधरीको दाबी छ ।

हरेक वडालाई सडक सञ्जालले जोड्दै अधिकांश वडा कार्यालयसम्म कालोपत्रे पु¥याइएको छ । कृषिलाई आधुनिकीकरण गर्न अनुदानमा प्रविधि हस्तान्तर गरिएको छ । बिउमा पनि ५० प्रतिशत अनुदान दिइएको छ । पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा धेरै परिवर्तन ल्याएको मेयर चौधरीको दाबी छ ।

नागरिकको नजरमा नगरका काम

मेयर चौधरीले आफ्नो पाँचवर्षे कार्यकालमा उल्लेख्य काम गरेको दाबी गरे पनि स्थानीय बासिन्दाले भने उपमहानगरले चुनावका बेला प्रतिबद्धता जनाएअनुसारका काम गर्न नसकेको बताएका छन् । कृषिका सामग्री वितरणमा एकरूपता हुन नसकेको, सडक निर्माणलगायत काम हुन नसकेको, पुल नबनेको, व्यवसाय दर्ता प्रक्रियामा मनोमानीलगायत गुनासा घोराहीका बासिन्दाको छ । स्थानीय सरकारबाट कृषि, सडक र विद्युत्लगायत क्षेत्रमा पनि उल्लेखनीय काम हुन नसकेको उनीहरूको भनाइ छ । २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि केही परिर्वतन भए पनि जनताको चाहनाअनुसार काम गर्न नसेकको स्थानीय समिर डाँगी बताउँछन् । जनप्रतिनिधिले सानातिना काममा ध्यान दिए पनि ठूला योजना अघि बढाउन नसकेको अर्का स्थानीय दीपेन्द्र महराको तर्क छ ।

नगरको बजेट र प्राथमिकता

यो उपमहानगरको वार्षिक बजेट करिब दुई अर्ब हाराहारीमा छ । त्यसमध्ये करिब आधा चालू खर्च हुने गरेको छ । बजेटमा पूर्वाधार विकास, शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रवद्र्धन, सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको छ ।

कोरोना संक्रमितको उपचार, व्यवस्थापन र मृत्यु भएका परिवारलाई आर्थिक सहयोगका लागि पनि उपमहानगरले बजेट छुट्याउने गरेको छ । यसरी विनियोजन गरिएको बजेट कार्यान्वयनका लागि आन्तरिक आयतर्फ सम्पत्ति कर, मालपोत कर, घरजग्गा बाहल कर, सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर, जडीबुटी निकासी कर मुख्य रहेको छ ।

उपमहानगरमा सुशासनको अवस्था

सुशासनमा पनि यो उपमहानगरका काम सन्तोषजनक देखिँदैन । उपमहानगरमा हालसम्मको बेरुजु करिब ३१ करोड पुगेको छ । यस वर्षको बेरुजु मात्रै ११ करोड १२ लाख रुपैयाँ छ ।

प्रतिबद्धताअनुसार काम गर्न नसके पनि सन्तुष्ट छु : मेयर चौधरी

मेयर नरुलाल चौधरीले आफूले गरेका कामप्रति सन्तुष्टि जनाएका छन् । चुनावी प्रतिबद्धताअनुसार भनेजति काम गर्न नसके पनि आफू सन्तुष्ट रहेको उनको भनाइ छ । पहिलो वर्ष सिक्न लागेको भन्दै उनले दोस्रो वर्ष केही काम सुरु गरे पनि कोरोना महामारीका कारण समस्या भएको दाबी गरे ।

नेपालमै पहिलोपटक बालमैत्री उपमहानगरपालिका घोषणा गर्न सफल भएको उनले बताए । केही काम सोचेअनुसार गर्न नसकेको भने उनी स्वीकार गर्छन् । उपमेयर न्यौपानेले पनि सोचेअनुसार काम गर्न नसके पनि आफ्नो कामबाट सन्तुष्ट रहेको बताइन् । नागरिकलाई निःशुल्क, सहज रूपमा न्याय प्रदान गर्न सकिएको उनको भनाइ छ । अब अर्को कार्यकाल निर्वाचित भएमा बाँकी रहेका प्रतिबद्धता पूरा गर्ने दुवैले दाबी गरेका छन् ।