NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

चिडियाखानामा थपिए चम्पा र चिप्पु

‘एडप्ट एन एनिमल’मा युवाको आकर्षण

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा अवलोकनका लागि राखिएका जनावरप्रति सर्वसाधारण पनि जिम्मेवार होऊन् भनी एक वर्षअघि सुरु गरिएको ‘एडप्ट एन एनिमल’ कार्यक्रम प्रभावकारी भएको छ ।

कोरोना महामारीको समयमा जनावरलाई लालनपालनमा समस्या भएको र सर्वसाधारणलाई पनि चिडियाखानामा राखिएको जनावरप्रति जिम्मेवार बनाउने भन्दै एक वर्षअघि अघिल्लो चैतदेखि यो कार्यक्रम सुरु गरेको हो । हालसम्मा ९२ वटा जनावरले अभिभाकत्व प्राप्त गरेका छन् ।

अहिले यो कार्यक्रमअन्तर्गत ११४ जना जोडिएका छन् भने ४० लाखभन्दा बढी रकम असुल भएको छ । यस कार्यक्रमको सुरुआत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उनले उक्त समयमा रु एक लाख दिएर गैँडाको संरक्षक बनेका थिए ।

चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले सङ्कलित रकमले जनावरलाई खुवाउनका लागि ठूलो सहयोग नपुगे पनि अभिभावकत्वप्राप्त गर्ने बताउँछन् । वार्षिक रूपमा यहाँका जनावरको लालनपालनका लागि रु तीन लाख लाग्ने चालिसेको भनाइ छ । समग्रमा यस कार्यक्रमका लागि युवावर्ग बढी आकर्षित भएको बताइएको छ ।

यसरी एडप्ट एन एनिमल कार्यक्रमका लागि न्यूनतम रु पाँच हजारदेखि सहयोग गरेका छन् । यसका लागि केही निश्चित समुदाय र वर्गका सर्वसाधारणलाई मात्र यकिन गरिएको छैन, इच्छा भएका जो–कोहीले कार्यक्रममा सहभागी हुन पाउने छन् । शुक्रबारदेखि सर्वसाधारणका लागि अवलोकनका लागि राखिएको चिम्पाञ्जीका लागि पनि राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक रु १० लाख उपलब्ध गराएर अभिभावकत्व लिएका छन् । उक्त रकम प्रत्येक वर्ष प्राप्त हुन्छ ।

अबको आकर्षण चिम्पाञ्जी

नयाँ वर्षको सुरुआतसँगै सदर चिडियाखानाले सर्वसाधारणका लागि पहिलोपटक एक जोडी चिम्पाञ्जी अवलोकनकक्षमा राखेको छ । चिडियाखानाले शुक्रबादेखि चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो । यो एक दुर्लभ प्रजातिको वन्यजन्तु भएकाले यसलाई अबको आकर्षणका रूपमा लिइएको छ ।

चार वर्षअघि अवैधरूपमा ल्याइएका चिम्पाञ्जीलाई विसं २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्यूरोले उद्धार गरी सदर चिडियाखानालाई दिएको हो । मुख्यतयाः अफ्रिकामा पाइने यस जनावरको प्राकृतिक बासस्थान नदीतटीय, घाँसे मैदान, वन तथा झाँडी हो । यसको औसत तौल ४० देखि ६० केजीसम्म रहेको छ ।

यसले फलफूल, रुखका बोक्रा, बीउ र फूल खाने गर्छ भने यसको गर्भाधारण अवधि आठ महिना हो भने आयु ४५ वर्ष रहेको पाइएको छ । चिडियाखानाका प्रमुख व्यवस्थापक रचना शाहले चिम्पाञ्जी अवलोकनका लागि राखेसँगै यहाँको आकर्षण बढेको भन्दै अवलोकनकर्ता बढ्ने विश्वास व्यक्त गरिन् ।

महामारीपछि बढ्यो शुल्क

व्यवस्थापन कार्यका लागि समस्या परेको भन्दै चिडियाखाना व्यवस्थापनले कोरोना महामारीपछि प्रवेश शुल्क वृद्धि गरेको छ । हाल विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु २०० र नेपाली विद्यार्थी रु १३५ ज्येष्ठ नागरिकका लागि रु १०० शुल्क निर्धारण गरिएको छ । वार्षिक रु ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोबार हुने गरेको छ ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जनावर रहेका छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रहेका छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखिएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।