NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

नोबेल पुरस्कारकाे सुरूवात यसरी भयाे

काठमाडौं । नोबेल पुरस्कारलाई विश्वमै प्रतिष्ठित मानिन्छ । नोबेल पुरस्कारको स्थापना स्विडेनका अल्फ्रेड नोबेलले गरेका हुन् । उनी पेशाले इन्जिनियर र रसायनविद् थिए ।

उनको जन्म राजधानी स्टकहोममा १८३३ को अक्टुबर २१ म भएको थियो । उनीसँग विश्वविद्यालयबाट लिएको कुनै डिग्रीको प्रमाणपत्र नभए पनि अध्ययन र अनुसन्धानका आधारमा १६ वर्षमै दक्ष रसायनविद् बनेका थिए । उनले अमेरिका र पेरिसमा इन्जिनियरको स्वअध्ययन गरे ।

यसबाहेक स्विडिश, फ्रेन्च, अमेरिकी, जर्मनी र रुसी गरी उनी ५ वटा भाषाका ज्ञाता पनि थिए । जीवनभर अविवाहित रहेका नोबेल दुब्ला पातला थिए । विवाह नभए पनि उनको केही युवतीसँग प्रेमसम्बन्ध थियो । जसमध्ये अष्ट्रियाकी बर्थाभोन सटनरसँग नोबेलको विशेष सम्बन्ध थियो । सटनरले नोबेललाई शान्तिका क्षेत्रमा काम गर्न सघाएकी थिइन् ।

तर उनको अर्कै प्रेमी भएकाले नोबेल सटनरसँग एकतर्फी प्रेम गर्थे । उनले केही वर्ष उनको निजी अधिकारी भएर पनि काम गरिन् । आफूले  मन पराएकी र शान्ति कायम गर्नुपर्छ भन्ने याेजनामा सहयोग पुर्याएकी सटनरलाई नोबेलको मृत्युपछि नोबेल पुरस्कार फाउन्डेशनले सन् १९०५ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरेको थियो ।

नोबेल शान्ति पुरस्कार पाउने पहिलो महिला काउन्टेस नै थिइन् ।

योबाहेक नोबेलको भियनाकी आफूभन्दा २३ वर्ष कान्छी सोफी हेससँग पनि सम्बन्ध थियो । यी प्रेमिकासँग पनि नोबेलको विवाह हुन सकेन ।
नोबेलका बुबा इम्यानुएल नोबेल र आमा क्यारोलिना एन्डिएट्टा हुन् । अल्फ्रेड सानै छँदा आमा बितेपछि हजुरआमाले हुर्काएकी थिइन् ।

नोबेलको जन्म सम्पन्न परिवारमा भएको थियो । आफ्नो जीवनको धेरै समय युरोप क्षेत्रमा घुमेर बिताएकाले उनलाई युरोपको धनाढ्य घुमन्ते भनिन्थ्यो । नोबेलका पिता पेशाले कालीगढ थिए तर रसायनशास्त्रको ज्ञान उनमा पनि थियो ।

उनले युरोपका विभिन्न २० वटा देशमा ९० बढी उद्योग खोलेका थिए । जर्मनी, फ्रान्स, इटाली, स्कटल्यान्ड आदिमा ठूला प्रयोगशाला बनाएका थिए । तर नोबेल प्राय आफ्नो समय पेरिसको प्रयोगशालामा बिताउँथे । दुवै बाउछोरा मिलेर सन् १९६० मा नाइट्रो ग्लिसरिन नामको विस्फोटक पदार्थ आविष्कार गरेका थिए । यो पदार्थ सुरुङ खन्ने र नहर बनाउने काममा अति महत्वपूर्ण भएकाले उनीहरुले यसको विक्रीबाट धेरै आम्दानी गरे ।

पछि सन् १८६६ मा बेलिस्टाइड तथा डाइनामाइट र सन् १८७५ मा जिलेटिन आविष्कार गरे । तर उनको यो आविष्कारले सुधारको भन्दा पनि विध्वांसात्मक काम बढी गरेपछि उनी दुखी भए ।

आविष्कारको दुरुपयोग र विनाशकारी प्रयोग भएको देखेर नोबेलले यसबाट भएको आम्दानी राम्रो काममा लगानी गर्ने अठोट गरे । उनले एउटा कोष खडा गरे । त्यस कोषबाट विश्वमा मानव जातिको हितका लागि काम गर्ने ५ व्यक्तिलाई वार्षिक पुरस्कार दिने गरी उनले सन् १८९५ मा मन्जुरीनामा लेखिदिएका थिए ।

उनले सन् १८९१ देखि आफ्ना कामबाट अवकाश लिएर घुमन्ते जीवन बिताउन थालेका थिए । सन् १८९६ मा डिसेम्बर १० मा उनको ६४ वर्षको उमेरमा इटालीको सान रेमो सहरमा हृदयघातबाट निधन भयो ।

उनको मृत्युपछि नोबेल पुरस्कारकाे सुरूवात गरिएकाे हाे । सन् १९०१ देखि प्रत्येक वर्ष रसायनशास्त्र, भौतिकशास्त्र, साहित्य, औषधि विज्ञान र शान्तिमा गरी ५ वटा विधामा पुरस्कार दिँदै आएका थियो । सन् १९६९ देखि अर्थशास्त्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई पनि प्रदान गरिने गरी ६ वटा पुरस्कार बनाइयो ।

अर्थशास्त्रको पुरस्कार स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो । नोबेल शान्ति पुरस्कार नर्वे संसदको ५ सदस्यीय विशेष समितिले निर्णय गर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष