NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

५ दलले किन गरे फेरि सात बुँदे निर्णय ?

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रको सहमति अनुसार नै चुनावी तालमेल भए पनि धेरै स्थानीय तहमा तालमेल नभएपछि पाँच दलले फेरि रुलिङ गरेका छन् ।

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले उम्मेदवारी मनोनयन गठबन्धनको भावना अनुसार नभएपछि फेरि ७ बुँदे सहमति गरेका हुन् ।

महानगर र उपमहानगरमा गठबन्धनबीच भएको सहमति विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने, यस्ता उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक सहयोग गर्ने, भागबण्डा नमिलेका महानगर र उपमहानगरका वडामा आजै सहमति गर्ने, नगरपालिका र गाउँपालिकामा गठबन्धनको निर्णय विपरीतका उम्मेदवार फिर्ता गर्ने, समबन्धित दलले सहयोग गर्ने, सिट बाँडफाँट हुन नसकेको स्थानीय तहको हकका प्रदेशको संयन्त्रले समझदारीको लागि केन्द्रसँग आवश्यक परामर्श लिने र गठबन्धनको निर्णय अनुसार नै तालमेल नभएको ठाउँमा परेका अरु दलसँग गरेको तालमेल खारेज गर्ने निर्णय गरेका हुन् ।

मुख्यगरी ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनबीच भएको सहमतिमा समस्या भएन । तर अरु नगरपालिका र गाउँपालिका भने केन्द्रको सहमति अनुसार तालमेल नभएपछि गठबन्धनमा आवद्ध दल तनावमा परेका हुन् ।

केन्द्रको सहमति अनुसार तालमेल नभए धेरै ठाउँमा एमाले जित्नसक्ने डर गठबन्धनलाई छ । यतिमात्रै होइन भनेजस्तो व्यवहारिक तालमेल नभए आगामी प्रदेश र संघीय संसदको निर्वाचनमासमेत असर पर्ने भएकोले सत्तारुढ दलले फेरि सहमति गरेका हुन् । उम्मेदवारी फिर्ता लिने समय भएकोले निर्णय विपरीतका आ–आफ्ना दलले सहजीकरण गरेर फिर्ता लिने समझदारी उनीहरूले गरेका हुन् ।

कतिपय ठाउँमा समयमा तालमेल नहुँदा गठबन्धनकै नेता एमालेसँग मिलेर अगाडि बढ्ने स्थिति भएपछि फेरि हस्ताक्षरसहितको रुलिङ गर्नुपरेको हो ।

‘महानगर र उपमहानगरमा धेरै समस्या भएको छैन तर नगरपालिका र गाउँपालिकामा भने कतिपय ठाउँमा समस्या देखिए’ सत्ता गठबन्धनका आवद्ध दलका एक नेता भन्छन्, ‘यो स्थानीय तहको निर्वाचन जित्नमात्रै होइन आगामी निर्वाचनसम्मसमेत गठबन्धनलाई लिएर जानुपर्छ भन्ने छ । यसैले यो सहमति राजनीतिक इमान्दारिता थियो भन्ने समझदारी हो ।’

भरतपुरमा कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी परेपछि सभापति देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई उनकाे उम्मेदवारी फिर्ता लिने वातावरणकाे जिम्मा दिइसकेका छन् । देउवाकै गृहजिल्ला डडेल्धुरामा चुनावी तालमेल भएन । कांग्रेसबाट असन्तुष्टले एमालेसँग मिलेर उम्मेदवारी दर्ता गराए । यसै क्रममा कांग्रेसले कुनै समय देउवाका विश्वासपात्र नेता कर्ण मल्ललाई पार्टीबाटै निष्कासन गरेकाे छ ।

अरू थुप्रै जिल्ला र ठाउँमा समेत बागी उम्मेदवार परेपछि गठबन्धन दलले उम्मेदवारी फिर्ता गराउन लाग्ने समझदारी लिखित रूपमा नै गरेका हुन् ।

एमाले बलिया भएका कतिपय पालिकासमेत सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा अलग अलग रुपमा उम्मेदवारी परेको थियो । यसैले अझै पनि अझै पनि दलभित्रैबाट प्रयत्न गरी मिलाएर उम्मेदवार फिर्ता लिने गरी अघि बढ्न सत्तारुढ पाँच दल तयार भएका हुन् ।

कांग्रेसमा सुरुमा डा. शेखर कोइराला पक्ष चुनावी तालमेलको विपक्षमा थियो । तालमेलको औपचारिक निर्णयपछि पनि उनीहरूले विरोधमा बोल्न छोडेनन् । नेताहरूका अभिव्यक्तिपछि कतिपय ठाउँमा बागी उम्मेदवारी दर्ता भएका छन् । पार्टीभित्रैबाट बागी उम्मेदवार खडा भएपछि नेता कोइरालाले विज्ञप्ति जारी गर्दै गठबन्धनका निर्णय अनुसार अघि बढ्न अपिल नै गर्नुपरेको थियो । महामन्त्री गगन थापाले पनि पार्टीको निर्णयभन्दा बाहिर नजान कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।