NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रुसले ग्यास र व्यापारलाई हतियार बनाएको युक्रेनको आरोप

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । रुसले ग्यास आपूर्ति रोकेर युक्रेनविरुद्धको युद्धमा दबाब सिर्जना गर्न प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी छ ।

रुसले बुधबार पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।

दुवै देशले रुबलमा तिर्न अस्वीकार गरेका कारण ग्यास आपूर्ति बन्द गरेको रुसको भनाइ छ । रुसको यो कदमको कडा आलोचना भइरहेको छ ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले केही युरोपेली देशहरूलाई ग्यास आपूर्ति रोक्ने रुसको निर्णय ब्ल्याकमेल गर्ने हतियार भएको बताएकी छन् ।

उनले रुसको यो निर्णय अनुचित र अस्वीकार्य भएको बताए । यसबाट ग्यास आपूर्ति गर्ने राष्ट्रका रूपमा रुसले अविश्वसनीयता देखाएको छ ।

रुसको ऊर्जा कम्पनी गाजप्रोमले रुबलमा तिर्न अस्वीकार गरेको कारण पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको बताएको छ । अर्कोतर्फ, पोल्यान्डको ग्यास आपूर्ति गर्ने कम्पनी पिजिएनआईजीले गाजप्रोमले ग्यास आपूर्ति रोकेर सम्झौता उल्लंघन गरेको जनाएको छ । यसका लागि कानुनी माध्यमबाट क्षतिपूर्ति पाउन प्रयास गरिने कम्पनीले जनाएको छ ।

रुसको यो कदमप्रति बेलायतले पनि प्रतिक्रिया दिएको छ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक रोबले ग्यास आपूर्तिमा कटौती गर्ने निर्णयले रुसले आफूलाई थप एक्लो बनाएको बताएका छन् ।

स्काई न्यूजसँगको कुराकानीमा उनले रुसमा यसको उल्टो असर पर्ने दाबी गरे ।