NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सजाय पुनर्विचार गर्न सुकीले गरेको अपिल म्यानमारको अदालतद्वारा खारेज

काठमाडौं । म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ ।

नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई नगद र सुनको घूस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता पाँच वर्षको जेल सजाय सुनाइएको थियो । त्यसविरुद्ध उनले अपिल गरे पनि त्यहााको अदालतले खारेज गरिदिएको हो ।

७६ वर्षीया नेत्रीलाई सैनिकविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइसकिएको छ । उनले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको ठहर पनि अदालतले गरेको छ ।

यो अवधिमा उनी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ ।

उनलाई अन्य थुप्रै मुद्दा लगाइएको छ जसमा राज्यको गोपनीयता भङ्ग गरेको, विभिन्न विषयमा भ्रष्टाचार गरेको र चुनावी ठगीका थुप्रै अभियोगहरू उल्लंघन गरेको आरोप लगाइएको छ । यदि उनीमाथि लगाइएका सबै अभियोगमा दोषी ठहरिएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुनेछ ।

पत्रकारहरूलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिलहरुलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियान सञ्चालनका क्रममा भएका झडपहरूमा कम्तीमा एक हजार ८०० भन्दा बढी मानिसहरू मारिएका छन् र १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् ।